Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारललितानिवास घोटालाका अभियुक्त गुरुङलाई प्रधानमन्त्रीको सम्मान

ललितानिवास घोटालाका अभियुक्त गुरुङलाई प्रधानमन्त्रीको सम्मान


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ललितानिवास जग्गा घोटाला प्रकरणमा प्रमुख नायक मानिएका मीनबहादुर गुरुङलाई बिहीबार एक समारोहबीच सम्मान प्रदान गरेका छन् । होटल सोल्टीमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिक साधारणसभामा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले अभियुक्त गुरुङलाई सम्मान गरेका हुन् । गुरुङ जुद्धबहादुर श्रेष्ठ मेमोरियल अवार्डबाट सम्मानित भएका हुन् ।

चेम्बरले विभिन्न विधामा उल्लेखनीय कार्य गरेबापत उद्यमी व्यवसायीहरुलाई प्रधानमन्त्री ओलीको हातबाट सम्मानपत्र तथा कदरपत्र प्रदान गरेको हो । कार्यक्रममा चेम्बर अफ कमर्समा निरन्तर २५ वर्षदेखि आबद्ध कार्यसमिति सदस्य राष्ट्रभूषण चाकुबाजीलाई कदरपत्र प्रदान गरिएको थियो । यस्तै कोभिड १९ महामारीमा नेपाल चेम्बरअन्तर्गत गठित कोभिड राहत समितिका संयोजक चेम्बर उपाध्यक्ष दीपक कुमार मल्होत्रा पनि सम्मानित भएका छन् ।

त्यस्तै कार्यक्रममा नेपाल भारत आर्थिक सम्बन्धमा सहजीकरण तथा सुदृढ गर्न योगदान गरेबापत नेपाल भारत उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्षलाई कदरपत्र प्रदान गरिएको थियो भने नेपालको वैदेशिक व्यापारमा सहजीकरण गरेबापत नेपाल फ्रेट फर्वाडर्स एसोसिएसन सम्मानित भएको छ ।

कार्यक्रममा प्रसंशनीय कार्य सम्पादन गरेका पोखरा चेम्बर अफ कमर्स कास्की, चितवन चेम्बर अफ कमर्स, गोदावरी चेम्बर अफ कमर्सलाई पनि कदरपत्र प्रदान गरिएको थियो । यस्तै जग्गा व्यवस्था गरी भवन निर्माण गरेका कपिलवस्तु चेम्बर अफ कमर्स, डोटी चेम्बर अफ कमर्स, हरिवन नगर चेम्बर अफ कमर्स र उद्योग व्यापार संगठन रुपन्देहीले कदरपत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा चेम्बरका छ जना पूर्वअध्यक्षको सम्मानमा स्थापित मेमोरियल अवार्ड उद्योग वाणिज्य क्षेत्रमा योगदान प्रदान गरेका महानुभावहरुलाई वितरण गरिएको थियो । बनवारी लाल मित्तल मेमोरियल अवार्ड पर्यटनतर्फ सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि न्यौपानेले ग्रहण गरेका थिए ।

त्यस्तै जनकदास श्रेष्ठ मेमोरियल अवार्ड महिला उद्यमीतर्फ इन्दिरा सापकोटाले, राजबहादुर चिपालु मेमोरियल अवार्ड कृषितर्फ गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले, इन्द्रभक्त मेमोरियल अवार्ड उद्योगतर्फ विशाल ग्रुपका अध्यक्ष जगदीश अग्रवालले र ईश्वरलाल मेमोरियल अवार्ड पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले प्राप्त गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र नागरिक मिलेर सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल पार्नुपर्ने बताउँदै आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्दै रोजगारी सिर्जनामार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए । उक्त अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले नेपाल चेम्बरसहितका निजी क्षेत्रका संस्थाहरुका माग तथा चासोलाई नीति निर्माणमा समेटिने प्रतिबद्धता व्यक्त गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया