Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआठ महिनामा दुई खर्ब २९ अर्ब ३१ करोड रुपैयाँको धितोपत्र सूचीकृत

आठ महिनामा दुई खर्ब २९ अर्ब ३१ करोड रुपैयाँको धितोपत्र सूचीकृत


काठमाडौं ।
नेपाल धितोपत्र बोर्डमा चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा दुई खर्ब २९ अर्ब ३१ करोड रुपैयाँको धितोपत्र सूचीकृत भएका छन् ।

नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार यस अवधिमा एक खर्ब ५० अर्बबराबरको विकास ऋणपत्र, ३५ अर्ब ३७ करोडबराबरको साधारण सेयर, २८ अर्ब ७६ करोडबराबरको बोनस सेयर, १० अर्ब पाँच करोडबराबरको डिबेन्चर, तीन अर्ब २८ करोडबराबरको हकप्रद सेयर र एक अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल दुई खर्ब २९ अर्ब ३१ करोडबराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

यस अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ५९ करोडबराबरको साधारण सेयर, ११ अर्ब ८४ करोडबराबरको डिबेन्चर, तीन अर्ब ३० करोडबराबरको म्युचुअल फण्ड र दुई अर्ब ४८ करोड बराबरको हकप्रद सेयर गरी कुल २९ अर्ब २१ करोडबराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

राष्ट्र बैंकका अनुसार २०७६ फागुन मसान्तमा १३ सय ७७ दशमलव दुई रहेको नेप्से सूचकांक २०७७ फागुन मसान्तमा २४ सय ५८ दशमलव पाँच पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकांक १३ सय ६२ दशमलव चार रहेको थियो । २०७७ फागुन मसान्तमा धितोपत्र बजार पुँजीकरण ३३ खर्ब ८७ अर्ब ३४ करोड पुगेको छ ।

२०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । २०७७ फागुनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय १७ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये एक सय ४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४÷४ होटल तथा व्यापारिक संस्था र आठ अन्य समूहका रहेका छन् ।

२०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या दुुई सय १२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६९ दशमलव छ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा छ दशमलव सात प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा तीन दशमलव आठ प्रतिशत, होटेलको हिस्सा शून्य दशमलव आठ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव सात प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १८ दशमलव चार प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ फागुनसम्ममा सूचीकृत पाँच अर्ब ६१ करोड सेयरको चुक्ता मूल्य भने पाँच खर्ब ५१ अर्ब ६८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया