उपत्यकामा निर्माण क्षेत्र खुल्ला
कोरोना निको हुने दर ८० प्रतिशत नाघ्यो
काठमाडौं ।
कोरोना संक्रमण दर घटेसँगै काठमाडौं उपत्यकामा बन्द भएको निजी तथा सार्वजनिक निर्माण क्षेत्र खुला हुने भएको छ । बुधबार काठमाडौं उपत्काका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निर्माण क्षेत्रमा कामदार राखेर काम गर्न दिने निर्णय गर्दै खाद्यान्न पसल पनि बिहान ९ बजेसम्म खुला गर्न दिने निर्णय गरेको छ ।
निर्माण क्षेत्र र खाद्यान्न पसललाई शर्तसहित तोकिएको समयमा मात्र खुला गर्न दिए पनि निषेधाज्ञा भने जेठ ३१ गते रातिसम्म जारी रहनेछ । आज जेठ २० गते बिहीबार रात १२ बजेसम्मको निषेधाज्ञामा भने किराना पसल खोल्न पनि बन्देज लगाइएको छ । खाद्यान्न पसलको साथै गाडी मर्मत गर्ने वर्कशप पनि बिहान ९ बजेसम्म खोल्न दिने स्थानीय प्रशासनले निर्णय गरेको छ ।
सरकारले निषेधाज्ञाको समयमा पास भएका र तोकिएका सवारीसाधनबाहेक सबै निजी तथा भाडाका गाडी चल्न र मानिसको आवतजावतमा प्रतिबन्ध लगाएको छ । अत्यावश्यक सामग्री बोकेका गाडीहरूको चल्ने समय पनि तोकिएको छ । निर्माण सामग्री बोकेका ढुवानीका गाडीहरू राति ९ बजेदेखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । बिरामी बोक्ने एम्बुलेन्समा पनि बिरामी र कुरुवा गरी दुई जना मात्र आवतजावत गर्न पाउनेछन् ।
अन्य अत्यावश्यक सेवाका गाडी सञ्चालन गर्दा पनि के प्रयोजनको गाडी हो लेखेट टाँस गरेर मात्र आवतजावत गर्न पाउनेछ । बन्दको बेला सरकारले एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मतसम्भार, स्वास्थ्य सामग्री बोक्ने, दूरसञ्चार, इन्टरनेट मर्मत, कार्गो, कुरियर, फोहोरमैला व्यवस्थापन, तरकारी, खाद्यान्नलगायतका गाडी चल्न दिनेछ ।
काठमाडौंबाहिरका जिल्लाहरूले पनि निषेधाज्ञाको म्याद धमाधम थप गरिरहेका छन् । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर केही घटे पनि बाहिरी जिल्लाहरूमा भने बढिरहेको छ । यद्यपि सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा नै छन् । अहिले पनि दैनिक झण्डै सरदर एक हजारको संख्यामा काठमाडौं जिल्लामा मात्र कोरोना संक्रमितको संख्या थपिने क्रम जारी छ ।
निषेधाज्ञामा केही खुकुलो गरेर हेर्ने नीतिअनुसार काठमाडौंमा तोकिएका स्वास्थ्य मापदण्ड पालना गरेर निजी र सार्वजनिक निर्माणको साथै खाद्यान्न, तरकार पसलहरू खोल्न दिनलागेको हो । एक साताको परीक्षणको क्रममा कस्तो रिजल्ट आउँछ त्यहीअनुसार सरकारले असार लागेपछि अर्को निर्णय गर्नेछ । संक्रमितको संख्या घटेमा क्रमशः सवारीसाधन सञ्चालन गर्न दिने सरकारी योजना छ ।
विश्वमा नयाँ–नयाँ भेरिएन्टका कोरोना भाइरस देखा परेको कारण असार लागेपछि पनि निषेधाज्ञा खुल्छ भन्न सकिने अवस्था भने छैन । अन्य देशमा देखिएका भेरिएन्ट नेपालमा देखिएमा त्यसले विकराल रुप लिने देखिन्छ । त्यही भएर सरकारले कोरोनाविरुद्धको भ्याक्सिन अनुदान र खरिदका लागि सहयोग गर्न विभिन्न देशका सरकार र राष्ट्र प्रमुखसँग गुहार मागिरहेको छ ।
यस्तै, पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) बाट निको हुने दर ८०.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बुधबार सात हजार दुई सय १९ जना कोरोनामुक्त भएका छन् । यस अवधिमा देशभर पाँच हजार तीन सय १६ जना कोरोना भाइरस सङ्क्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए । पीसीआर विधिबाट चार हजार पाँच सय २४ जना र एन्टिजेन विधिबाट सात सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १३ हजार आठ सय पाँच जनाको नमूना पीसीआर र तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । हाल सङ्क्रमण दर ३२.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस अवधिमा कोरोनाबाट एक सय एक जनाको मृत्यु भएको उनले सुनाए । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार नौ सय ९३ पुगेको छ । काठमाडौँ उपत्यकामा बुधबार मात्र एक हजार चार सय ५६ जना सङ्क्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा नौ सय ६९, भक्तपुरमा एक सय ८१ र ललितपुरमा तीन सय छ जना कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया