काठमाडौं । कुनै पनि राष्ट्रमा युवाशक्तिलाई एक बलियो एवं भरपर्दाे खम्बाको रूपमा अंगीकार गरिन्छ । वास्तवमा यस्तो शक्तिबाट नै जुनसुकै राष्ट्रले आफ्नो लक्षित उद्देश्य हासिल गर्न सक्छ । यो कुरा विकसित राष्ट्रहरूको अनुभवबाट प्रस्ट हुन्छ ।
कुनै पनि राष्ट्रका युवाहरू त्यस देशका भाग्यको प्रतीक र आदर्श व्यक्तिहरू मानिन्छ किनभने उनीहरूको बुद्धि, विवेक, सदविचार र सहभागिताविना कुनै पनि क्षेत्रको विकास सम्भव छैन र राष्ट्रिय आकाङ्क्षा पनि पूर्ति गर्न सकिँदैन । यसर्थ युवाहरू आफ्ना अधिकारप्रति जागरुक कर्तव्यनिष्ठ र चेतनशील भएर विकास मार्गमा सक्रियरूपमा सहभागी भएमा कुनै पनि देशले चाहेको शान्ति, विकास र सहभागिताको आदर्शलाई व्यवहारमा परिणत गर्न सकिन्छ । युवा जागरण र सक्रियताको परिचायक पनि यिनै राष्ट्रिय हितका कार्यक्रमहरूमा आधारित हुन्छ । परन्तु यो ध्रुवसत्य धेरै देशका सम्बन्धित क्षेत्रका व्यक्तिहरूले राम्ररी बुझ्न सकेका छैनन् ।
वास्तवमा जुनसुकै देशको सामाजिक तथा आर्थिक चुनौतीहरूलाई त्यहाँका युवाहरूले सामना गर्न सक्छन् । उनीहरूको वास्तविक सहभागितामा नै मुलुकको सर्वांगीण विकास हुन सक्छ । तर हाम्रो देशमा युवाहरूलाई सही परिचालन गर्न नसकेकोले उनीहरूबाट आजसम्म पनि ठोस योगदान प्राप्त हुनसकेको छैन । वर्तमान समयमा यहाँ शैक्षिक बेरोजगारी दिन प्रतिदिन बढ्दो क्रममा छ । एकातर्फ यहाँ प्रत्येक वर्ष अन्दाजी चार लाख युवाहरूलाई आ–आफ्ना दक्षताअनुरूप रोजगारीको आवश्यकता छ भने अर्काेतर्फ सरकारी क्षेत्रमा रोजगारीका अवसरहरू न्यून छन् । यति मात्र होइन, निजी क्षेत्रमा पनि रोजगारी सिर्जना गर्ने खास सम्भावना देखिँदैन । त्यसैले यहाँ रोजगारीका लागि विदेश जाने युवाहरूको संख्या बढ्नु स्वभाविक हो ।
वस्तुतः स्वदेशमा रोजगारी पाउन नसकेका युवाहरूका लागि वैदेशिक रोजगारी एक अवसर भएको छ किनभने एकातिर उनीहरूले काम पाएका छन् भने अर्काेतिर उनीहरूले थोरबहुत धन आर्जन गरेर घरखर्च पनि जुटाएका छन् । बेरोजगारीको पीडाबाट पर्नसक्ने मानसिक तनावबाट मुक्ति प्राप्त भए वैदेशिक रोजगारीले केही राहत दिएको मान्नुपर्छ । परन्तु यसमा केही विकृति र विसंगतिहरू पनि छन् ।
वैदेशिक रोजगारीमा गएका धेरै नेपालीहरूले अत्यन्त दुःख तथा अमानवीय व्यवहार सहनुपरेको छ । एकातिर उनीहरूले विदेशमा गएर जटिल काम गर्नुपरेको छ भने अर्काेतिर अपांग एवं ज्यानसमेत गुमाउनु परेको छ । यति मात्र होइन, धेरैजसो नेपाली युवतीहरू विदेशमा गई यौन शोषणको शिकार भएका छन् भने कतिपयको लाश आजसम्म पनि बेपत्ता भएका छन् । यस सम्बन्धमा नेपाल सरकारले खासै चासो लिएको देखिँदैन र विदेशमा जाने नेपाली युवायुवतीहरूले यस किसिमका समस्याहरू धेरै वर्षअघिदेखि सामना गरिरहेका छन् । यही तीतो यथार्थको कारण वैदेशिक रोजगारी एक अभिशापको रूपमा पनि हेरिन्छ ।
सरकारले व्यवस्थित तवरबाट एउटा मापदण्डअन्तर्गत आफ्नो नागरिकलाई सुरक्षित र सरल ढंगबाट विदेश पठाउन नसकेको अवस्थामा पनि वैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीहरूले आफ्नो आम्दानी विभिन्न माध्यमद्वारा नेपाल भित्र्याई विगत केही दशकअघिदेखि ठूलो गुन लगाइरहेका छन् । तर पनि नेपाल सरकारले उनीहरूको गुन राम्ररी तिर्न सकेको छैन ।
हालसम्म पनि विदेशमा चाहिने जनशक्तिअनुरूप दक्ष कामदारहरूको उत्पादनतर्फ सम्बन्धित पक्षको यथोचित ध्यान जान सकेको छैन । अदक्ष व्यक्तिहरू विदेशमा पठाएर न त प्रचुर आम्दानी गर्न सकिन्छ न त नेपालको इज्जत विदेशमा रहन्छ । त्यसैले विदेशमा नेपाली स्वाभिमान बढाउन र राष्ट्रिय आम्दानी अभिवृद्धि गर्न दक्ष जनशक्तिको उत्पादनमा विशेष जोड दिन आवश्यक छ । हुन त यस सम्बन्धमा यहाँ स्थापना गरिएका केही संस्थाहरूले थोरबहुत प्राविधिक तालिम नदिएका होइनन्, तर विदेशमा चाहिने जनशक्ति भने अझसम्म पनि आवश्यकताअनुरूप तयार गर्न सकेका छैनन् ।
नेपालमा रोजगार प्रवर्द्धन गर्ने दायित्व सरकारको हो । तर यसलाई कार्यान्वयन गर्न एउटा स्वतन्त्र निकायले जति सक्षमताका साथ गर्नसक्छ, त्यति सरकारी निकायबाट नहुन सक्छ । एउटा स्वतन्त्र निकायको कामको श्रेय सरकारले खोस्नु भनेको यसले आफ्नो निजामती प्रशासनलाई बोझ थप्नु हो । जसले रोजगार प्रवद्र्धनजस्तो चुनौतीपूर्ण एवं प्रतिस्पर्धी हुँदै गएको क्षेत्रलाई न्याय गर्न नसक्ने हुन्छ ।
हाल नेपालका लागि वैदेशिक रोजगारी एक बाध्यता भएको छ । तर आगामी दिनमा स्वदेशी श्रम तथा सीपलाई विदेशमा बिक्री गर्न जोड दिनु हुँदैन । विदेशमा मात्र रोजगारी पाउन सकिन्छ भन्ने मानसिकता यहाँका युवायुवतीहरूमा आउन दिन हुँदैन । यसका लागि सरकारले स्वदेशमा नै रोजगारी प्रवर्द्धन गर्ने खालका नीति तथा कार्यक्रमहरूको तर्जुमा गरी व्यवहारमा उतार्न नितान्त आवश्यक छ ।
सरकारले जतिसुकै समृद्धिको डम्फु फुके पनि रोजगारीका लागि विदेश जाने युवाहरूको संख्या कम छैन र युवाहरूका लागि स्वरोजगार कार्यक्रम ल्याएर ग्रामीण विकासका लागि अहिलेसम्म भरपर्दो कार्यक्रम ल्याउन सकिएको छैन । त्यसैले आज धेरजसो ग्रामीण क्षेत्र शून्य छ ।
आज नेपाल तेस्रो देशमा श्रम बेच्ने देश भएको छ । वैदेशिक रोजगारका लागि विदेश जाने युवाहरूको लर्काे हेर्दा यो देश चाँडै नै युवाविहीन हुनेछ । वर्तमान सरकार युवाहरूलाई स्वदेशमा रोजगारी दिनुको सट्टा जसरी भए पनि विदेशमा पठाउन चाहन्छ किनभने युवाहरू यहाँ बसे भने देश लुट्न सिपालु नेताहरूलाई असहज हुनेछ ।
नेपालले जापान, इजरायल, संयुक्त अरब इमिरेट्स, बहराइन, जोर्डन र कतार गरी सातवटा मुलुकसँग मात्र श्रम सम्झौता गरेको भए पनि कामको खोजीमा डेढ सयभन्दा बढी देशहरूमा नेपाली युवाहरू पुगेका सरोकारवालाहरूको अनुमान छ ।
आथिक वर्ष २०७६।७७ को पहिलो चौमासिक अर्थात् साउन, भदौ, असोज र कात्तिकमा गरी एक लाख ४१ हजार एकसय ५७ जना युवाहरू कामका लागि विदेश जानका लागि श्रम स्वीकृति लिन म्यानपावर कम्पनी तथा व्यक्तिगत श्रम स्वीकृति लिने युवाहरू गरी पहिलो चौमासिकमा झण्डै डेढलाख युवाहरूले श्रम स्वीकृति लिएका छन् । यसरी विद्यमान युवाशक्तिको विदेश पलायनबाट यहाँको सर्वतोमुखी विकासमा नकारात्मक प्रभाव पर्नेछ । त्यसैले यस सम्बन्धमा सम्वन्धित व्यक्ति तथा संस्थाहरूको ध्यान जान आवश्यक छ ।
वस्तुतः दुःख बेरोजगारी र योसँग जोडिएर आउने गरिबी तथा अभावका कुराहरू हुन् । यसैलाई आधार मानेर आर्थिक तथा सामाजिक परिवर्तनको नाममा आउने नयाँ सत्ता पुरानोभन्दा फरक नदेख्दा सामाजिक–आर्थिक परिवर्तन भई जनताको वास्तविक सत्ता आउँछ भनी विभिन्न समयका रानीतिक आन्दोलनमा संलग्न व्यक्तिहरू लज्जित छन् ।
वैदेशिक रोजगारीको क्रममा दर्दनाक दुःख तथा पीडा खपी स्वदेशमा घरेलु पेसामा रमाउने केही छन् । तर कृषि, पशुपालन र साना तथा घरेलु उद्योगका सम्भावना हुँदाहुँदै पनि गरिबीका कारण परिवारलाई खुशी बनाउन विदेशिने युवाहरू धेरै छन् । स्वदेशमा रोजगारीका अवसरहरू नदेख्नु र वर्तमान सरकारप्रति कुनै विश्वास नभएकोले यस्तो भएको हो ।
आज लाखौँ खर्च गरी ज्यानको बाजी थापी वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरू कम छैनन् । सरकारको अक्षमताले गर्दा यहाँका लाखौं युवाहरू कोरोनाको महामारीपछि फेरि पनि पीडादायी वैदेशिक यात्रा गर्न इच्छुक छन् । त्यसैले यस सम्बन्धमा सम्बन्धित पक्षले यथाशीघ्र ध्यान दिन आवश्यक छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला
- मोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध
- पठाओले थप्यो कार प्लस सुविधा
- भिभो वाई ०३ नेपाली बजारमा
- टोफिको तड्का इमली बजारमा
- कोका–कोला युथ डायलगको तेस्रो संस्करण
- निकुञ्ज क्षेत्रबाट तीन ट्र्याक्टर फोहर संकलन
- प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल हस्पिटलमा छुट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया