Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनागढुंगा सुरुङमार्गको काम ६३ प्रतिशत

नागढुंगा सुरुङमार्गको काम ६३ प्रतिशत

फेरि म्याद थप


काठमाडौं । नागढुंगा सुरुङमार्गको सुरुङ खन्ने काम करिब ६३ प्रतिशत सकिएको छ । नागढुंगा सुरुङ निर्माण योजनाका अनुसार मुख्यसहित सबै किसिमका पाँच हजार चार सय ९९ मिटर सुरुङमध्ये ११ सेप्टेम्बर २०२२ अर्थात् २०७९ भदौ २६ गते आइतबारसम्म तीन हजार चार सय ५९ दशमलव ५० मिटर अर्थात् ६२ दशमलव ९० प्रतिशत सुरुङ खन्ने काम पूरा भएको छ ।

पाँच हजार चार सय ९९ मिटरमध्ये मुख्य गाडी चल्ने दुई लेनको सुरुङको लम्बाइ दुई हजार छ सय ८८ मिटर मात्र हो । त्योमध्ये पनि १५ सय ४३ दशमलव ४० मिटर खन्ने काम सकिएको छ । खन्ने काम सकिएको ठाउँमा फिनिसिङ्गको काम जारी रहेको योजनाले जनाएको छ ।

मुख्य सुरुङ काठमाडौं र धादिङ दुवै तर्फबाट रातदिन अर्थात् चौबीसै घण्टा खन्ने काम जारी छ । मुख्य सुरुङको काठमाडौंबाट सात सय ८३ दशमलव ४० प्रतिशत र धादिङतर्फबाट सात सय ६० मिटर खनिएको योजनाका निमित्त प्रमुख माधव प्रसाद अधिकारीले जानकारी दिए ।

इभ्याकुएसन टनेल अर्थात् सहायक सुरुङको काम पनि १७ सय १५ दशमलव ९० मिटर सकिएको छ । यसको काम पनि काठमाडौं र धादिङ दुवैतर्फबाट जारी छ । अहिले यो सुरुङको काम मुख्य सुरुङ खन्दा निस्केको माटो र ढुंगा फाल्ने तथा भित्र मुख्य सुरुङलाई फिनिसिङ्ग गर्न चाहिने यन्त्र, उपकरण र सामान ल्याउन प्रयोग गरिए पनि सुरुङमार्ग चल्न थालेपछि भने उद्धारलगायतका काममा प्रयोग हुनेछ । त्यसैले यसलाई मुख्य सुरुङजत्तिकै महत्वका साथ लिइन्छ । यद्यपि यो सुरुङ भने मुख्य गाडी गुड्ने सुरुङ जसरी फिनिसिङ्ग भने गरिएको हुँदैन । मुख्य र सहायक सुरुङमार्ग जोड्न प्रयोग हुने क्रसपास सुरुङको काम पनि ७४ दशमलव २० मिटर सकिएको छ । यसको लम्बाइ एक सय २८ मिटर मात्र हुन्छ । एक सय २६ मिटर वर्किङ अडिटको काम भने पूरा भइसकेको छ ।

नागढुंगा सुरुङमार्ग चिनिने यो योजना २०७६ साल कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगाको काठमाडौंतर्फ टुटीपाखामा शिलान्यास गरेका थिए । सुरुङमार्ग निर्माणको जिम्मा प्रतिस्पर्धाबाट जापानको हाम्जा–आन्द्रो जेभीले पाएको थियो । सोही साल असोज ६ गते सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र हाम्जा–आन्द्रो जेभीबीच सुरुङमार्ग निर्माणसम्बन्धी सम्झौता भएपछि कात्तिक ४ गते शिलान्यास गरिएको थियो । शिलान्यास गरेको १४ महिनापछि सुरुङमार्ग खन्ने काम २०७७ पुस पहिलो साताबाट भएको हो । सुरुङ खन्नु अगाडिको पूर्वाधारका काम, मुआब्जा विवाद, विस्फोटका पदार्थ आयातमा ढिलाइ, कोभिड महामारीलगायतको कारण १४ महिना पछि मात्र सुरुङको काम सुरु भयो ।

सडक विभागले नागढुंगा सुरुङमार्गको म्याद फेरि ८६ दिन थप गरेको छ । कोभिडलगायत अन्य बन्दको अवधिलाई देखाएर निर्माण कम्पनी हाज्मा–आन्द्रो जेभीले निर्माण सक्नको लागि थप समय माग गरेपछि यसअघि थप भएको म्यादमा फेरि अर्को ८६ दिन थप गरेको हो । यसअघि पनि त्यति नै म्याद थप गरेको थियो । आयोजनाका एक इन्जिनियरका अनुसार सन् २०२३ भित्रमा सक्ने लक्ष्यका साथ जापानी कम्पनीले काम गरिरहेको छ । ‘मुख्य सुरुङ खन्दा माटोको भाग नआई चट्टान मात्र आयो भने सन् २०२३ भित्र सुरुङमार्गबाट गाडी गुड्छ । हामीले भने त्योभन्दा अगाडि नै सक्नुपर्छ भनेर भनिरहेका छौँ’, एक इन्जिनियरले भने ।

उक्त जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले १३ अर्ब रुपैयाँमा ठेक्का पाएको यो सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २ दशमलव ३ किमि र धादिङतर्फ धुनिबेसी नगरपालिकाको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर लामो पक्की सडक (पहुँचमार्ग) बनाउनुपर्ने छ । सडकको काम पनि धमाधम भइरहेको छ भने तीनवटा पुल बनाउनुपर्नेमा तीनवटैको काम पूरा भइसकेको छ । तीनमध्ये दुईवटा अन्डर पास, चारमध्ये चारवटै बक्स कल्भर्ट, एउटा ओभरपासको काम पनि पूरा भएको छ । अब फ्लाई ओभर र एउटा अण्डर पास निर्माण पूरा हुन बाँकी छ ।

सुरुङमार्ग बनेपछि अहिलेको सडकलाई केबल आठ किलोमिटर कम मात्र गर्ने भए पनि उकालो सडकमा हुने जामलाई छल्नु नै मुख्य उद्देश्य देखिन्छ । सुरुङमार्गको प्रयोगले थानकोटबाट १० मिनेटमा सिस्नेखोला पुग्न सकिन्छ । उक्त योजना नेपालको अहिलेसम्मको सबैभन्दा महंगो सडक मार्ग हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया