शंकास्पद ६५ करोड कारोबारका संरक्षक पूर्वमन्त्री शर्मा किन पक्राउ परेनन् ?
शर्माको परिवार र आफन्तका नामको सम्पत्तिको स्रोत खोज्न राष्ट्र बैंक र सीआईबीका अधिकारीहरूको सुझाव
काठमाडौं । करिब ६५ करोड रुपैयाँबराबरको अवैध रकम नेपाल भित्र्याएका पूर्वअर्थमन्त्री जनार्दन शर्माको टोलीका कथित व्यापारी अछामको दर्नाका पृथ्वीबहादुर शाहलगायतका व्यक्तिहरु शुक्रबार पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो । हाल काठमाडौंको चाबहिलमा बसोबास गर्ने शाहले करिब ११ वटा कम्पनी नेपालमा दर्ता गरेर अवैध रुपमा विदेशबाट पैसा ल्याउने गरेका थिए । सीआईबीले शाहसँगै चक्रबहादुर खत्री, अनुप खड्का, विजयविक्रम शाह, रंगबहादुर साउन र रुक्मांगद काफ्लेलाई पक्राउ गरे पनि उनलाई खुला रुपमा संरक्षण गर्दै आएका पूर्वअर्थमन्त्री शर्मालाई भने पक्राउ गरेको छैन ।
शाहले अवैध रुपमा अमेरिकाबाट ल्याएको रकम छुटाउन नेपाल राष्ट्र बैंकलाई तोक आदेश मात्र होइन विज्ञप्ति नै जारी गरेर खुला रुपमा संरक्षण गरेका तत्कालीन अर्थमन्त्री शर्मालाई भने रकम कारोबारमा संलग्नहरुको बयानको आधारमा मात्र पक्राउ गर्ने स्रोतले जानकारी दियो । राष्ट्र बैंकले उक्त अवैध रकम दिन नमानेपछि गत चैत/वैशाखमा तत्कालीन अर्थमन्त्री शर्मा बेचैन बनेका थिए । उनले त्यही रिसको झोकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट हटाएका थिए । अधिकारी पछि सर्वोच्च अदालतको आदेशमा पदमा पुनः बहाली भएका थिए ।
‘अवैध रुपमा ठूलो मात्रामा विदेशबाट रकम ल्याउनेहरु तत्कालीन अर्थमन्त्री शर्माको टोलीमा रहेर काम गरेका व्यक्तिहरु हुन्’, स्रोतले भन्यो, ‘अर्थमन्त्रीको रुपमा शर्माले गत चैतमा अमेरिकाबाट आएको रकम छुटाउन राष्ट्र बैंकलाई निर्देशन मात्र दिएनन् विज्ञप्ति नै प्रकाशित गरेर खुला रुपमा संरक्षण नै गरेका थिए । तर, शाहको कम्पनीमा उनको प्रत्यक्ष संलग्नता नदेखिएको कारण शुक्रबार नै पक्राउ नगरिएको हो । अनुसन्धानले संलग्नता पुष्टि गरेमा शर्मा पक्राउ पर्नेछन् ।
अवैध कारोबारमा शर्मा संलग्न भएको लिखित प्रमाण फेला नपरे पनि उक्त रकम भित्र्याउने मुख्य योजनाकार शर्मा नै रहेको स्रोतको दाबी छ । अवैध रुपमा नेपाल ल्याएको त्यस्तो रकम छुटाउन मन्त्रीका रुपमा शर्माले गरेका सबै लिखित दस्तावेजको निष्पक्ष रुपमा छानबिन गर्ने हो भने उनी पक्राउ पर्नेछन् । किनकि अवैध रुपमा त्यतिबेला भित्रिएको रकम छुटाउन शाहले अर्थमन्त्री शर्मालाई दिएको निवेदन, त्यसपछि लगाएको तोकआदेश, राष्ट्र बैैंकलाई दिएको निर्देशन, गभर्नर अधिकारीलाई गरिएको बर्खास्तगीलगायतका लिखितले नै शर्माको उक्त अवैध रकम आयातमा प्रत्यक्ष संलग्नता देखिन्छ । यद्यपि शाहका कम्पनीमा भने शर्माको संलग्नता नदेखिएकै कारण बचाउने प्रयास पनि हुन सक्तछ ।
तर, शर्माले यसरी पैसा ल्याउनेसँगको मिलेमतोमा आफ्नो परिवार तथा नातागोताको व्यापार व्यवसायमा लगाउने गरेको स्रोतको दाबी छ । ‘शर्माको पारिवारिक वा उनको नातागोताका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने हो भने उनले कसरी अवैध कारोबार गर्छन् भन्ने खुलासा हुन्छ’, राष्ट्र बैंकसम्बद्ध स्रोत भन्छ, ‘शर्माको आफन्तको काठमाडौंको सम्पत्तिको स्रोत खोजबिन गर्ने काम सरकारको हो । त्यहीबाट शर्मा तानिन्छन् र शाहको कम्पनीबाट आएको पैसा छुटाउन त उनले गरेका लिखित तोकआदेश र विज्ञप्ति नै काफी छ । तर, यस्तो अवैध कारोबार संलग्न शर्मालाई शाहको कम्पनीका सञ्चालक होइनन् भनेर उम्काउने प्रयास भयो भने प्रचण्ड सरकारकै बदनाम हुनेछ ।’
राष्ट्र बैंक र सीआईबीका अधिकारीहरुले शर्माको परिवार र उनको आफन्तको सम्पत्तिको स्रोतमाथि छानबिन हुनुपर्ने तर्क अगाडि सारे पनि त्यो त्यति सजिलो छैन । शर्मा र उनको आफन्तको प्रधानमन्त्री प्रचण्डसँग पनि विशेष सम्बन्ध रहेको कारण सजिलै सम्पत्ति छानबिन हुने देखिँदैन । ‘शर्माका आफन्तको बीसौं करोडको सम्पत्ति काठमाडौंमा छ, त्यो छानबिन गर्ने हिम्मत प्रचण्डसँग पनि छैन अनि कसरी पक्राउ पछन् र शर्मा ?’ एक माओवादी नेताले उल्टै प्रश्न गरे, ‘पृथ्वी शाहको कम्पनीको कुरा त पछिल्लो पटक सार्वजनिक भएकाले मात्र थाहा भएको हो । यस्ता अवैध कारोबार त उनले कति गरेका छन्, कति ?’
शाहको कम्पनीहरुले अमेरिकी डलर र पाउन्ड स्टर्लिङ गरी त्यतिबेलाको बजार मूल्यअनुसार ६४ करोड ६५ लाख रुपैयाँ नेपाल भित्र्याएपछि मात्र यो घटना बाहिर आएको हो । तर, उक्त समूहले यसअघि पनि यसैगरी सानोसानो स्केलमा रकम नेपाल भित्र्याउने गरेको स्रोतको दाबी छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया