Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षा‘कम्युनिभर्सिटी समर प्रोग्राम’ सञ्चालन हुँदै

‘कम्युनिभर्सिटी समर प्रोग्राम’ सञ्चालन हुँदै


काठमाडौं । किंग्स कलेजले ‘कम्युनिभर्सिटी समर प्रोग्राम’ सञ्चालन गर्ने भएको छ । शैक्षिक संस्था, उद्योग र समुदायलाई विद्यार्थीहरूको सिकाइमा जोड्ने उद्देश्यका साथ कलेजले आगामी असार ४ देखि नौ हप्तासम्मका लागि काभ्रेस्थित पाँचखाल नगरपालिकामा सो कार्यक्रम सञ्चालन गर्नलागेको हो ।

समुदाय आफैँमा एउटा महत्वपूर्ण पाठ्यक्रम हो भन्ने अवधारणामा आधारित रहेर सञ्चालन गर्न लागेको यस शैक्षिक कार्यक्रममा कक्षा १२, ए लेभल्स तथा सो सरहका परीक्षा दिएका विद्यार्थीहरू सहभागी हुन पाउने कलेजले बताएको छ । साथै यस कार्यक्रमका दीक्षितहरूले प्राप्त गर्ने क्रेडिटलाई किंग्स कलेज, संयुक्त राज्य अमेरिकास्थित वेस्टक्लिफ युनिभर्सिटी र फिनल्यान्डस्थित कायानी युनिभर्सिटी अफ एप्लाइड साइन्सले अनुमोदित गर्ने कलेजले जनाएको छ । ‘समुदायमा असंख्य ज्ञान, सीप, प्रविधिका साथसाथै अनेकन कथा र अनुभव हुन्छन्’, कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले भने, ‘शिक्षण संस्था एक्लैले जीवन र जगतका बहुआयामिक पक्षहरू सिकाउन सम्भव छैन । जसको कारण समुदाय र शैक्षिक संस्थाहरुको सहकार्य महत्वपूर्ण रहन्छ ।’

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले यस कार्यक्रमले शिक्षामा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् । शिक्षालाई जीवन, समुदाय र सीपसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उनी भन्छन्, ‘शैक्षिक हबको रूपमा अगाडि बढेको पाँचखाल नगरपालिकासँगको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमप्रति हामी उत्साहित छौँ ।’ साथै विद्यार्थी र समग्र समुदायको सहकार्यमा उत्पादन हुने ज्ञानलाई कार्यान्वयन गर्न पनि उनको नगरपालिका तत्पर रहेको खरेलले जानकारी दिए । कार्यक्रमको समग्र नेतृत्व गरिरहेका प्राध्यापक उद्ग खड्काले यस कार्यक्रमको डिजानदेखि कार्यान्वयनसम्ममा समुदाय र उद्योगको सहभागिता हुने बताए । नेपालको उच्च शिक्षालाई माटो सुहाउँदो र जीवनोपयोगी बनाउन ‘कम्युनिटी’ र ‘युनिभर्सिटी’ जोड्ने यस पहलले नयाँ मानक स्थापना गर्नेमा आफूहरु ढुक्क रहेको उनले बताए ।

कलेजले यस कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँक, कारखाना, एफ वान सफ्ट, फुडमान्डु र काठमान्डु अर्गानिक्स उद्योग साझेदारका रूपमा रहने जानकारी दिएको छ । स्थानीय समुदायबाट प्रत्यक्ष साझेदारी पाँचखाल नगरपालिका र सर्वमंगला कलेजसँग गरिएको छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया