Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषि‘विश्वासको संकटले सहकारी क्षेत्र नै धर्मरायो’

‘विश्वासको संकटले सहकारी क्षेत्र नै धर्मरायो’


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले विश्वासको संकटले सहकारी क्षेत्र धर्मराएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १३ औँ वार्षिक साधारणसभामा उनले सञ्चालक र सदस्यहरूमा विश्वासको संकट उत्पन्न हुँदा सहकारी क्षेत्र नै धर्मराएको बताएका हुन् ।

‘केही सहकारीमा आएको सुशासनको कमीले गर्दा समग्र सहकारीमा समस्या देखियो’, उनले भने, ‘सञ्चालक र सदस्यहरू नियमनमा बाँधिन नसक्दा समस्या आएको हो ।’ सहकारी क्षेत्रमा हाल देखिएको समस्या समाधानका लागि माथिल्लो निकायबाट काम सुरु गर्ने उनले बताए । ‘सहकारीमा देखिएका समस्या तलबाट सुधार गरेर भएन । अब लेखा जाँच कडाइका साथ गर्छौं । सुधार अब माथिबाट गर्नुपर्ने देखियो’, उनले भने, ‘अब हामी ऐन तथा नियम पालना कडाइका साथ गराउँछौँ ।’ सहकारीहरू सिद्धान्तमा नचल्दा समस्या आएको समेत सचिव दुवाडीले स्पष्ट पारे । स्वंयम सञ्चालक नियममा बाँधिन नचाहँदा पनि समस्या उत्पन्न भएको सचिव दुवाडीको भनाइ थियो ।

सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेले सहकारी क्षेत्रको समस्या समाधानको लागि कार्यदलले दिएको सुझाव कार्यान्वयनको चरणमा रहेको बताए । उनका अनुसार पछिल्लो समय सहकारीमा विश्वासको वातावरण अभाव हुँदा पनि ठूलो संकट सिर्जना भएको हो । यस्तै, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी सुधारमा तीनै तहका सरकार, अभियानसँगै सञ्चार माध्यमको पनि भूमिका पनि महत्वपूर्ण हुने बताए ।

सहकारी पत्रकार समाजको अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित
नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित भएका छन् । सीजेएनको १३ औँ वार्षिक साधारणसभाबाट पुनः श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । नवनिर्वाचित संस्थाको उपाध्यक्षमा अर्जुन खतिवडा, सचिवमा सन्तोष रोकाया, सह–सचिवमा सुधा देवकोटा र कोषाध्यक्षमा माधवकुमार खड्का चयन भएका छन् । यस्तै, सदस्यहरूमा नमिता दुलाल र बलराम बुढाथोकी रहेका छन् । नवनिर्वाचित कार्यसमितिलाई मुख्य निर्वाचन अधिकृत विष्णु गिरीले प्रमाणपत्र वितरण गरेका थिए ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया