Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिअम्लिसोको भाउ बढेपछि धनकुटाका किसान खुसी

अम्लिसोको भाउ बढेपछि धनकुटाका किसान खुसी


सुनसरी । गत वर्षको तुलनामा यस वर्ष अम्लिसोको भाउ बढेपछि किसान खुसी भएका छन् । धरानस्थित कृषिउपज बजारका अनुसार यस वर्ष अम्लिसो एक सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

गत वर्ष यही समयमा प्रतिकेजी एक सय रुपैयाँसम्ममा बिक्री भएको कृषीउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । उनका अनुसार पछिल्लो समय पूर्वी पहाडी भेगका अधिकांश कृषक नगदेबाली छाडेर व्यावसायिकरूपमा अम्लिसो खेतीमा आकर्षित भएका छन् । अम्लिसोको कुचोबाट प्रशस्त आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।

वर्षमा एकपटक उत्पादन हुने अम्लिसो तराईका बजारमा सजिलै बिक्री हुने भएकाले धेरै किसानले यसको खेती गर्न थालेका धनकुटाका कृषक दिनेश राईले बताए । एक सिजनमा करिब २५ देखि ३० क्विन्टलसम्म अम्लिसो बिक्री हुने गरेको उनले जानकारी दिए । ओरालो र भिरालो ठाउँमा अम्लिसोको उत्पादन राम्रो हुने उनको भनाइ थियो ।

कुनै सयम बिक्री नभएर वस्तुचौपायको आहारा बन्ने गरेकामा अहिले राम्रो आम्दानीको स्रोत हुन थालेपछि धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, सुनसरी र पूर्वी पहाडी भेगका धेरै किसानले मकै, कोदो उत्पादन हुने खेती मासेर अम्लिसो खेतीतर्फ आकर्षित हुन थालेका धनकुटाका व्यापारी राजकुमार राईले बताए । उनले भने, ‘केही समय अगाडि प्रतिकेजी ९० रुपैयाँदेखि एक सयसम्ममा बिक्री हुने अम्लिसो अहिले बढेर एक सय ५० रुपैयाँसम्म पुगेको छ । उत्पादन कम भएकाले भारतबाट अत्यधिक माग आइरहेको छ ।’

केही किसानले पहिलाको कुचो बेच्ने गरेकाले भाउ कम हुने गरेको व्यवसायी राईको भनाइ थियो । ‘जुन वर्ष अम्लिसोबाट कुचो बनाइएको हुन्छ त्यही वर्ष नै बेचिसक्नुपर्छ । अर्को वर्ष पर्खियो भने गुणस्तरहीन हुन्छ’, उनले भने । भाउ नआएका बेला किसानले नबिकेको कुचो अर्को वर्ष बेच्ने गरेकाले मूल्य कम पाउने गरेको उनले बताए । राससले जनाएनुसार यसअघिका वर्षको तुलनामा यस वर्ष मूल्य वृद्धि भएपछि किसान खुसी छन् । मूल्य बढेसँगै उत्पादित सबै अम्लिसो निकालेर बेच्न सुरु गरिएको व्यापारी राईले बताए ।

मूल्यमा घटबढ भइरहे पनि यस वर्ष तुलनात्मकरुपमा बढी मूल्य पाएपछि चाँडै बेच्न हतारिएको उनको भनाइ थियो । रोपेको दुई वर्षदेखि घाँससँगै कुचो उत्पादन हुन थाल्ने र मेहनत पनि कम गर्नु पर्ने भएकाले किसान अम्लिसो खेतीतर्फ आकर्षित हुन् ।

थोरै लगानी र मेहनतमा प्रशस्त आम्दानी हुन थालेपछि कृषकले धेरै क्षेत्रफलमा अम्लिसो खेती गर्न थालेका कृषिउपज बजारस्थलका व्यवस्थापक भट्टराईले जानकारी दिए । उनका अनुसार पूर्वी पहाडी जिल्लामा उत्पादित अम्लिसोको ७० प्रतिशत व्यापार भारततिर हुने गरेको छ ।

अम्लिसोको मुख्य सिजन पुसदेखि भए पनि यस वर्ष मूल्य बढेकाले किसानले अगाडिदेखि बिक्री गर्न थालेका उनको भनाइ थियो । ‘अम्लिसोलाई प्रशोधन गरेर पठाउन सके अझ प्रभावकारी हुन्छ । व्यवस्थापनमा आधुनिकीकरण गर्नसके नेपालमै रोजगारीका अवसरहरु सिर्जना गर्न सकिन्छ’, व्यवस्थापक भट्टराईले भने । यहाँ भारतीय व्यवसायी आफैँ आएर लाने गरेकाले बजारीकरणको समस्या नभएको उनले बताए ।

वर्षमा ४५ देखि ५० मेट्रिक टनसम्म अम्लिसो बिक्री हुने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए । भारतबाट उच्च माग भएकाले पनि यस वर्ष कुचोको मूल्य वृद्धि भएको उनको भनाइ थियो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया