Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारीको साझा धारणा निर्माण गर्न बागमती साकोस समिट हुने

सहकारीको साझा धारणा निर्माण गर्न बागमती साकोस समिट हुने


काठमाडौं । सहकारीको साझा धारणा निर्माण गर्न बागमती साकोस समिट हुने भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को आयोजनामा यही फागुन १६ र १७ गते सो समिट हुन लागेको हो ।

भक्तपुरको जर्मन होम हस्पिटालिटी, गठ्ठाघरमा हुने समिटमा बागमती प्रदेशका १३ वटै जिल्लाका तीन सय सहकारीकर्मीको सहभागिता रहनेछ । बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाका अनुसार ‘सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र विश्वास’ भन्ने मूल थिमका साथ समिट हुन लागेको हो । बचत संघहरूको ऐक्यबद्धता कायम गर्न, साझा धारणा विकास गर्न र अभियानलाई सही बाटो देखाउने उद्देश्यका साथ समिटको आयोजना गरिएको उनले बताए । समिटमा सहकारी क्षेत्रको वर्तमान समस्याका बारेमा पनि व्यापक छलफल हुनेछ । बागमती प्रदेशमा पनि समुदाय र सदस्यकेन्द्रित सहकारीहरू रहेको र संस्थाहरूमा समस्या आउन नदिन र अहिले देखिएको समस्याको निराकरणका लागि मार्ग प्रशस्त गरौँ भन्ने सोचका साथ यो समिटको आयोजना गरिएको उनले बताए ।

समिटको पहिलो दिन सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र विश्वास, सहकारी अभियानको शुद्धीकरणः कानुन कार्यन्वयन, एकीकरण र वर्गिकरण र सहकारीको वर्तमान आवश्यक्ताः साझा अभियानका लागि साझा सञ्जाल विषयमा विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछ । त्यसैगरी दोस्रो दिन सहकारीमा सम्पत्ति शुद्धीकरण निवारणः भावी जोखिम र कार्यान्वयन रणनीति, दक्ष जनशक्ति पलायनः सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरणमा उपाय, प्रभावकारी सेवाका लागिः जनशक्ति उत्पेरणा र सहकारी सुशासन प्रवद्र्धनमाः प्रविधिमैत्री कारोबारका विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

बागमती प्रदेशभित्रका १३ वटा जिल्ला बचत संघ सहआयोजकको रूपमा रहेका छन् । त्यसैगरी बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी विकास बोर्ड र नेफ्स्कुनको सहकार्यमा समिट हुन लागेको हो । समिटले वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएका समस्याको पहिचान गरी समाधानमा समेत मार्ग प्रशस्त गर्ने बताइएको छ । बागमती प्रदेशमा करिब आठ हजार बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया