Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिगहुँ बालीमा सिन्दुरे रोगको प्रकोप

गहुँ बालीमा सिन्दुरे रोगको प्रकोप


दोलखा । यसपटकको हिउँदमा पर्याप्त पानी नपर्दा दोलखाका धेरै गाउँबेँसीमा लगाइएको गहुँ बालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप देखिएको छ । जिल्लाको बैतेश्वर गाउँपालिकाको वडा नम्बर–१ को गोपीबेँसी, वडा नम्बर–३ को मजुवा दोभानेबेँसी, निम्कोटबेँसीमा धेरै मात्रामा सिन्दुरे प्रकोप देखिएको स्थानीय किसानहरूले बताएका छन् ।

गहुँबालीमा प्राप्त सिँचाइ नपुग्नु, हिउँदमा वर्षा नहुनु तथा गहुँबाली नजिकै चोथ्रो, ऐसेलुलगायतको बुट्यान झारीबाट पनि गहुँमा सिन्दुरे रोग सर्ने तथा लाग्ने गरेको वैतेश्वर गाउँपालिका कृषि अधिकृत अश्वीन कुँवरले बताए । अधिकृत कुँवरले गहुँमा रोग लागेको विषयमा जानकारी पाउनेबित्तिकै केही किसानलाई प्राविधिक सल्लाहसहित केही विषादी दिएर पठाएका बताए । ‘रोग लाग्नेबित्तिकै थाहा पाएमा सामान्य किसिमको विषादीको प्रयोग गरेर रोग नियन्त्रणमा ल्याउन सकिन्थ्यो तर गहुँमा रोग लागेको लामो समयपछि थाहा भएमा भने नियन्त्रणमा लिन गाह्रो हुन्छ’, उनले भने ।

यस्तै यो वर्ष हिउँदमा पर्याप्त पानी नपरेका कारण गहुँ उत्पादन पनि घट्ने अनुमान गरिएको छ । केही दिनअघि पानी पर्दा गहुँबाली सप्रिने आशमा रहेका किसानलाई पछिल्लो पटक देखा परेको रोगले निराश बनाएको छ । गाउँपालिकाको कृषि शाखाले हालसम्म सिन्दुरे प्रकोप भएका ठाउँका किसानले कृषि प्राविधिकलाई कुनै जानकारी नगराएको बताएको छ । सम्पर्कमा आएका वडा केही किसानलाई रोग नियन्त्रणका लागि प्राविधिक सल्लाहसहित विषादी समेत दिएर पठाइएको र प्रकोप देखिएका अन्य ठाउँमा पनि स्थलगत अनुगमनको लागि प्राविधिक पठाउने बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले बताए । अध्यक्ष लामाले रोगको प्रकोप देखिएका किसानलाई सामूहिक निवेदन लिएर आउन समेत अनुरोध गरेका छन् ।

यसअघि यहाँका गाउँबेँसी लगाइएको गहुँमा यस्तो रोग खासै नदेखिएको स्थानीयको भनाइ छ । कृषि प्राविधिकहरूले किसानलाई रोग नियन्त्रण गर्न किर्नेकसिल भन्ने विषादी प्रतिलिटर पानीमा दुईदेखि तीन ग्राम मिसाई गहुँमा छर्न सुझाव दिएका छन् ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया