अकबरे खुर्सानी उत्पादनमा वृद्धि
दोलखा, मंसिर १९
पछिल्लो समय दोलखाको अधिकांश ठाउँमा अकबरे खोर्सानीको खेती व्यावसायिक बन्दै गएको छ । जिल्लाको विभिन्न भेगमा विभिन्न जातको अकबरे खोर्सानी खेती गर्ने कृषकहरू बढेका छन् । दोलखाका उच्च भू–भागबाहेक अन्यत्र प्रायः सबैतिर घरायसी प्रयोजनका लागि खेती गरिने अकबरे खुर्सानीको खेती उच्च पहाडदेखि गर्मी हावापानीमा समेत गर्न सकिने भएपछि यो खेतीमा कृषकको रुचि बढेको हो ।
कृषकले धेरै ठाउँ खेती गरेको देखेर कतिपय स्थानीय सरकार र गाउँटोलमा खुलेका कृषि सहकारी र गैरसरकारी संस्थाले यो खेतीमा लगानी गरिरहेको शैलुङ–४ कृषि प्राविधिक प्रकाश थापाले बताए । साविकको कृषि विकास कार्यालय चरिकोटले केही समय अगाडि सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा करिब १० देखि १५ टनसम्म अकबरे खुर्सानी उत्पादन हुने गरेको छ ।
जिल्लाको भीमेश्वर नगरपालिका, बैतेश्वर गाउँपाकिका, तामाकोशी गाउँपालिका, शैलुङ, कालिञ्चोक, जिरी गौरीशंकरको तल्लो भागमा यो खेती हुँदै आएको छ । भिमेश्वर नगरपालिका–६ स्थित भीमेश्वर अर्गानिक एग्रिकल्चर एन्ड रिसर्च प्रालिले हाल सय रोपनी क्षेत्रफलमा खुर्सानी, किवी, एभोकाडो, रुद्राक्षलगायत फलफूल तथा विभिन्न तरकारीको अर्गानिक खेती गरिरहेको छ ।
कृषि प्राविधिकका अनुसार रातो भइन्जेल अकबरे खुर्सानीबोटमा राख्दा कीराको संक्रमण बढ्ने तर हरियोमा टिप्दा भने कीराले खासै दुःख नदिने हुन्छ । उत्पादन पनि छिट्टै हुने हुँदा हरियो अकबरेको व्यवस्थितरूपमा निकासी गर्न सके किसानलाई ठूलो लाभ मिल्न सक्ने कृषि प्राविधिकको भनाइ छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया