Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिनिरन्तरको झरीले कृषकलाई आलु भित्र्याउन समस्या

निरन्तरको झरीले कृषकलाई आलु भित्र्याउन समस्या


महेन्द्र शाही
सोलुखुम्बु, साउन १२
निरन्तरको वर्षातका कारण सोलुखुम्बुसहित पहाडी भेगका कृषकहरूलाई आलु भित्र्याउन समस्या भएको छ । पहाडी भेगका कृषकहरूको मुख्य बालीका रूपमा रहेको आलु भित्र्याउने यो समयमा निरन्तर झरी पर्दा कृषकहरूलाई समस्या भएको हो । आलु खन्ने यो समयमा निरन्तर पानी पर्दा आलु खन्न समेत नसकिएकोे सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ८ पत्तालेका कृषक किन्जी ल्हामु शेर्पाको भनाइ छ । निरन्तर पानी परेकाले आलु भित्र्याउनमा समस्या भएको उनको भनाइ छ । अघिल्लो वर्ष यतिखेर आलु भित्र्याउन काम भए पनि यो वर्ष पानीले गर्दा समस्या भएको किसानको भनाइ छ । निरन्तरको पानीले आलु कुहिने जोखिम पनी बढेको किसानको भनाइ छ ।

१० हजार ९९ हेक्टर क्षेत्रफलमा आलु खेती हुने सोलुखुम्बुमा गत वर्ष एक लाख ६५ हजार दुई सय ६४ मेट्रिक टन उत्पादन भए पनि यो वर्ष भने उत्पादन घटने कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ । यस वर्ष वैशाखदेखिको निरन्तर पानीका कारण आलुमा डडुवा लाग्दा फल नै लाग्न नपाएको ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख कुलबहादुर राईले बताए । उत्पादनमा ह्रास आउने आँकलन गरिएको उनको भनाइ छ । यतिखेर अधिकांशले आलु खनिसक्ने भए पनि यो वर्ष खन्न नपाएकाले किसान थप चिन्तित बनेका छन् । साउनको पहिलो हप्तादेखि खन्न सुरु हुने भए पनि यो वर्ष पानीले समस्या पारेको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङका किसान दावा तामाङको भनाइ छ । सोलुखुम्बुमा उत्पादन भएको आलु विभिन्न जिल्लामा कोसेलीको रूपमा निर्यात हुने गरेको कृषक पवित्र तामाङले बताइन् ।

अर्गानिक र बुङको आलु भएकाले कोसेलीका रूपमा बढी प्रयोग हुने उनले सुनाइन् । कृषी ज्ञान केन्द्र सोलुखुम्बुको तथ्याङ्कअनुसार गत वर्ष उत्पादन भएको चार सय मेट्रिक टन आलु काठमाडौँ, विराटनगर, सुनसरी, इटहरी रामेछापलगायतको जिल्लामा निर्यात भएको थियो । उत्पादन भएका आलु समेत समयमा नै भित्र्याउन नसक्दा बारीमै किराले खाने गरेकोे कृषकहरूको गुनासो छ । आलु खेती नै मुख्य आम्दानीको स्रोत भएकाले यतीबेला माथिल्लो क्षेत्रका कृषकहरू चिन्तित बनेका छन् । आलु खेतीबाटै जिविकोपार्जन गर्दै आएका यहाँका किसानलाई निरन्तरको वर्षाले यो वर्ष आम्दानी गुम्ने चिन्ता बढेको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया