Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारीको विकासमा अवरोध गर्ने कानुन संशोधन हुन्छ : मन्त्री श्रेष्ठ

सहकारीको विकासमा अवरोध गर्ने कानुन संशोधन हुन्छ : मन्त्री श्रेष्ठ


काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री लीलानाथ श्रेष्ठले सहकारीको विकासमा अवरोध गर्ने कानुन संशोधन गर्ने विषयमा आफ्नो प्राथमिकता रहने बताएका छन् । सहकारी व्यवसायलाई बाधा पु-याउने ४७ वटा ऐनहरु रहेको र तिनलाई सहकारीमैत्री बनाउनमा आफ्नो तहबाट भूमिका खेल्ने उनले बताए ।

९९औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा उनले राज्यले सहकारीलाई काम गर्ने वातावरण दिने र राज्यलाई पनि सहकारीको सहयोग आवश्यक रहेको बताए ।

गरिबी निवारण, महिला सशक्तीकरण र रोजगारी सिर्जनामा सहकारीको योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले ग्रामीण क्षेत्रमा अभैm सहकारी विस्तार आवश्यक रहेको भन्दै सहकारी धेरै भएको ठाउँमा एकीकरण र नपुगेको ग्रामीण क्षेत्रमा सहकारी संस्था विस्तार गर्नुपर्ने बताए । पाण्डेले ग्रामीण क्षेत्रमा सहकारी अभियान व्यावसायिक बन्नुपर्नेमा जोड दिए ।

सहकारीले राम्रा काम गर्दागर्दै पनि केही कमजोरीहरु पनि रहेको भन्दै उनले सहकारीहरुले गरेको कमजोरीको रिपोर्ट मन्त्रालयसम्म आउने गरेको बताए । साथै उनले सहकारीको गरेको असल अभ्यास अन्य सहकारीहरुले पनि अनुसरण गर्नुपर्नेमा जोड दिए ।

महासंघका अध्यक्ष मिनराज कंडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा महासंघका निर्वमान अध्यक्ष केशवप्रसाद बडाल, आइसीए ग्लोबल बोर्ड सदस्य तथा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश प्रसाद पोखरेललगायतका सहकारी अभियानका अग्रणी व्यक्तित्वहरुले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सह–सािवच चन्द्रकला पौडेलले पुनर्निर्माणमा संयुक्त पहल भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । जुलाइको पहिलो शनिबार विश्वभरि नै विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ । कोरोना महामारीबाट पुनर्उत्थान गर्नका लागि सहकारीको भूमिका र योगदानको विषयलाई महत्व दिदै यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको हो ।

बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार, सहकारी संघ/संस्था पुरस्कृत
नेपालको सहकारी अभियानको अग्रणी व्यक्तित्व दिपकप्रकाश बाँस्कोटालाई महासंघले ‘राष्ट्रिय सहकारी पुरस्कार’द्वारा सम्मान गरेको छ । महासंघले प्रत्येक वर्ष राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कारको घोषणा गर्दछ भने अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कार वितरण गर्ने गर्दछ । महासंघले शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बाँस्कोटालाई सम्मान गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री लीलानाथ श्रेष्ठले नगद ५० हजारसहित उनलाई सो पुरस्कारबाट पुरस्कृत गरेका हुन् । सहकारी अभियानलाई जग बसाल्न र सहकारी ऐन–२०४८ र नियमावली निर्माणमा उनको भूमिका रहेको थियो । बाँस्कोटा पूर्व गृहराज्यमन्त्री, राष्ट्रिय सहकारी विकास बोर्डका प्रथम अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्षसमेत हुन् ।

पुरस्कृत हुने सहकारी संस्थाहरुमा प्रदेश नं.१ बाट कामधेनु दुग्ध विकास सहकारी संस्था लि. सुनसरी, प्रदेश नं.२ बाट त्रियुगा सहकारी संस्था लि सप्तरी, वाग्मती प्रदेशबाट महिला साना किसान कृषि सहकारी संस्था लि. धादिङ्ग रहेको छ ।

यस्तै गण्डकी प्रदेशबाट दुम्सी दुग्ध उत्पादक सहकारी संस्था लि. तनहुँ, लुम्बिनी प्रदेशबाट हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि. र कर्णाली प्रदेशबाट दलित महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था लि. मुगु रहेका छन् । यसैगरी यसवर्षको ‘उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०७७’ बाट जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मकवानपुरकी व्यवस्थापक सुमित्रा कुमारी वाइबा पुरस्कृत भएकी छिन् ।

एकीकरण गर्ने संघलाई महासंघको प्रोत्साहन : महासंघले सहकारी संघ/संस्थाको एकीकरण अभियानलाई जोड दिएको छ । महासंघले जिल्ला कृषि सहकारी संघ लि. ललितपुरलाई प्रोत्साहन स्वरुप २५ हजार रुपैयाँ प्रदान गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले संघलाई चेक प्रदान गरेका थिए ।

कृषि सहकारी संघ र जिल्ला च्याउ उत्पादन सहकारी संघबीच एकीकरण भएको थियो । गत २०७८ असार ६ गते एकीकरण स्वीकृत भई एकिकृत संघको प्रमाणपत्र लिइएको थियो । सो संघका अध्यक्ष महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल हुन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया