Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपशु चिकित्सालयमा चोरलाई चौतारी साधुलाई शूली

पशु चिकित्सालयमा चोरलाई चौतारी साधुलाई शूली


काठमाडौं, जेठ १९
सरकारी छाप, सरकारी लेटर प्याड, सरकारी अधिकारीको दस्तखत, सरकारी चिठ्ठी र सरकारी चलानी, नम्बरसमेत नक्कली, कीर्ते र जालसाजी गरेको आफैंले कबुल गरेको एक जना पशु औषधि र आहार सप्लाई गर्ने कम्पनीका सञ्चालकलाई प्रहरीले सफल अनुसन्धानपछि कारबाही अघि नबढाई रहस्यमय ढंगले स्थगन गरेको पाइएको छ । केन्द्रीय पशु चिकित्सालय त्रिपुरेश्वरका लागि आवश्यक औषधि खरिदको सम्बन्धमा मुनाल बायोमेट फर्माका सञ्चालक रेवतिरमण निरौलाले त्यसरी कीर्ते र जालसाजी गरेका थिए ।

पशु औषधि सप्लायर निरौलाले केन्द्रीय पशुचिकित्सालयले स्वास्थ्य सेवा विभागलाई सिफारिस गरेको औषधि खरिद गर्ने प्रस्तावलाई जालसाजी गरी वीरगञ्ज भन्सार कार्यालयलाई सम्बोधन गरी लेखिएको पत्रमा हस्ताक्षर गराएका थिए । त्यतिबेला वीरगञ्ज भन्सार कार्यालय र स्वास्थ्य सेवा विभागबीच विवाद रहेको बुझिएको छ र त्यही कारण औषधि सप्लायर निरौलाले जालसाजी गरी पशुचिकित्सालयको पत्र सोझै वीरगञ्ज भन्सार कार्यालयमा पठाएका थिए ।

निरौलाले त्यसरी जालसाजी गरी वीरगञ्ज भन्सार कार्यालयमा केन्द्रीय पशुचिकित्सालयको नाममा पत्र पठाएको थाहा पाएलगत्तै त्यसका प्रमुख डा. वलराम थापाले त्यसविरुद्ध कारबाही अघि बढाएका थिए र कारबाहीका लागि पशु स्वास्थ्य निर्देशनालय, औषधि व्यवस्था विभागलगायत आठ ठाउँमा कारबाहीका लागि निवेदन दिएका थिए । तर उनको उजुरी र सिफारिसमाथि कहीँ कतै पनि कारबाही चालेको थाहा हुनसकेको छैन । २०६७ सालमा अस्पताललाई आवश्यक औषधि किन्न सिफारिस गर्दा निरौलाले जालसाजी गरेर उक्त पत्र वीरगञ्ज भन्सारलाई सम्बोधन गरेर औषधि छुटाउने पत्र लेखेका थिए । २०६९ सालमा औषधिको सीमित सिफारिसमा आफूखुसी नाम थपेर सिफारिस गरेको र वीरगञ्ज भन्सारबाट औषधि छुटाउन सिफारिस गरेका थिए । त्यस सम्बन्धमा कार्यालय प्रमुख डा. बलराम थापाले कारबाही गर्न पत्राचार गर्नुको साथै कारबाहीका लागि पशुसेवा विभागलगायत आठ ठाउँमा उजुरी गरेपछि प्रहरीको छानबिनको दायरामा परेको थियो ।

औषधि सप्लायर निरौलाले नक्कली चिठी लेखेका थिए । सरकारी कार्यालयले त्यसरी सादा कागजमा आफ्नो सिफारिस लेखेर पठाउने प्रचलन नै छैन । सरकारी कार्यालयको आफ्नै लेटर प्याड हुन्छ र जतिसुकै पानाको सिफारिस भए पनि लेटर प्याडमै लेखिएको हुन्छ तर सादा कागजमा सिफारिस गरेर पठाउने प्रचलन छैन । तर निरौलाले सिफारिसको पहिलो पाना केन्द्रीय पशु चिकित्सालयको लेटर प्याडमा छ र दोस्रो पाना सादा कागजमा छ । सरकारी सिफारिस त्यस्तो हुँदैन ।

२०६९ माघ ८ को उक्त पत्रको चलानी नम्बर १८२ रहेको छ । केन्द्रीय पशु चिकित्सालयको १८२ को चलानी नम्बरमा भन्सार कार्यालय वीरगञ्जलाई लेखेको पत्र छैन । चिकित्सालयको १८२ नम्बरको चलानीमा राष्ट्रिय वाणिज्य बैंक टेकुलाई रकम जम्मा गरिदिनेबारे लेखिएको पत्र छ । लेटरप्याडविनाको सादा कागजमा सरकारी छाप र कार्यालय प्रमुखको हस्ताक्षर स्क्यान गरेर पेस्ट गरेजस्तै गरी चलानी नम्बरमा पनि निरौलाले कीर्ते गरेको स्पष्ट रुपमा देखिएको छ । सादा कागजमा गरिएको औषधिको सिफारिसको सूचीमुनि वरिष्ठ पशुचिकित्सक डा. बलराम थापाको हस्ताक्षर स्क्यान गरी पेस्ट गरेको जो कसैले सजिलै छुट्याउन सक्दछ । नक्कली पत्रमा सरकारी छाप लगाइएको छ । त्यतिबेला केन्द्रीय पशु चिकित्सालय कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत थियो तर पत्रमा छापचाहिँ कृषि विकास मन्त्रालयको लागेको छ ।

निरौलाले विगत लामो समयदेखि यस्तै धन्दा गर्दै आएका छन् । उनी २०४५ सालअघि भारतीय मेरिण्ड कम्पनीको प्रतिनिधि भएर काम गर्थे र त्यसपछि उनले मुनाल बायोभेट फर्मा खोलेर पशुपन्छीको औषधि सप्लाई गर्दै आएका छन् । अहिले उनी इण्डिया, इन्डोनेसियालगायतका थुप्रै देशका कम्पनीको प्रतिनिधिका रुपमा औषधि बिक्री गर्दै आएका छन् । ती कम्पनीका सबै उत्पादनलाई औषधि व्यवस्था विभागले नेपाल ल्याउन पाउने सूचीमा सूचीकृत गरेको हुँदैन र सूचीकृत नभएका औषधि नेपाल ल्याउन पाइँदैन ।

त्यस्ता प्रतिबन्धित औषधि जालसाजी र कीर्ते गरेर नेपाल छिराउने र एकलौटी रुपमा मनपरी मूल्यमा बिक्री गर्ने उनको ध्येय रहेको हुनुपर्दछ र त्यही कारण निरौलाले त्यसरी नक्कली पत्र, कीर्ते छाप, चलानी नम्बर कीर्ते हस्ताक्षर गरेर औषधि छुटाउन वीरगञ्ज भन्सार कार्यालयलाई पत्र पठाएका हुन् । उनले त्यसरी कीर्तेकाइते गरी नक्कली पत्र पठाउँदा डा. थापा कार्यालयमा थिएनन् र उनी एउटा तालिममा रहेका थिए । तालिमबाट फर्किएपछि निरौलाको बेइमानी थाहा पाएर उनले तत्काल कारबाहीका लागि पशु सेवा विभाग, औषधि व्यवस्था विभाग, पशु स्वास्थ्य निर्देशनालय, भन्सार विभागलगायत आठ निकायमा सिफारिस पनि गरेका छन् । तर ती निकायले कारबाही नगरे पनि प्रहरीले चाहिँ उनलाई हिरासतमा लिएर छानबिन गरेको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी नायब निरीक्षक भोला शंकर गिरीले २०७० असोज ३ गते छानबिन प्रतिवेदन महानगरीय प्रहरी अपराध महाशाखा हनुमान ढोकामा बुझाएका छन् । उक्त छानबिनले निरौलाले नै कीर्ते गरेको निष्कर्ष निकालेको छ र स्वयम् निरौलाले २०६९ चैत १४ गते केन्द्रीय पशु चिकित्सालयका प्रमुखलाई लेखेको पत्रमा सो पत्र आफूलाई आएको च.नं. १८१ मा उल्लेख भएअनुसारको क्रियाकलापहरु (कीर्ते र जालसाजी) भूलवश हुन गएको र यस फर्मा (मुनाल बायोभेट फर्मा)ले आगामी दिनमा त्यस्ता क्रियाकलाप नगर्ने प्रतिबद्धता जनाउँछु भनी रेवतीरमण निरौलाले उल्लेख गरेका छन् र उनीले आपूmले ती सबै गल्ती गरेको स्वीकारिसकेपछि पनि उनीमाथिको कारबाही रोकिनु र निरौलाले जालसाजी र सरकारी छाप, लेटरप्याड पत्र कीर्ते गरेको भनी कारबाही गर्न उजुरी गर्ने डाक्टर थापामाथि नै कारबाही गर्ने प्रक्रिया अघि बढाइनुले चोरलाई चौतारो, साधुलाई शूली भन्ने नेपाली उखान चरितार्थ हुन पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया