Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल टेलिकमको ‘बिलिङ’ प्रणालीमा अर्बौं घोटाला

नेपाल टेलिकमको ‘बिलिङ’ प्रणालीमा अर्बौं घोटाला


काठमाडौँ । ‘राष्ट्रको सञ्चार’का रुपमा प्रचारित नेपाल टेलिकमबाट वार्षिक दुई अर्ब रुपैयाँबढी चुहावटका नाइके थिए, पौडेलबन्धु–‘सुनिल र विकल’ । दूरसञ्चार नेटवर्क र इन्टरनेटमा तीब्र गतिको विकास भइरहँदा ‘सुनिल र विकल’ले नेपाल टेलिकमलाई पुरानो बिलिङ प्रणाली मै लठ्काएर वार्षिक अर्बौँ नोक्सान गराएको तथ्य भेटिएको छ ।

जसमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, हालका मुख्य सचिव बैंकुण्ठ अर्याल, देउवा पत्नी आरजुको समेत संलग्नता पुष्टि हुने अवस्था देखिएको छ ।

नेपाल टेलिकमको कार्यकारी निर्देशकमा सुनिल पौडेललाई नियुक्त गर्ने चाँजो मिलाउने विचौलिया आरजु देउवा निकट मानिने रामचन्द्र भट्ट हुन् । जो सार्वजनिक संस्थानका प्रमुखदेखि सुपारी, पोस्तादानाको कोटा निर्धारणमा प्रत्यक्ष हस्तक्षेप गर्ने विचौलियाका रुपमा समेत चिनिन्छन् । यी भट्ट कुनै समय टिम्बर कर्पोरेशनमा घोटाला गरेको काण्डमा पनि मुछिएका थिए ।

सुनिल, विकाल र रामचन्द्रबीचको गोप्य योजना अनुसार पुरानै बिलिङ सिस्टमलाई निरन्तरता दिँदै ३० करोड बढीको भ्रष्टाचार भएको तथ्यहरु फेला परेका छन् । विचौलिया रामचन्द्र भट्टसहित टेलिकमका २४ उच्च अधिकारीहरु अनुसन्धानको घेरामा छन् ।

सुनिलकै सक्रियतामा गएको पुसमा सवा तीन अर्ब रुपैयाँमा ५ वर्षका लागि एसिया इन्फोलाई बिलिङ प्रणालीको ठेक्कामा निरन्तरता दिने निर्णय भएको बताइएको छ । टेलिकमको सञ्चालक समितिले २०७९ पुस २४ गते एसिया इन्फोलाई ५ वर्षका लागि मर्मत सम्भारको जिम्मा दिने निर्णय गरेको थियो । जसमा वार्षिक ६५ करोड रुपयौँका दरले भुक्तानी दिने भनिएको छ ।

नेपाल टेलिकमको हाल सञ्चालनमा रहेको बिलिङ प्रणालीबाट उनीहरुको सेटिङमा नेताहरुको समेत संलग्नतामा अर्बौ रुपैयाँ घोटाला गरिएका तथ्य फेला परेको छ । सञ्चारको दुनियाँ थ्रीजीबाट फोरजी र इन्टरनेट तामाको तारबाट फाइबरमा रुपान्तरण भइसक्दा पनि नेपाल टेलिमलाई पुरानै बिलिङ प्रणालीमा लठ्काइएको थियो । तत्कालीन प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पुरानो बिलिङ प्रणाली हटाएर नयाँ ल्याउने व्यवस्था मिलाउन प्रस्ताव गरेका थिए ।

उनकै प्रस्तावमा २०७८ साउन ४ गते हरि बस्यालको अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले नयाँ बिलिङका लागि ठेक्का प्रक्रियामा जाने शर्तहरु तयार पारियो । तीन करोड ५० लाख डलरको नयाँ बिलिङ प्रणालीको ठेक्का प्रक्रिया अघि बढाउने निर्णय भयो तर कार्यान्वयन भएन । जतिबेला बस्याल आफैं विभागीय मन्त्रालयको सचिवबाट सेवा निवृत्त हुँदै थिए र टेलिकमको अध्यक्षबाट पनि हट्दै थिए । कारण सञ्चार सचिव टेलिकमको अध्यक्ष हुने व्यवस्था थियो ।

बस्याल जानासाथ सञ्चार सचिवमा आएका हालका मुख्य सचिव बैकुण्ठ अर्यालले नयाँ बिलिङको ठेक्का प्रक्रिया रोके । उता, टेलिकमका प्रबन्ध निर्देशक अधिकारीको पनि सेवा अवधि सकियो । र, सुनिल पौडेल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भए ।

तत्कालीन सञ्चार सचिव एवं टेलिकमको अध्यक्ष रहेका अर्याल नेतृत्वको सञ्चालक समितिले ठेक्का सम्झौता सकिन तीन महिना बाँकी रहेको र ठेक्का प्रक्रिया तथा डेटा माइग्रेसनका लागि दुई वर्ष भन्दा बढी समय लाग्ने भन्दै पुरानै बिलिङ सिस्टमलाई निरन्तरता दिने निर्णय गरेर चुहावट एवं अनियमितताको बाटो खुला राख्ने कार्यमा अधिकारी र पौडेलको संलग्नता रहेको देखिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया