Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको फेष्टिभल अफर

टेलिकमको फेष्टिभल अफर


काठमाडौं ।
नेपाल टेलिकमले मोबाइल सेवामा समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी बिहीबारदेखि ९० दिन लागू हुने अटम अफर उपलब्ध गराउने भएको छ । यसैगरी घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म लागू हुने ‘दशैँ अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर’लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएका छन् । साथै सान्दर्भिक नभएका केही प्याकहरुलाई निरन्तरता नदिइने भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ ।

यसअन्तर्गत ३ दिनसम्म चलाउन मिल्ने गरी ५५ रुपैयाँमा युट्युब अनलिमिटेड र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुनेछ । यी अफर खरिद गरेपश्चात् सहुलियतस्वरुप १५ रुपैयाँमा तीन दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी डाटाको एड अन प्याक समेत खरिद गर्न सकिनेछ । यसअघि ४० रुपैयाँमा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब सोही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइनेछ । त्यसैगरी १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याकअन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएका छन् । त्यसैगरी राति १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत् राखिएका छन् ।

यसअघि ‘वान डे डाटा प्याक’अन्तर्गत कुनै पनि समय चलाउन मिल्ने प्याक १५ रुपैयाँमा ६० एमबी उपलब्ध गराइरहेकोमा अब १०० एमबी प्राप्त गर्न सकिनेछ । त्यसैगरी ‘थ्री डे डाटा प्याक’ ६० रुपैयाँमा ४०० एमबी उपलब्ध गराइरहेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । वान डे डाटा प्याकअन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोल्युम पनि पहिलेभन्दा बढी हुने भएको छ । यसअन्तर्गत १० रुपैयाँमा ८० एमबी डाटा उपलब्ध भइरहेकोमा अब १२० एमबी र १८ रुपैयाँमा २५० एमबी डाटा उपलब्ध भइरहेकोमा अब सोही प्याकेज १५ रुपैयाँमा उपलब्ध हुनेछ ।

यसैगरी कम्पनीले फेस्टिभल अफरका रुपमा दशैँ÷तिहार र छठ पर्वलाई समेत समेटी जीएसएम/सीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराउने भएको छ । यसमा रिचार्ज कार्डबाट ५० रुपैयाँ रिचार्ज वा एमपोसबाट २० देखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुनेछ ।

रिचार्जकार्डबाट एक सय रुपैयाँ वा एमपोसबाट ५१ देखि एक सय रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ । यस्तै रिचार्ज कार्डबाट २ सय वा एमपोसबाट १ सय १ देखि २ सय रुपैयाँ रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस र एमपोसबाट २ सय १ देखि ४ सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिनेछ । यसैगरी, रिचार्ज कार्डबाट ५ सय वा एमपोसबाट ५ सयदेखि ९ सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुने कम्पनीको भनाइ छ ।

साथै, रिचार्ज कार्डबाट एक हजार रुपैयाँ वा एमपोसबाट १ हजार वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी एक सय मिनेट बोनस प्राप्त हुनेछ । यसका साथै कम्पनीले कात्तिक १ गतेबाट नेपाल टेलिकम एप पहिलोपटक डाउनलोड गर्दा ५०० एमबी डाटा एक पटकका लागि निःशुल्क दिने भएको छ । यसैगरी स्टार४४४ ह्याक्स डायल गरी फोरजी सेवामा सिमकार्ड स्तरोन्नति गर्दा एक पटकका लागि ५०० एमबी (सबै नेटवर्कमा) र थप ५०० एमबी डाटा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने गरी निःशुल्क प्राप्त हुने कम्पनीको भनाइ छ ।

यसका साथै यसअघि विद्यार्थीहरुका लागि मात्र उपलब्ध रहेको ह्याप्पी लर्निङ प्याक अब सबै ग्राहक महानुभावका लागि उपलब्ध हुने भएको छ । यो प्याक लिनका लागि सम्बन्धित निकायको सिफारिश आवश्यक पर्ने व्यवस्था हटाइएको छ । कोभिड–१९ को महामारीको कारणले स्वास्थ्य सुरक्षा र भौतिक दूरी कायम गर्नुपर्ने विषम परिस्थितिमा कम्पनीले ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गराएको अटम तथा फेस्टिभल अफर आकर्षक हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया