Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगप्रदेशस्तरीय क्यान इन्फोटेक मेला वीरगञ्जमा

प्रदेशस्तरीय क्यान इन्फोटेक मेला वीरगञ्जमा


वीरगञ्ज, पुस २२
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) पर्साको आयोजना तथा क्यान महासंघ प्रदेश २ को संयोजकत्वमा प्रदेशस्तरीय सूचना, प्रविधि र सञ्चारको व्यापकतालाई समेट्ने गरी वीरगञ्जमा ५ दिने सूचना प्रविधि प्रदर्शनी क्यान इन्फोटेक २०२० आयोजना हुने भएको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी)बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गरिन लागेको क्यान पर्साका अध्यक्ष दिपक साहले बताए । यसले व्यवसायी तथा ग्राहकका लागि अन्तर्क्रियाको एक प्लाटफर्म सिर्जना गर्ने छ । ग्राहकसँगको छलफलबाट व्यवसायीले आफ्ना वस्तु तथा सेवाको आपूर्तिमा सुधार ल्याउन सक्नेछन् । स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीहरुबीच नेटवर्क सिर्जना गर्ने लक्ष्य पनि लिएको आयोजकले जानकारी दिएको छ ।

प्रदेशस्तरीय दोस्रो संस्करण क्यान इन्फोटेक माघ ९ गतेदेखि १३ गतेसम्म वीरगञ्जस्थित नगरसभा गृह (टाउन हल)मा आयोजना हुने आयोजकले बताएको छ । एक दशक पहिला स्थापना भएको क्यान महासंघ पर्साले जिल्लामा सूचना सञ्चार तथा प्रविधिसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । क्यान इन्फोटेक २०२० मा आईसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका विद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हुने आयोजकले जानकारी दिएका छन् ।

सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । प्रदर्शनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिनेछन् ।

त्यसैगरी, आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि पनि प्रदर्शनीमा रहने जनाइएको छ । गत वर्ष करिब २० हजारभन्दा बढीले अवलोकन गरेको यस मेलामा यो वर्ष ५० हजारभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा आयोजकको छ । यसैगरी क्यान इन्फोटेक २०२० को बुकिङ्ग समेत खुल्ला गरिएको छ ।

केन्द्रीयस्तरको क्यान इन्फोटेक तथा प्रदेश र जिल्लास्तरीय इन्फोटेकको शीर्ष प्रायोजन प्रभु पे, एसोसिएट प्रायोजकमा वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड, अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्सले प्रायोजन गरेको छ । त्यस्तै हालसम्म प्लाटिनम स्पोन्सरमा डाइनामिक टेक्नोसफ्ट, गोल्ड स्पोन्सरमा ब्रदर र लर्ड बुद्ध एजुकेसन फाउण्डेसन, सिल्भर स्पोन्सरमा एस पावर, भायनेटले प्रायोजन गरेका छन् भने अफिसियल मिडिया संगठनमा प्रविधि पत्रकार मञ्च (टिजेएफ) रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया