Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलद्वारा १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क वृद्धि

एनसेलद्वारा १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क वृद्धि


काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागू हुने गरी विश्वका १९ देशहरुको अन्तर्राष्ट्रिय कल शुल्कमा वृद्धि गरेको छ । नयाँ शुल्कहरु नेपाल दूरसञ्चार प्राधिकरणले अन्य दूरसञ्चार सेवाप्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दरअनुसार नै रहेका छन् ।

गत जेठ ९ गते नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजकिस्तान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएसिया, फिनल्यान्ड, नेदरल्यान्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरी १९ देशहरुका लागि नयाँ अन्तर्राष्ट्रिय कल शुल्कको स्वीकृति प्रदान गरेको थियो । प्राधिकरणबाट प्राप्त यो स्वीकृतिसँगै यी देशहरुका लागि एनसेलको अन्तर्राष्ट्रिय कल शुल्क अब अरु सेवा प्रदायकहरुले प्राधिकरणको स्वीकृतिबमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ ।

नयाँ परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्कअनुसार १८ वटा देशहरुको शुल्क करबाहेक प्रतिमिनेट ३० रुपैयाँ निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रतिमिनेट कल शुल्क करबाहेक ३० रुपैयाँ ६५ पैसा निर्धारण भएको छ । यसअघि यी देशहरुमा कल गर्दा गन्तव्य देशअनुसार प्रतिमिनेट चार रुपैयाँ ९९ पैसादेखि १५ रुपैयाँसम्म लाग्ने गरेको थियो । अझै पनि माल्दिभ्सको लागि एनसेलको प्रतिमिनेट कल शुल्क अरु सेवा प्रदायकले लिने शुल्कभन्दा निकै कम रहेको कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकै कम भएको र सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले विगत पाँच वर्षदेखि एनसेलले अन्तर्राष्ट्रिय कलबापतको राजस्वमा ठूलो नोक्सानी व्यहोर्दै आएको जनाएको छ । साथै यसअघि एनसेलले यी देशहरुका लागि प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय शुल्क अन्य सेवा प्रदायकहरुको स्वीकृत कल शुल्कभन्दा छ गुणा कम दरमा ग्राहकहरुलाई अन्तर्राष्ट्रिय कल सुविधा प्रदान गर्दै आएको थियो ।

सन् २०१६ देखि अप्रिल २०२१ सम्ममा एनसेलले अन्तर्राष्ट्रिय कल सेवामा अव्यावहारिक नोक्सानी व्यहोरेको छ । विगत पाँच वर्षमा एनसेलले अन्तर्राष्ट्रिय कलबाट हुने आयमा २७ दशमलव पाँच करोडभन्दा बढी नोक्सान भोगेको छ । केही युरोपियन गन्तव्यहरुमा कल गर्दा लाग्ने शुल्क अझै पनि स्वीकृत दरभन्दा निकै बढी रहेकोले हाल यी देशहरुका लागि गरिएको शुल्क परिमार्जनपश्चात् पनि ग्राहक सेवा सुनिश्चित गर्ने क्रममा एनसेल अझै पनि घाटामै रहने कम्पनीको भनाइ छ । प्राधिकरणबाट स्वीकृत कल शुल्क प्रतिमिनेट ३० रुपैयाँ रहे पनि कल गरिने गन्तव्य देशअनुसार कुनै—कुनै युरोपियन गन्तव्यहरुको कल शुल्क करबाहेक एक हजार एक सय ७० रुपैयाँ ३० पैसासम्म रहेको छ ।

स्थापनाकालदेखि गत आर्थिक वर्ष २०७६/०७७ सम्ममा एनसेलले कर तथा शुल्कहरुबापत दुई सय ४२ अर्बभन्दा बढी राजस्व सरकारलाई बुझाएको जनाएको छ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी पहलअन्तर्गत हालसम्म एक अर्ब २७ करोडभन्दा बढी रकम खर्च गरिसकेको छ । देशको आर्थिक सामाजिक विकासमा योगदान पु-याउँदै स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको पनि कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया