Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको जीएसएम मोबाइल सिस्टममा देखिएको समस्या समाधान

टेलिकमको जीएसएम मोबाइल सिस्टममा देखिएको समस्या समाधान


काठमाडौँ ।
नेपाल टेलिकमको जीएसएम मोबाइल सिस्टममा देखिएको समस्या समाधान भएको छ । टेलिकमको जीएसएम मोबाइल सेवामा बुधबार बिहान ६ बजेदेखि अप्रत्याशित रुपमा समस्या आएको थियो । उक्त समस्याका कारण केही समय सेवा अवरुद्ध भएको र जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि कम्पनीले तत्काल स्रोत साधन परिचालन गरी बिहान ८ः१५ बजे सिस्टमलाई सुचारु गर्न सफल भएको कम्पनीले जनाएको छ ।

सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको समानान्तर रुपमा सो समस्या निराकरण गर्ने कार्यलाई प्राथमिकतामा राखी समस्याको विश्लेषण गर्दै काम अगाडि बढाइएकाले करिब दुई घण्टामै सेवा सुचारु गर्न सकिएको कम्पनीको भनाइ छ । सो अवधिमा जीएसएम मोबाइलको टुजी, थ्री जी र फोरजी प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको भोल्ट (भ्वाइस ओभर एलटीई)मा समस्या नआएको र जीएसएम मोबाइलका केही फिचर फोन (साना नन–स्मार्ट फोन) मा समस्या नदेखिएको जानकारी प्राप्त भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मुख्यतः स्मार्टफोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।

कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्सका कार्यहरु गर्ने गरिएको भए पनि समस्या आइहालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न कम्पनी सधैँ तत्पर रहिरहने कम्पनीले विश्वास समेत दिलाएको छ । कुनै पनि उपकरण र प्रविधिमा यदाकदा समस्या आउनसक्ने वास्तविकता नकार्न नसकिने भए पनि यस अप्रत्याशित समस्याका कारण कम्पनीको सेवामा आएको अवरोधबाट ग्राहकवर्गलाई पर्न गएको असुविधाप्रति कम्पनीले माफी समेत मागेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया