Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘एनआरएन द सिंगर’को डिजिटल अडिसन सुरु

‘एनआरएन द सिंगर’को डिजिटल अडिसन सुरु


काठमाडौं । विश्वभरिका नेपालीभाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघले आयोजना गर्नलागेको ‘एनआरएन द सिङ्गर’को डिजिटल अडिसन सुरु भएको छ । आइतबार भर्चुअल माध्यमबाट एक कार्यक्रमको आयोजना गरी संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले प्रतियोगिताको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्द प्रसाद गौतमले यो प्रतियोगिता अन्तर्राष्ट्रियस्तरको हुने बताए । प्रिअडिसनपछि नेपाली टेलिभिजनबाट पनि यो कार्यक्रम प्रसारण हुने बताइएको छ । ‘प्रतियोगिताका केही इपिसोडहरू नेपालमा पनि हुनेछन् । तर त्यसका लागि अवस्था पनि हेर्नुपर्ने हुन्छ। त्यो बेलासम्म महामारीको अवस्था कस्तो हुन्छ, त्यसअनुसार पनि निर्णय हुनेछ । कति अडिसन भर्चुअल गर्ने र कति भौतिक रुपमै गर्ने भन्ने कुरा त्यही अवस्थाअनुसार हुनेछ,’ गौतमले भने ।

उद्घाटनपछि प्रिअडिसन आइतबारदेखि खुला भएको हो । डायस्पोराका नेपालीभाषी अग्रज र अनुजका स्वर प्रतिभाहरू पहिचान गर्ने उद्देश्यले टेलिभीजन रियालिटी शो ‘एनआरएन द सिङ्गर’ सुरू गरेको संघले जनाएको छ । कार्यक्रममा प्रथम पुरस्कार १५ लाख रुपैयाँ, द्वितीय पुरस्कार सात लाख रुपैयाँ र तृतीय पुरस्कार चार लाख रुपैयाँ तोकिएको आयोजकहरुले जनाएका छन् ।

‘एनआरएन द सिङ्गर’ नामको मोबाइल एपमा डाउनलोड गरेर प्रतियोगीले त्यसैमा आफ्नो गीतको भिडियो राख्न सक्नेछन् । भिडियो फाइल र त्यसको लिंकसमेत एपमा राख्न सकिनेछ। यो एपमा कार्यक्रमका बारेमा जानकारी पनि हुनेछ भने प्रतियोगीका लागि भोटिङका लागि पनि यो एप प्रयोग हुनेछ ।

‘खोजी : एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन् । यो कार्यक्रमको सहउत्पादन टेक क्राफ्ट अस्ट्रेलियाले गरिरहेको छ भने सुवि टेक्नोलोजी प्रविधि पार्टनरको रुपमा रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया