Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिर्यातयोग्य वस्तुहरुको ट्रेडमार्क स्वामित्व कायम गर्नुपर्ने

निर्यातयोग्य वस्तुहरुको ट्रेडमार्क स्वामित्व कायम गर्नुपर्ने


काठमाण्डौँ,माघ ८

स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनहरुको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत लघु, घरेलु तथा साना उद्योग विकास कोषले संयुक्त रुपमा मङ्गलबार राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्योगहरुका लागि ट्रेडमार्क तथा बौद्धिक सम्पत्ति संरक्षण’ विषयक एक दिने कार्यशाला गोष्ठीमा महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपालले विश्व व्यापार संगठनको सदस्यता लिएपश्चात् विश्व व्यापार संगठनका सदस्य अन्य मुलुकहरुमा डब्लुटीओको नियम कानुन अन्तरगत रही आफना उत्पादनहरु अन्य सदस्य मुलुकहरुमा निर्यात गर्दै आएको बताए । उनले भने, ‘यस अवस्थामा नेपालमा उत्पादन हुने कतिपय वस्तुहरु अन्य मुलुकहरुमा समेत उत्पादन हुने गर्दछन् ।

यसरी उत्पादित वस्तुहरु मुल रुपमा नेपालबाट उत्पादन सुरु भए पनि अन्य मुलुकहरुले यस्ता वस्तुहरुको प्रतिलिपि उतारगरी उत्पादन गरिदिनाले नेपालको मौलिक, सांस्कृतिक, हस्तकला तथा अन्य वस्तुहरु समेतमा नेपालको हक कायम नभइदिंदा भविश्यमा अन्य मुलुकले यस्ता वस्तुको पेटेन्ट दर्ता गर्नसक्ने र हाम्रा उत्पादनहरुले उल्टै रोयल्टी तिर्नुपर्ने वा यस्ता वस्तु उत्पादन नै गर्न नपाउने अवस्थाको सिर्जना हुन सक्छ ।’नेपालमै उद्गम भएका कतिपय निर्यातयोग्य वस्तुहरुमा हाम्रो स्वामित्व कायम गर्नु अपरिहार्य भएकोमा जोड दिंदै उनले हालसम्म पेटेन्ट अधिकारबारे नेपालका अधिकांश लघु, घरेलु तथा साना उद्यमीलाई बौद्धिक सम्पत्तिको संरक्षणका बारेमा जानकारी समेत नरहेको बताए । उनीहरुलाई ट्रेडमार्क र ब्राण्डसम्बन्धी चेतना जगाउनुपर्ने उनको भनाइ थियो । उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले उद्योगको कुल जीडीपीको छ प्रतिशत योगदान रहेको भन्दै त्यसमध्ये ८० प्रतिशतभन्दा बढी साना तथा घरेलु उद्योगको योगदान रहेको बताए । उनले भने, ‘साना व्यवसायीले उत्पादन गर्छन, दुःख गर्छन, थुप्रै सामानको सिर्जना हुन्छ, सिर्जनामा उनीहरुकै ट्रेडमार्क सुरक्षित हुँदैन ।’ ट्रेडमार्क भनेको उद्योगी व्यवसायीको आफनो सम्पत्ति भएको भन्दै उनले यसको बेलैमा संरक्षण गर्न जरुरी भएको बताए । उनले भने, ‘औद्योगिक सामानहरु उत्पादन हुन्छन् तर तिनको पेटेन्ट दर्ता अत्यन्तै कम हुनुको पछाडि सचेतनाको अभाव र समयको अभावले हुन सक्छ । तर यो विषयमा व्यवसायी बेलैमा सचेत हुन जरुरी छ ।’

कार्यक्रममा उद्योग विभागका कानुन उपसचिव टंक बहादुर महतले ट्रेडमार्कको अवधारणा, महत्व र दर्ता प्रक्रिया, वस्तु डिजाइन तथा बौद्धिक सम्पत्तिको संरक्षणको अवधारणा र प्रभावकारीताका साथै वस्तु डिजाइन तथा बौद्धिक सम्पत्तिका अन्तर्राष्ट्रिय अभ्यास सम्बन्धी प्रस्तुति दिएका थिए । कार्यक्रममा विज्ञ राजकुमार सुवालले ट्रेडमार्क र बौद्धिक सम्पत्तिको संरक्षणका विषयमा प्रस्तुति दिए । एकदिने कार्यशाला गोष्ठीमा लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनमा लागेका करिब एक सयजना व्यवसायीहरुको सहभागिता रहेकको कार्यक्रमका सहजकर्ता रुपक सापकोटाले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग


तपाईको प्रतिक्रिया