Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयति एयरलाइन्सद्वारा कल सेन्टरको शुभारम्भ

यति एयरलाइन्सद्वारा कल सेन्टरको शुभारम्भ


काठमाडौँ । आफ्नो स्थापनाको २३ वर्ष पूरा गरेको अवसर पारेर वायुसेवा कम्पनी यती एयरलाइन्सले कल सेन्टरको औपचारिक शुभारम्भ गरेको छ ।  एअरलाइन्सले ग्राहकवर्गलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टर बढाउँदै कल सेन्टरको औपचारिक शुभारम्भ गरेको हो । कल सेन्टरको शुभारम्भसँगै अब ०१–५९७००७४ मा फोन गरी उडानसम्बन्धी जानकारी लिन सकिने र उडानसम्बन्धी जिज्ञासा अनुत्तरित नरहने यती एअरलाइन्सले जनाएको छ ।

एयरलाइन्सका प्रवक्ता एवं हवाइ सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले उपयुक्त भाडा दर, झन्झटरहित यात्रा, गुणस्तरीय सेवा र यात्रुलाई पहिलो प्राथमिकतामा राखी उडान गरेको कारण यती एयरलाइन्स स्वदेशी तथा विदेशी यात्रुको रोजाइमा परेको दाबी गरे । बिरामी, अपाङ्गता वा फरक क्षमता भएका यात्रु, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखेर सेवा दिएको उनको भनाइ छ ।

यस्तै कम्पनीले आफ्नो स्थापनाको दिवसको अवसर पारेर जहाज थपेर नयाँ गन्तव्य विस्तार गर्ने रणनीतिका साथ अघि बढेको छ । सन् १९९८ सेप्टेम्बर २१ बाट पहिलो उडान सुरु गरेको यतीले सोही दिनलाई वार्षिक उत्सवको रुपमा मनाउने गरेको छ । २४ वर्ष प्रवेशसँगै यतीले जेटस्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटीआर युगमा प्रवेश गरेको छ । हालै यतीले आफूसँग रहेको पाँचवटा विमान बिक्री गरेको छ । नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यतीले आफ्नो भगिनी संस्था तारा एअरसहित सेवा प्रदान गर्दै आएको कम्पनीले दाबी गरेको छ । स्थापनाको सुरुआती दिनमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधि, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले जानकारी दिए । यसैगरी यतीले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न निकायको सहकार्यमा सगरमाथा सफाइ अभियानमार्फत सगरमाथालगायत खुम्बु क्षेत्रबाट हालसम्म करिब सय टन फोहोर ल्याइसकेको छ । यस्तै, विभिन्न जिल्लामा दुई लाख ७२ हजार छ सयवटा बिरुवा वृक्षरोपण गरिसकेको छ । हवाइ र पर्यटनमा मात्र नभई क्रिकेट, फुटबल र गल्फलगायतका खेलकुदका क्षेत्रमा पनि योगदान रहेको जनाइएको छ ।

आगामी वर्षमा वायुयानको संख्या थपेर नयाँ गन्तव्यमा उडान विस्तार तथा बजार हिस्सा बढाउने कम्पनीको योजना छ । थप रोजगारी सिर्जना गर्ने, चार्टर उडानमार्फत अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार गर्ने, नयाँ प्रविधि प्रयोगमा ल्याई सेवा परिष्कृत गर्दै थप गुणस्तरीय बनाउने र यात्रुलाई प्रत्यक्ष लाभ हुने सहुलियतका कार्यक्रम ल्याउने तथा सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने कम्पनीले जनाएको छ । यतीले हाल पाँचवटा एटीआर विमानमार्फत नेपालगञ्ज, भद्रपुर, जनकपुर, पोखरा, सिमरा, भैरहवा र विराटनगरमा उडान भर्दै आएको छ भने भगिनी संस्था तारा एअरको चारवटा ‘ट्विन–अटर’ विमानमार्फत दुर्गम हिमाली तथा पहाडी भाग लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुराजस्ता विमानस्थलमा सेवा दिँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया