Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपर्यटन मजदुरको सुविधा कटौती नगर्न आग्रह

पर्यटन मजदुरको सुविधा कटौती नगर्न आग्रह


काठमाडौं, फागुन २७
कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा असर पुग्ने भएकाले कर्मचारी कटौती तथा खर्चमा मितव्ययिता अपनाइने व्यवसायीले जनाइरहेका बेला मजदुर सङ्गठनले भने पर्यटन श्रमिकको रोजगारी कटौती नगर्न आग्रह गरेका छन् । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले एक विज्ञप्ति जारी गर्दै छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको कारण देखाउँदै पर्यटन श्रमिकको कटौती गर्ने केही कम्पनीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोरोनाका कारण दैनिक जीवनयापनमा कठिनाइ उत्पन्न भइरहेका बेला एयरलाइन्सलगायत पर्यटन श्रमिकको रोजीरोटी खोस्ने काम कोही कसैले नगर्न संगठनले विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।

कोरोनाको प्रभावले आन्तरिक उडानमा असर परेको र उक्त क्षेत्रमा करिब चार अर्बको क्षति पुग्ने भन्दै वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायु सेवा सञ्चालक संघले यही फागुन २३ गते विज्ञप्ति निकालेर कर्मचारीको सुविधा कटौती तथा खर्च व्यवस्थापन गर्ने निर्णय गरेको थियो । वायुसेवा सञ्चालकले सरकारसँग सहुलियत, बैंकमा तिर्नुपर्ने ब्याजमा पुनर्कर्जाको सुविधा दिएर भुक्तानीको व्यवस्था मिलाउन र बैंक तथा वित्तीय संस्थाबाट अमेरिकी डलर र नेपाली रुपैयाँमा लिएको ऋणको सावाँलाई पुनर्तालिकीकरण तथा पुनः संरचनाको व्यवस्था गर्न पनि माग गरेका थिए ।

मजदुर सङ्गठनले कर्मचारी कटौतीदेखि सेवा सुविधा कटौती गर्ने कार्यलाई सचेत गराउँदै लेखेको छ, ‘एयरलाइन्सदेखि अन्य क्षेत्रमा कर्मचारी कटौती, पारिश्रमिक कटौती, सेवा सुविधामा कटौती, बेतलबी विदा दिनेसम्मका विषय विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भइरहेका छन्, सतर्कता अपनाउनुभन्दा पनि हावा फिँजाएर पर्यटन क्षेत्रका ट्रेकिङ, ट्राभल्स, एयरलाइन्स, संस्कृतिलगायत अन्य क्षेत्रका संघ संस्थाका श्रमिक कटौती, बेतलबी बिदा, पारिश्रमिक कटौती र अन्य सेवा सुविधा कटौती गर्ने एकतर्फी निर्णय हाम्रो सङ्गठनलाई मान्य हुनेछैन ।’

विश्वव्यापी संकटका बेला नेपाली श्रमिकको दैनिकीलाई अझै संकटमा धकेल्ने प्रयास गरी कोही कसैले श्रमिकको रोजीरोटीमाथि खेलबाड गरेको खण्डमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्बन्धित निकायले जिम्मेवारी लिनुपर्ने सङ्गठनले सचेत गराएको छ । साथै, सङ्गठनले कोरोनाका कारण पर्यटन क्षेत्रमा पुग्न गएको क्षतिप्रति पनि दुःख व्यक्त गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको आइतबारसम्मको तथ्यांकअनुसार एक महिनाअघि छिमेकी मुलुक चीनको वुहान सहरमा देखा परेको कोरोना अहिले विश्वका १०१ मुलुकमा फैलिसकेको छ । विश्वभर एक लाख पाँच हजार ८३६ मा कोरोनाका संक्रमित छन् भने यसबाट तीन हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको बताइएको छ ।

 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया