Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्भेस्टमेन्ट मेगा बैंक युरोमनी अवार्ड फर एक्सिलेन्सबाट सम्मानित

इन्भेस्टमेन्ट मेगा बैंक युरोमनी अवार्ड फर एक्सिलेन्सबाट सम्मानित


काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि युरोमनी अवार्ड फर एक्सिलेन्स–२०२३ बाट सम्मानित भएको छ । युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो र एनआईएमबीले यस प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो तेस्रो पटक रहेको कम्पनीले जनाएको छ । यसअघि सन् २०१८ र २०२१ मा गरी दुईपटक यो अवार्ड पाइसकेको बैंकले जनाएको छ । वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण एनआईएमबीलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको बैंकले जनाएको छ ।

युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रममार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष एनआईएमबीलाई सम्मानित गर्नुको अर्को कारण रहेको उल्लेख गरेको छ । चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैंयाँ रहेको एनआईएमबीको सेयरधनी कोष ५९ अर्ब ९५ करोड रुपैयाँको रहेको छ । यो रकम नेपालको वाणिज्य बैंकमध्येकै सबैभन्दा उच्च रहेको बताइएको छ ।

एनआईएमबीले दुई सय ९६ वटा शाखा, दुई सय ८० वटा एटीएम, ६२ वटा एक्सटेन्सन काउन्टर र एक सय सातवटा शाखारहित बैंकिङ काउन्टरबाट आफ्ना ३० लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । उत्कृष्ट सेवाका लागि सातवटा बैंक अफ दि एयर अवार्ड प्राप्त गरेको एनआईएमबी आईएसओ ९००१ः२०१५ प्रमाणित र आईक्रा नेपाल (इन्टरनेसनल क्रेडिट रेटिङ एजेन्सी नेपाल) बाट ‘ए’ रेटिङ प्राप्त गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया