Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआउँदो दुई वर्ष मूल्यवृद्धि उच्च रहने विश्व बैंकको प्रक्षेपण

आउँदो दुई वर्ष मूल्यवृद्धि उच्च रहने विश्व बैंकको प्रक्षेपण


काठमाडौं । विश्व बैंकले नेपालले आउँदो दुई वर्ष चर्को मूल्यवृद्धि ब्यहोर्नुपर्ने प्रक्षेपण गरेको छ । सन् २०२४मा मूल्यवृद्धि (मुद्रास्फीति) साढे सात प्रतिशत र सन् २०२५मा छ दशमलव चार प्रतिशत रहने प्रक्षेपण गरेको हो । विश्व बैंकले साउथ एशिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै चालू वर्ष सन् २०२३ मा मूल्यवृद्धि सात दशमलव आठ प्रतिशत हुने उल्लेख गरेको छ । विश्व बैंकले छ–छ महिनामा यस्तो अपडेट सार्वजनिक गर्दै आएको छ ।

सन् २०२० मा कोभिड–१९ महामारीका कारण नेपालको आर्थिक वृद्धिदर नकारात्मक गएको थियो । त्यसयताको सबैभन्दा खराब अवस्था नेपालले यस वर्ष भोगेको छ । नेपालको यस वर्षको आर्थिक वृद्धिदर पछिल्लो एक दशकयताको औसत आर्थिक वृद्धिदरभन्दा न्यून हुने प्रक्षेपण विश्व बैंकको छ ।

नेपालले अवलम्बन गरेको कसिलो मौद्रिक नीति र आयातमा गरिएको कडाइका कारण आर्थिक वृद्धिदरमा सङ्कुचन आएकोे पनि विश्व बैंकले औँल्याएकोे छ । यद्यपी विद्युत् उत्पादनका क्षेत्रमा राम्रो प्रगति देखिएकाले त्यसको सकारात्मक प्रभाव औद्योगिक क्षेत्रमा परेको पनि विश्व बैंकको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । कर्जाको माग बढ्न नसक्नु र समग्र बजार माग खुम्चिँदा निजी क्षेत्रको लगानी बढ्न नसकेको विश्व बैंकको भनाई छ । पशु चौपायामा देखिएको लम्पी स्कीन रोग र सिँचाइ अभावका कारण धान उत्पादनमा कमी आउँदा समग्र कृषि क्षेत्रको वृद्धिदरमा सङ्कुचन आउनसक्ने अनुमान गरेको छ ।

विश्व बैंकले सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर एक दशमलव नौ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरेको छ । नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको छ । नेपालले सन् २०२४ मा तीन दशमलव नौ प्रतिशत र सन् २०२५ मा पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले मुद्रास्फीतिको चाप रहेपनि आगामी वर्षहरुमा उच्च आर्थिक वृद्धिको सम्भावना रहेको उल्लेख गरेको छ ।

विश्व बैंकले चालू खाता घाटा र मूल्यवृद्धिलाई नै अर्थतन्त्रको प्रमुख चुनौति मानेको छ । यस वर्ष जीडीपीको तुलनामा चालू खाता घाटा छ दशमलव एक प्रतिशत हाराहारी पुग्ने र वार्षिक औसत मुद्रास्फीति सात दशमलव आठ प्रतिशत रहने अनुमान गरिएको छ । सन् २०२५ सम्ममा नेपालको चालू खाता घाटा जीडीपीको तुलनामा तीन दशमलव सात प्रतिशत पुग्ने अनुमान गरेको छ । त्यस्तै नेपालको जीडीपी अनुपातमा बढ्दो सार्वजनिक ऋण र त्यसको साँवाब्याज भुक्तानी गर्दा बजेट खर्चमा देखिने दायित्वको अंश बढ्ने देखिएको पनि उल्लेख गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया