Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारतरलता सहज भएपछि घट्दै ब्याजदर

तरलता सहज भएपछि घट्दै ब्याजदर


काठमाडौं । तरलता सहज भएपछि ब्याजदर घट्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय अल्पकालीन ब्याजदरहरू घट्दै जाँदा दीर्घकालीन ब्याजदरहरू पनि घट्ने प्रवृत्तिमा छन् ।

२०७९ असोजमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १० दशमलव १४ प्रतिशत थियो । २०८० असोजमा यस्तो ब्याजदर घटेर चार दशमलव ९४ प्रतिशतमा झरेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीच एक–आपसमा अल्पकालीन अवधिको लागि हुने कारोबार अर्थात् अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८० असोजमा दुई दशमलव २६ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ब्याजदर आठ दशमलव ५१ प्रतिशत थियो । त्यसैगरी, २०८० असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर नौ दशमलव ९४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ब्याजदर १० दशमलव ३४ प्रतिशत थियो ।

तरलता स्थिति सहज भएसँगै बैंक तथा वित्तीय संस्थाहरूबीच हुने अन्तरबैंक कारोबारको आकार पनि बढेको छ । चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८ दशमकलव ६७ प्रतिशतले बढेर १४ खर्ब ९४ अर्ब करोड रूपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले नौ खर्ब ४१ अर्ब ६१ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए । वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव आठ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा छ दशमलव चार प्रतिशतले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०८० असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४ दशमलव नौ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा आठ दशमलव दुई प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धि मौद्रिक नीतिमा प्रक्षेपण गरिएभन्दा न्यून छ ।

निक्षेपको वृद्धि सन्तोषजनक रहनुको साथै ब्याजदर घट्दो क्रममा रहेकोले चालू आर्थिक वर्षको अन्त्यसम्ममा कर्जा विस्तारमा सुधार हुने अपेक्षा गरिएको छ । चालू आर्थिक वर्षको पछिल्लो तीन महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधामार्फत एक अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत दुई खर्ब ३८ अर्ब २९ करोड गरी कुल दुई खर्ब ३९ अर्ब ४९ करोड तरलता उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत २१ खर्ब २२ अर्ब ७३ करोड रूपैयाँबराबरको तरलता सुविधा उपयोग गरेको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकले खुला बजार कारोबारका विभिन्न उपकरणमार्फत दुई खर्ब ३२ अर्ब ३६ करोड तरलता प्रवाह गरेको थियो । तरलताको स्थिति सहज हुँदै गएकोले बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय भने केन्द्रीय बैंकबाट तरलता उपयोग गरेका छैनन् ।
बैंकहरूले घटाउन थाले ब्याजदर

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नीतिगत दरहरू घटाएपछि बैंकहरूले पनि ब्याजदर घटाउन थालेका छन् । केही बैंकले ब्याजदर घटाइसकेका छन् । राष्ट्र बैंकले बैंकदर सात दशमलव पाँच प्रतिशतबाट सात प्रतिशत कायम गरेको छ । यस्तै नीतिगत दरलाई छ दशमलव पाँच प्रतिशतबाट पाँच दशमलव पाँच प्रतिशतमा र निक्षेप संकलन बोलकबोल दरलाई चार दशमलव पाँच प्रतिशतबाट तीन प्रतिशतमा झारेको छ । यही कारण बैंकहरूले ब्याजदर घटाउन थालेका हुन् । मासिकरूपमा ब्याजदर परिवर्तन गर्दै आएका बैंकहरूले केन्द्रीय बैंकबाट बैंकदर र नीतिगत दरहरू परिवर्तन भएमा तत्काल ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्थाअनुसार पुस नलाग्दै ब्याजदर घटाएका हुन् ।

मौद्रिक नीतिको समीक्षापछि अहिलेसम्म तीनवटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । कुमारी बैंक, एनआईसी एसिया र एनएमबी बैंकले ब्याजदर घटाएर सार्वजनिक गरेका हुन् । एनआईसी एसियाले पुस १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ भने कुमारीले मंसिर २४ र एनएमबी बैंकले २५ गतेदेखि नयाँ ब्याजदर लागू गरेका छन् ।

एनआईसी एसियाले मंसिरमा मुद्दती निक्षेपमा आठ दशमलव ९७ प्रतिशत ब्याज दिएकामा पुसमा घटाएर अधिकतम आठ दशमलव ६७ प्रतिशत दिने भएको छ । कुमारी बैंकले पनि अधिकतम नौ दशमलव ६१ प्रतिशत ब्याजदर तोकेको छ । गत शुक्रबारसम्म कुमारी बैंकले १० दशमलव एक प्रतिशत ब्याज दिँदै आएको थियो । एनएमबी बैंकले पनि यसअघि साढे १० प्रतिशत ब्याज दिएकामा अब नौ प्रतिशत तोकेको छ ।

बैंकहरूमा निक्षेप थुप्रिदै गएपछि राष्ट्र बैंकले बैंक दर र नीतिगत दर घटाएर बैंक तथा वित्तीय संस्थालाई पनि ब्याजदर घटाउन प्रोत्साहन गरेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव ४९ प्रतिशत छ । यो आधारमा बैंकहरूसँग पाँच खर्ब हाराहारी लगानीयोग्य रकम छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया