Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयउद्योग बन्द हुँदैछन्, सरकार सचेत बनोेस्

उद्योग बन्द हुँदैछन्, सरकार सचेत बनोेस्


काठमाडौं । देश झन्झन् औद्यौगिकीकरणतर्फ लाग्नुपर्नेमा त्यसको उल्टो रूप देखिँदैछ । उद्योगहरू थपिएनन् भन्ने त छँदैछ भइरहेका उद्योग पनि धमाधम बन्दहुँदै गइरहेका विवरणहरू आउन थालेका छन् । उद्योगमा वैदेशिक लगानी घटिरहेको छ । चालिस अर्बको प्रतिबद्धता जनाइएको ठाउँमा सात÷आठ अर्बमात्रै लगानी भएको स्थिति गएको आर्थिक वर्षको यथार्थ बन्यो । आउँदो वर्ष लगानी बढ्ला भन्ने अवस्था पनि छैन । उद्योगमा लगानी बढ्नका लागि सरकारले लगानीका लागि सहज बनाउने कानुन र सोअनुसारको व्यवहार पनि आवश्यक पर्छ तर सम्बन्धित क्षेत्रका व्यक्तिहरूका अनुसार त्यस्तो वातावरण बनाउन सकिएको छैन । वैदेशिक लगानीको हालत यस्तो हुँदाहुँदैका समयमा स्वदेशी लगानी पनि थपिएको अवस्था छैन । खासगरी देशलाई आत्मर्निभरतातर्फ उन्मुख गराउने उद्योगहरू थपिएका छैनन् भने चलिरहेका उद्योग पनि बन्द हुने क्रममा छन् । यसतर्फ राज्यको के धारणा हो भन्ने आउन सकेको छैन ।

पछिल्लो हप्ता चलिरहेका उद्योग पनि कसरी बन्द हुँदैछन् भन्ने स्थानीय तहबाट एउटा रिपोर्ट आएको छ । पश्चिमको ओद्योगिक क्षेत्र भनी चिनिने रुपन्देहीमा गएको एकवर्षमा मात्रै २१७ उद्योग बन्द भएछन् । अपेक्षा हो, यति संख्याका उद्योग थपिनुपर्ने थियो तर भयो उल्टो । यी संख्याका उद्योगले उक्त क्षेत्रमा १२ देखि १५ हजारको दरले रोजगारी दिइरहेका थिए । यी उद्योग बन्द भएपछि स्वाभाविक छ, यो संख्या बेरोजगारको संख्यामा दर्ता हुन गयो । यसको अर्को दुःखद् पक्ष के हो भने यी उद्योग किन बन्द भए भन्ने सरकारले खोजीनीति समेत गरेको पाइएन । रिपोर्टमा यो एउटा जिल्लाको भए पनि समग्रमा यसले देशकै चित्र देखाउँछ । उल्लेखित संख्याका उद्योग बन्द हुनेमा उत्पादनमूलक उद्योगमा ८४, कृषि तथा वनजन्य उद्योगमा १९, सेवामूलक उद्योग ६३ र पर्यटन उद्योगमा ५१ रहेका विवरण आएका छन् । यो ठाउँमा सबैभन्दा बढी बन्द हुने उद्योगमा उत्पादनमूलक उद्योगको संख्या बढी देखियो । एउटा जिल्लाको एउटा क्षेत्रमा चलिरहेकामध्ये सयको हाराहारीका उत्पादनमूलक उद्योग बन्द हुनु भनेको सामान्य कुरा होइन । यसलाई सरकारले गम्भीरतापूर्वक लिएर तिनमा के–कस्ता समस्या आइपरे भन्ने हेरेर तिनलाई बन्द हुनबाट रोक्नेतर्फ कदम चाल्नुपर्ने थियो । यसमा उद्योग बन्द भएको मात्र कुरा होइन मान्छे बेरोजगार भएको विषय पनि जोडिन्छ । यो ठाउँमा उद्योगपति आफैँ पनि बेरोजगार भएको अवस्था हो । तर सरकारले कतै चासो समेत नदेखाएको गुनासो पाइयो ।

यी उद्योग बन्द हुनुको कारणमा मुख्यतः लोडसेडिङ, बढ्दो आर्थिक मन्दी, बैंकको चर्को ब्याजदर आदि छन् । रुपन्देही उद्योग संघका अध्यक्षको दुखेसो छ, औद्योगिक क्षेत्रको रूपमा चिनिएको रुपन्देहीमा एक वर्षमै दुई सयभन्दा धेरै उद्योग बन्द हुँदा यसले यहाँका उद्योगीहरूको अवस्था कता जाँदैछ भन्ने संकेत गर्छ । पहिलो कोभिड महामारी, त्यसपछि बैंकको ब्याजदर, आयात निर्यातमा केही नीतिगत समस्याले गर्दा उद्योगहरू चरम संकटमा परिरहेका छन् । यसले के बुझाउँछ भने अर्काे वर्ष बन्द हुनेको संख्या योभन्दा झन् धेरै हुनेछ । आज पश्चिमको अवस्था यस्तो देखियो भने भोलि पूर्वमा पनि यहीक्रम दोहोरिन सक्छ । यो दृश्यले सरकारको औद्योगिक नीति सफल हो कि असफल सरकारले नै जवाफ देओस् । एकातिर व्यापारघाटा बढ्दै जाने र अर्कातिर उत्पादनमूलक उद्योग बन्द हुँदै जाने हो भने त्यसलाई सामान्य अवस्था भन्न मिल्दैन ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया