Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयटिकटकबारे प्रधानमन्त्रीको हास्यास्पद दाबी

टिकटकबारे प्रधानमन्त्रीको हास्यास्पद दाबी


काठमाडौं । एउटा सामाजिक सञ्जाल टिकटकभित्रको विवादित वस्तु होइन त्यसमाथि नै प्रतिबन्ध लगाएको भोलिपल्ट प्रधानमन्त्रीबाट जस्तोखाले प्रष्टीकरण आयो त्यो आफैंमा अनौँठो थियो । त्यति मात्रै होइन प्रधानमन्त्रीकै मुखबाट जे भनियो त्यसले यो राज्य आफैँ कसरी चलिरहेको छ वा रहेछ भन्ने बुझाउँछ । वास्तवमा सरकारले धेरै काम गर्न खोजेको तर यो टिकटक नाम गरेको एउटा सामाजिक सञ्जालले गर्न नदिएको, राज्यमा भएजति विकृति सबै यसले नै थुपारेको, यो बन्द गर्नको लागि अभूतपूर्व राष्ट्रिय सहमति जुटेको, यसलाई बन्द गर्दा कसैले विमति नजनाएको, धेरथोर विमति जनाए पनि पछि आफैँ कन्भिन्स हुँदै जाने अवस्था रहेको आदिआदि भनेर उनले यो सञ्जाल बन्द गर्नुपर्नाको कारण सुनाए । यसले पनि सरकारको यो काम स्वाभाविक प्रकारको थिएन कि भन्ने आमतहमा प्रश्न खडा गरेको हुन सक्छ । नागरिक तहको आलोचना लोकतन्त्रको सुन्दर पक्ष मानिन्छ । तर यो प्रतिबन्दका बारेमा प्रधानमन्त्रीकै भनाइले जे बुझाउन खोज्यो त्यसले यतिबेलाको शासन र त्यसका सहयात्रीहरू खासगरी भुइँतहका मान्छेहरूबाट आएका कुनै पनि प्रतिक्रिया पटक्कै सुन्न चाहँदैनन् भन्ने बोध गराउँछ ।

ठूलो संख्याका नागरिकहरूले आफ्नो अभिव्यक्तिको माध्यम मानेको यो सञ्जालमाथि प्रतिबन्ध लगाउने दिनजस्तो रोजियो, यतिबेला त्यो पनि आलोचनामा परेको छ । तिहारको सार्वजनिक बिदा प्रारम्भ भएको र त्यो सकिन पूरै चारदिन बाँकी रहँदा सरकारको यस्तो निर्णय आयो । यो २७ कात्तिकको कुरा हो । २८ गते नेपाल सम्वत् ११४४ को अवसरमा भक्तपुरको ठिमीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यो प्रतिबन्ध सत्तापक्ष, प्रमुख प्रतिपक्ष र सबै दलको सहमतिमा लगाएको हो भनेर जानकारी गराए । उनकै शब्द–समाजमा विकृति, विसंगति, अराजकता फैलाउने र राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्तिलाई के गरी नियन्त्रण गर्ने भन्नेमा देशभित्रका सबै राजनीतिक दल के सत्तापक्ष, के प्रमुख प्रतिपक्ष, के प्रतिपक्ष सबैसँग लामो छलफलपछि सबैभन्दा लोकतान्त्रिक र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने अध्ययन गरेर सामाजिक सद्भाव, पारिवारिक एकतालाई खललबाट बचाउन चालिएको कदम हो,’ प्रचण्डले भनेका छन्, ‘यसमा आ–आफ्ना मत होलान् तर सद्भाव खललबाट रोक्न यो कदम चालिएको । ‘यसमा विमति होलान्, तर विकृति, विसंगति फैलाउने कामलाई रोक्नुपर्छ । नियमन गर्नुपर्नेलाई नियमन गर्नुपर्छ भन्ने मान्यताबाट उत्प्रेरित भएर सबैको सहमतिमा निर्णय गरिएको हो, ‘केही साथीहरूलाई चित्त बुझेको छैन, यसमा छलफल हुँदै जाला । ‘कन्भिन्स’ हुँदै जाने प्रक्रिया होला ।

यतिबेला समाजमा जे–जस्ता विकृति, विसंगति, अराजकता फैलाउने र राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न नदिन काम भइरहेका छन् त्यो यही टिकटकले गरेको हो भन्ने प्रधानमन्त्रीको यस्तो ठहरमा के हामी सहमत हुन सक्तछौँ ? होला माध्यम हातमा परेपछि यसमार्फत आम नागरिकले राज्यसञ्चालकहरूसँग घर बसीबसी केही प्रश्न सोधेका होलान् । ती कसैका लागि प्रिय र कसैका लागि अप्रिय पनि हुन सक्छन् । यतिचाहिँ पक्कै हो ती प्रतिक्रिया राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न नदिने प्रकारका कामचाहिँ होइनन् । यस्तो ठहर सरकार आफैँले मात्रै गरेको हो । सरकारले गरेका क्रियामा नागरिकका प्रतिक्रिया आउनुलाई राज्य सञ्चालनमा नै अवरोध ठानिन्छ भने त्यो लोकतन्त्रमा सुहाउने कुरा होइन ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया