Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसमुदायमा कोरोना प्रवेश र सरकारको तयारी

समुदायमा कोरोना प्रवेश र सरकारको तयारी


कोरोनासँग होसियार रहन भनी आम तहबाट चेतावनी दिइरहेकै बेला सरकारले त्यस्तो चेतावनी दिने समूहसँग १२ दिनको अनसनपछि भर्खर सम्झौता ग¥यो । उसले यस्तो सम्झौता गरकै दिन यता कोरोना समुदायमा प्रवेश गरका संकेतहरु प्रकट भए । पहिले सडक आन्दोलन र त्यसपछि यस्तो अनसन गरिएको थियो । यस्तो आनदोलन सरकारको अवज्ञा गर्न होइन सचेत गराउन थियो । तर तिनलाई धरपकड गर्नेमा लाग्यो सरकार । त्यसकारण पनि संक्रमणको विस्तारमा सरकारको कमजोरी कारण रहेको मान्नुपर्ने अवस्था बन्यो । यो दुःखद पक्ष हो ।

हामीहरु नै देशको प्रमुख विषय भएकोमा यता सरकारको ध्यान भने अन्यत्र मोडिएको छ । त्यसको एउटा उदाहरण हो, अस्वाभाविकरुपले संसद्को अधिवेशन अन्त्य गर्नु । संसद् पनि सरकारलाई सतर्क बनाउने एउटा निकाय हो । यस्तो संकटका बेला त्यो संस्थाको अन्त्य भनेको सरकारको ध्यान अन्यत्रै छ भन्ने सन्देश जानु हो । उता त्यस्तो भैरहँदा यता कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएका विवरणहरु आउन थाले । देशभरि करिब १६ हजार संक्रमितको संख्या भएको अवस्थामा एक हजारको संख्या जोखिमको कुनै सम्पर्कमा नआएको अवस्थाका पाइयो । यो रोग विस्तारको एउटा डरलाग्दो अवस्था हो ।

विश्व स्वास्थ्य संगठनले बताउने गरेको चार चरणमध्ये यो पनि एउटा अर्को चरणमा प्रवेश गरको अवस्था मान्नुपर्छ । विश्व स्वास्थ्य संगठनले कुनै एक व्यक्तिलाई मात्रै संक्रमण भएको छ भने त्यो पहिलो चरण, त्यो व्यक्तिबाट परिवार र सम्पर्कमा आएका अन्य व्यक्तिलाई सरेमा दोस्रो चरण र ‘ट्राभल हिस्ट्री’ नभएको र समुदायको केही भागमा एकै पटक धेरै संख्यामा संक्रमित देखिए तेस्रो चरण प्रवेशको अवस्था मान्नुपर्छ भनेको छ । देशभर महामारीको रूपमा गाउँ–गाउँमा संक्रमण देखिन थालेपछि चौथो चरणमा प्रवेश गरेको अहिलेसम्मको मान्यता हो ।

नेपाल यतिबेला दोस्रो चरण पार गरेर तेस्रो चरणमा प्रवेश गर्न लागेको अवस्था औँल्याइएको छ । यो खतरनाक अवस्था हो । तर सरकार भने नियमित र पहिलो चरणकै अवस्थामा छ जो एक/दुई संख्यामा प्रकट हुने गरेका थिए । संक्रमणको चरण प्रवेशभन्दा पनि खतरा सरकारको यस्तो गति हो । पछिल्ला दिन सरकारले परीक्षण समेत घटाएका समाचारहरु आइरहेका छन् । संक्रमण बढ्दै जाने र परीक्षणको मात्रा घटाउँदै जाने हो भने परिणाम के होला अनुमान गर्न सकिन्छ ।

सरकार पहिले पनि आफ्नो देशमा कोरोना नभएको बताइरहेको थियो । त्यसै कारण मान्छेलाई आफ्नो घर आउन पनि अवरोध गर्न थालेको थियो । ती मान्छेलाई त रोक्न सकिएन तर यतिबेला उनीहरुलाई दोष दिएर पानीमाथिको ओभानो हुन खोजिएको जस्तो देखिँदै छ । अचेल स्वास्थ्यमन्त्री कोरोनाको स्वदेश र विदेशको कनेक्सन बताउनमा नै समय दिइरहेको अवस्थामा प्रकट भैरहेका छन् ।

उनका अनुसार कुल संक्रमितको ६ प्रतिशत समुदायबाट देखिएका भन्ने छ । उनले देखाएको हिसाबले १४ हजार आठ सय ३७ संक्रमित विदेशमै संक्रमित भएर फर्किएका र उनीहरूको सम्पर्कमा आएकाहरू रहेकोे उनको भनाइ छ । अहिलेको खाँचो हो, तत्काल नै बढीभन्दा बढी परीक्षण गरेर लुकेर बसेको संक्रमणलाई उजागर गर्नु । प्रश्न उठ्छ यसमा सरकारको तयारी कस्तो छ ? सबैभन्दा चिन्ताको विषय पनि यही हो । विवरणहरुले नै बताइरहेका छन्, कोरोना महामारीको नियन्त्रण सरकारको मुखले भन्नेभन्दा काममा कुनै प्राथमिकता नै परेको पाइएन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x