Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयखोपमा पनि राजनीति

खोपमा पनि राजनीति


काठमाडौं ।
कोरोना भाइरस संक्रमणविरुद्धको खोपमा पछिल्लो समय बढी राजनीति भइरहेको थियो । सरकार खोपको व्यवस्थापन तत्कालै गरिने भनिरहने, विपक्षी आरोप लगाइरहने र यो वा त्यो बहानामा खोप पाउने अवस्था भने टर्दै जाने हुँदै थियोे । तर एउटा छिमेकी देशबाट ठूलो मात्रामा खोप खरिद हुनलागेको र त्यसलाई लिन त्यता जानै लागिएको अवस्थाले भने पहिलेको अन्योलपूर्ण अवस्थाको अन्त्य भएको बुझाउँछ ।

संसारभर नै खोपको व्यापक माग भइरहेको अवस्थामा तत्कालका लागि नेपालले जे–जति मात्रामा खोप प्राप्त गर्दै छ, यो एक प्रकारको सुखद र सकारात्मक सन्देश नै हो । गएको माघ १४ गतेबाट नेपालमा खोप दिन थालिएको हो । त्यसबेला वैशाखभित्र सबैलाई खोप दिइने भनी बताइएको थियो । त्यसमा केही ढिलो त भयो नै । त्यसका कारण मानवीय क्षति विगतभन्दा बढेको अवस्था थियो । पहिलो मात्राको खोप पाएकामध्ये ठूलै संख्या लामो समयदेखि दोस्रो मात्राको पर्खाइमा थिए । यद्यपि त्यो मात्राको अझै निश्चित हुनसकेको छैन । अर्को कम्पनीको खोपबाट त्यसको क्षतिपूर्ति हुनसक्ने नसक्ने निश्चित नभएको अवस्थामा त्यतातर्फ पनि पहल बढाउन आवश्यक छ ।

चिनियाँ कम्पनीसँगको ‘नन डिस्क्लोजर एग्रिमेन्ट’बाट आउनलागेको यो खोपका सन्दर्भमा धेरै कुराहरु खुल्न बाँकी छन् । तर सरकारले साढे चार अर्बको रकम स्वीकृत गरेको भन्ने सार्वजनिक भएको छ । अहिले खुलाइएको मात्राअनुसार ४० लाख छ जसको ढुवानी केही दिनदेखि नै सुरु हुँदै छ । लागत मूल्य पनि एउटा विषय हुनुपर्छ तर तत्कालको लागि महत्वको विषय हो खोपको उपलब्धता । मूल्यमा नभए पनि वितरणमा भने सरकार पारदर्शी हुन जरुरी छ । अहिले बताइएको मात्रा करिब २० लाखको संख्याको हो । निश्चित मापदण्डअनुसार यो संख्याले खोप पायो भने अनुमान गरिएको तेस्रो लहरको सम्भावना कम हुन्छ नै ।

पछिल्लो समय सत्तानिकटहरुले खोपमा कब्जा जमाएको भन्ने आरोप लागेको थियो । त्यो अवस्था अबको वितरणमा आउन दिनुहुँदैन । यो खोपका बारे प्रवक्ताले जानकारी दिएका जानकारीमा नेपाल सरकारबाट चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको सम्झौताअनुसार २४ असारबाट आपूर्ति सुरु भई तत्पश्चात् साप्ताहिक रूपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको छ । असोजको पहिलो हप्तासम्म ३३ प्रतिशतको संख्याले खोप पाउने भन्ने पनि दाबी गरिएको छ । कम्पनीसँग सम्झौता भएर प्रतिशत तोकिएपछि त्यो निश्चय नै आउँछ भन्ने अपेक्षा हो जसले त्यही प्रकारको सन्देश दिन्छ ।

यही खोपका सन्दर्भमा प्रधानमन्त्रीले आफ्नो दलको बैठकमा एउटा जानकारी गराए । उनका अनुसार यतिबेला विपक्षीले खोप आयातमा भाँजो हालिरहेका छन् । आफ्नो सरकार बनेपछि मात्र खोप दिन उनीहरुले पहल गरिरहेका भन्ने प्रधानमन्त्रीको आरोप सही हो भने यस्ता कुरामा राजनीति नगरौँ भन्नैपर्छ । तर यो आरोपमा पनि राजनीति नै भएजस्तो देखिन्छ जो दुःखद हो ।

यसअघि सरकारले खरिद गरेको खोप ल्याउनसकेको थिएन कारण सरकारकै वरिपरि थियो भन्ने आमबुझाइ रह्यो । रकम तिरिसकेको र पहिलोमात्रा पनि दिइसेको अवस्थामा बाँकी खोप ल्याउन हक नै बन्ने थियो । त्यसको उचित पहल नभएकै हो । अहिले जताबाट होस् खोप आउँदै छ । यसका लागि सरकारले श्रेय लिन्छ भने त्यो कमजोरीको पनि दोष बोक्नुपर्छ । यदि विपक्षीले यस्तो गरेका भए त्यो काम र प्रधानमन्त्रीले आरोपमात्रै लगाएका भए यो काम पनि खोपमा राजनीति गर्न खोजिएको बुझ्नुपर्छ । मान्छेको जीवनमरणसँग जोडिएको विषयमा कसैबाट पनि यस्तो राजनीति नगरौँ !


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x