Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयखोप हराएकोमा भन्दा काल पल्किएकोमा चिन्ता

खोप हराएकोमा भन्दा काल पल्किएकोमा चिन्ता


काठमाडौं । कोरोना महामारी र जताततै खोपको चर्चा चलिरहेका बेला सरकारी भण्डारणबाट नै खोपका लाखौँ मात्रा हराएको भन्ने कुरा यतिबेला चर्चामा छ । यो सामान्य आरोप मात्र नभएर आधिकारिक व्यक्ति पदाधिकारीले आधिकारिक निकायमा दिएको जानकारीले नै पुष्टि गरिरहे । यस्तो हराएको मात्राको संख्या २० देखि ३० लाखसम्मको मात्रा आकलन भयो । जानकार सूत्रहरूले त करिब आधा करोडकै संख्यामा गायब भएको पनि भने । यतिठूलो मात्राको खोप हराउनु भनेको सामान्य कुरा थिएन । यो खोप कि राष्ट्रले खरिद गरेका कि राष्ट्रलाई अनुदान प्राप्त भएको मध्येका हुन् । यी दुईबाहेक खोप आयात हुने कुनै माध्यम छैन । यतिबेलासम्म सरकारीबाहेक खोपको कारोबार अरु कसैले गर्न पाएका छैनन् । त्यस कारण पनि खोपका मात्रा हराएका सन्दर्भ थप रहस्यको बन्दै गएको हो । एक÷दुई मात्राको तलमाथि हुनसक्तछ तर लाखौँको संख्या यसरी गायब हुनु आफैँमा सामन्य होइन । यो खोप हरायो भन्दा पनि काल पल्किएको अवस्था हो ।

यी मात्राका खोप हराएको यस्तो जानकारी स्वास्थ्य सचिवले नै दिएका हुन् । त्यस कारण यसमा कुनै शंका रहने ठाउँ रहेन । गएको संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा खोपको अवस्थाबारे जानकारी गराउँदै सचिवले भने, ‘अहिले समग्र अभिलेखमा २० देखि २४ लाख खोपको हिसाब देखिएको छैन, कतिपयलाई खोप लगाए पनि कार्ड वितरण नगरिँदा विवरण नमिलेको हुन सक्छ,  अहिले तेस्रो डोज लगाउन आउने कतिपयले पहिलो र दोस्रो डोज लगाउँदा कार्ड नै नपाएको पनि बताउने गरेका छन् ।’

सचिवबाट समितिमा जनाइएअनुसार यो दिनसम्म सरकारले खरिद गरेको मात्रा एक करोड २० लाख अनुदानबाट दुई करोड ८३ लाख ८८ हजार आठ सय ४० मात्रा नेपाल आएको हिसाब देखिन्छ । यो भनेको चार करोड तीन लाख ८८ हजार आठ सय ४० मात्रा हो । यसरी हिसाब प्रस्तुत भएको दिनसम्म दुई करोड ८३ लाख २२ हजार आठ खोप लगाइएको भन्ने समितिमा सचिवबाट नै जानकारी गराइको हो । सरकारसँग एक करोड २० लाख ६६ हजार आठ सय ३२ मात्रा मौजुदा हुनुपर्नेमा भण्डारमा करिब ८४ लाख मात्र छ । यो भनेको ३६ लाख ६६ हजार खोप हराएको अवस्था हो । यी मात्रा कुन खोपका हुन् भन्ने खुलाइएको छैन । दुई मात्रा नै दिनुपर्ने भए पनि यसले १८ लाख जनसंख्याले खोप पाएको हुथ्यो । तर यता सचिवले यस्तो मात्रा गायब भएको जानकारी गराइरहँदा उता पूर्वसूचना गरेर खोप लाउन बोलाइएकाहरूलाई खोपको अभावले खालीहात फिर्ता पठाइएका समाचार आइरहे ।

यति हुँदा पनि खोपका ती मात्रा कसरी गायब भए भन्ने छानबिन गर्न आवश्यक ठानिएन । जानकार सूत्रका अनुसार हराएका यी मात्रामध्ये धेरै संख्या ठूलाबडाका सेवामा गयो । पछिल्लो समय बुस्टर डोजको चर्चा हुन थालेपछि यी मात्राहरू हराउन थालेका बताइन्छ । सरकारी मापदण्डमा नपरेका तर ठूलाबडाका नजिक रहेकाहरू प्राय धेरैले यस्तो डोज लगाइसकेको अवस्था छ । भण्डारणबाटै चलाइएका हुँदा ती मात्राका बारेमा कार्यक्रम बनाउनेहरूलाई जानकारी भएन । फलस्वरप मान्छे त बोलाइयो तर खोप दिन सकिएन । यस्तो समयमा खोपजस्तो वस्तु यति ठूलो मात्रामा बेपत्ता हुँदा त्यसको सामान्य छानबिन पनि नहुनु सामान्य कुरा होइन । यो खोप हराएको भन्दा पनि काल पल्किएको कुरा हो । समयमै ध्यान जाओस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x