Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयनिर्वाचनको ‘एजेण्डा’ नै गठबन्धन र सत्ता !

निर्वाचनको ‘एजेण्डा’ नै गठबन्धन र सत्ता !


काठमाडौं । संविधानसभाले घोषणा गरेको संविधानअनुसारको दोस्रो संसद् अर्थात् दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि निर्वाचन हुन अब एक महिनाको मात्रै समय बाँकी छ । २३ असोजमा उम्मेदवारहरूको मनोनयन पनि भइसकेको छ । यसको अर्थ हो, देश चुनावी अभियानमा प्रवेश गरिसकेको छ । चुनाव भन्नासाथ त्यसले देशमा विद्यमान तदर्थवादलाई अन्त्य गरेर जनअपेक्षाअनुसारको नयाँ परिवर्तनको लहर ल्याउने अपेक्षा गरिएको हुन्छ । कम्तीमा निर्वाचनपछि यथास्थिति रहँदैन भन्ने त पक्कै हो । किनभने निर्वाचन भन्नासाथ त्यसले देशमा नयाँ नेतृत्व स्थापित गर्ने हुन्छ । नेतृत्व पुरानो भयो पनि निर्वाचनले त्यसलाई परिमार्जन गरेर सकारात्मकतर्फ नयाँ परिस्थिति निर्माण गर्ने हुन्छ । त्यसैकारण निर्वाचनमा जहिले पनि नयाँ प्रतिबद्धताहरूको खोजी र प्रस्तुति भइरहेका हुन्छन् । अहिलेको निर्वाचन संवैधानिक दृष्टिले परिपक्व अवस्थाको हो । तर यही निर्वाचनचाहिँ कुनै नयाँ कार्यक्रमविना केवल सत्ताका लागि मात्र हुँदै छ भन्ने कुरा विभिन्न पक्षहरूले प्रकट गरिहेका छन्, जो दुःखद हो ।

निर्वाचन भन्नासाथ विशेषगरी प्रमुख राजनीतिक दलहरूको प्रत्यक्ष सहभागिता भन्ने बुझाउँछ र जनतासँगको उनीहरूको प्रत्यक्ष सम्पर्क गराउने समय पनि मानिन्छ । तर यता निर्वाचन हुने दिन जति नजिक आइरहेको छ र प्रक्रिया पनि जुन गतिले अघि बढिरहेको छ, त्यसअनुसार सार्वजनिक भइसक्नुपर्ने सहभागी दलका चुनावी एजेण्डा अर्थात् चुनावी घोषणापत्र भने अझै आएका छैनन् । आउँदो कार्यकाल आफूले मत पाए देशमा के–कस्ता काम सम्पन्न गरिनेछ भन्ने जनतासमक्ष व्यक्त हुने प्रतिबद्धता नै ल्याइएका छैनन् भने जनताले केका आधारमा मत दिने भन्ने प्रश्न उठ्छ नै  । त्यसै पनि दलहरूले विगतमा कबोल गरिएका काम पूरा गरिएनन् भन्ने आरोप लागिरहेका बेला दलहरूले आफ्ना घोषणापत्र जारी नगर्दा चुनावै एजेण्डाविहीन हुने हो कि भन्ने शंका जन्मिन थालेको छ । यद्यपि निर्वाचनमा होमिएका राजनीतिक दलहरूले आफूहरूले आफ्नो घोषणापत्र तयारी गरिसकेको र केही दिनमा नै जारी हुने बताइरहेका छन् । तर विगतमा पनि दलहरूले आफ्ना घोषणापत्रलाई प्राथमिकता दिएका देखिएको थिएन । यतिबेला सत्ता र विपक्षी सबै गठबन्धन आ–आफ्ना प्रकारले चुनावी गठबन्धनमा लागेका हुँदा चुनावमा एजेण्डाभन्दा गठबन्धनलाई प्राथमिकता दिनेगरेका देखिन्छ । यसले चुनावका समयमा उठ्नै पर्ने राष्ट्रिय मुद्दाहरू ओझेलमा पर्ने खतरा बढ्दै गएको बुझाउँछ ।

कुनै पनि आम निर्वाचनमा उम्मेदवारी मनोनयन भएपछि त्यसै दिनदेखि उम्मेदवाहरू जनताको घरदैलोमा लागिसकेका हुन्छन् । तर यी उम्मेमदवारसँग मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्र्ने प्रमुख माध्यम घोषणापत्र नहुँदा यो चुनावमा केका लागि आफूले भोट माग्ने भन्ने उम्मेदवारमै पनि प्रश्न उठ्ने भयो जो स्वाभाविक पनि हो । उम्मेदवारले नै भन्न थालेका छन्, घर–घर पुगेर भोट माग्न थालिसकियो तर मतदाताले घोषणापत्र खोजे भने के भन्ने अन्योल बढिरहेको छ । पार्टी नेतृत्व गठबन्धनतिर मात्रै केन्द्रित हुँदा वैचारिक मुद्दा र विकासका योजनातिर ध्यान पुगेन, निश्चय नै यो दुःखद परिस्थिति हो ।

वास्तवमा नै यो पटकको निर्वाचन मुद्दाविहीन नै छ । सबै दलले सबैसँग गठबन्धन गरेका छन् । सिद्धान्त मिल्ने नमिल्ने सबै मिलेका छन् । उनका बुझाइमा चुनावको परिणाम आफ्ना पक्षमा पार्ने काम गठबन्धनले नै गर्छ । त्यसकारण पनि चुनाव यति नजिक आइसक्दा पनि यो चुनावमा कुन दललाई जिताए देशलाई के हुन्छ भन्ने यो बेलासम्म छलफलको आधारसमेत बन्नसेको छैन । त्यसकारण पनि मुद्दाविहीन निर्वाचन भनेर यसकाबारे टिप्पणी हुनेगरेको हुनुपर्छ । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x