Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोना महामारीको बढ्दो खतरा

कोरोना महामारीको बढ्दो खतरा


काठमाडौं । करिब एक वर्षदेखि प्रकट हुन छाडेको कोरोनाको महामारी फेरि एक पटक चर्चामा आएको छ । यसै हप्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन विज्ञप्तिमार्फत सन्देश दियो । यसको अर्थ नेपालमा फेरि कोरोनाको जोखिम बढेको बुझ्न सकिन्छ । यद्यपि सतर्कता अपनाउन सरकारले अपिल गरेको भन्दैमा कोरोनाको महामारी फैलिन लागेको भन्ने नहुन सक्तछ । तर विगतको उदाहरण छ हेलचेक््रयाइँ भयो भने यसको क्षति धेरै ठूलो हुन जान्छ । नेपालमा बेसार मिसाएको तातोपानी खाएर र अम्बाको पात उमालेर कुल्ला गरेमा कोरोनाले छुँदैन भनी प्रधानमन्त्रीले पटक–पटक सुझाए पनि यही देशमा १२ हजारको संख्यामा यो महामामारीबाट ज्यान गयो । यो ठाउँमा प्रधानमन्त्रीको भनाइ किन उद्धरणमा आयो भने यो महामारीलाई यति उच्चतहबाट नै यसरी हेपिँदा देशले ठूलो मानवीय क्षति व्यहोर्नुपरेको अवस्था बिर्सनयोग्य छैन भन्नका लागि हो । पछिल्लो समय यो महामारी विस्तार नै होला भन्ने सङ्केत देखिएको छैन तर कुनै भूगोलको सीमाबाट नछेकिने यो रोगले नेपाललाई घेरा हाल्न थालेको चाहिँ बुझ्न सकिन्छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पछिल्लो समय छिमेकी देशहरू चीन र भारतमा संक्रमण बढ्न थालेको बताएको छ । स्वाभाविक छ त्यसको प्रभाव नेपालमा पनि पर्छ नै । पहिले पनि त्यस्तै भएको थियो । तीन वर्षअघि २०७६ माघमा नेपालमा पहिलो संक्रमण भेटिएको हो । ती व्यक्ति भर्र्खरै चीनबाट नेपाल आएका थिए । चीनमा त्यो वर्षको पुसमा यस्तो संक्रमण प्रकट भएर फैलिएको थियो जो केही समयमा नै विश्वव्यापी भयो । नेपालमा त्यसबेला कोरोना संक्रमण फैलिनुको कारण भारतसँगको खुला सीमा रहेको भन्ने रिपोर्ट थियो । त्यो सत्य पनि थियो । त्यसबेला नेपालमा कोरोना संक्रमण फैलिनुको कारण भारतसँगको खुला सीमा हो भने त्यो अहिले पनि विद्यमान नै छ । त्यसकारण पनि नेपालमा अबका दिन बढी सतर्कतायुक्त रहनुपर्ने भनिएको हुनुपर्छ । सतर्कता अपनाउँदा संक्रमित हुनबाट जोगिएका देशहरू पनि थुप्रै छन् । त्यसबेला अमेरिकाले यसलाई केही होइन भन्दा ठूलो मानवीय क्षति व्यहोर्नु परेको थियो । मन्त्रालयले जनाएअनुसार ओमिक्रोनको नयाँ सबभेरियन्ट ‘बीएफ–७’ का कारण पछिल्लो सातायता विभिन्न देशहरूमा संक्रमण बढिरहेको छ । नेपालमा भने सो भेरियन्ट भेटिएको छैन । तर यसो भनेर चुपचाप बस्ने अवस्था पनि हुँदैन । स्वास्थ्य मन्त्रालयका अनुसार गएको महिना देशभरिबाट सङ्कलित ४८ वटा नमूनाहरूको जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनको १७ वटा सवभेरियन्ट पुष्टि भयो तर नयाँ प्रजातिको रूपमा देखापरेको ‘बीएफ–७’ भने फेला परेको छैन ।

आवश्यकता सतर्कताको हो । शंका लागेमा तत्कालै परीक्षण गर्ने व्यवस्था मिालाइएमा मात्रै पनि संक्रमणले फैलन पाउँदैन । त्यसकारण परीक्षणलाई सहज र सुलभ बनाइनु पर्छ । हुनसक्छ भने यो निःशुल्क नै गरियोस् । विज्ञहरूका अनुसार यसको परीक्षणमा प्रयोग हुने वस्तुहरू धेरै नै सस्ता भएका छन । सुरुमा सात/आठ हजारसम्म लागेका वस्तु अहिले एक/डेढ सयमा नै उपलब्ध भइरहेको छ । योअनुसार सरकारले मूल्य तोकेर परीक्षणको व्यवस्था गर्ने हो भने नेपाल प्रवेश गरे पनि यो नियन्त्रणमा नै रहनेछ । यो ठाउँमा केवल सरकारको तत्परता आवश्यक पर्छ ।

विगतका अनुभव छन्, एउटा अक्सिजनको व्यवस्था नगरिँदा एउटै अस्पतालमा एकैदिन १५/२० जनाको ज्यान गयो । यता उपचारको बन्दोबस्तीमा व्यापक भ्रष्टाचार भए । यो कुरालाई सरकारले मनन गर्नुपर्छ । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x