Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररुसी राष्ट्रपति पुटिनको कार्यकाल बढ्ने निश्चित

रुसी राष्ट्रपति पुटिनको कार्यकाल बढ्ने निश्चित


मस्को, असार १९
रुसी राष्ट्रपति भ्लादिभिर पुटिनलाई अर्को कार्यकाल राष्ट्रपतिको उम्मेदवार हुने गरी मार्गप्रशस्त गर्न संवैधानिक सुधारसम्बन्धी जनमत संग्रहमा भारी बहुमत प्राप्त भएको छ । रुसी केन्द्रीय निर्वाचन आयोगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गर्दै संवैधानिक सुधारको पक्षमा ७७ दशमलब ९२ प्रतिशत मत प्राप्त भएको जनाएको छ । आयोगका अनुसार कुल मतदातामध्ये करिब ६५ प्रतिशतले मतदानमा भाग लिएका थिए ।

रुसी राष्ट्रपति पुटिनले संवैधानिक सुधारसम्बन्धी प्रस्तावमाथि जनताको अभिमत बुझ्न जनमत संग्रहका लागि आह्वान गरेका थिए । जसमा राष्ट्रपतिको कार्यकाल समेत अन्य केही संवैधानिक सुधारका व्यवस्थाहरु रहेका थिए । उनको राष्ट्रपतिको वर्तमान कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदै छ । पछिल्लो जनमत संग्रहले पुटिनलाई अरु दुई कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार हुन मार्गप्रशस्त गरेको छ ।

यस्तै संविधान संशोधन प्याकेजमा राष्ट्रपति र संसदको अधिकार क्षेत्रलाई व्यापक बनाउने प्रस्ताव पनि अनुमोदित भएको छ । राष्ट्रपतिले रुसमा समलिंगी विवाहमाथि प्रतिबन्ध लगाउन सक्ने तथा मजदुरको न्यूनतम ज्याला एवं निवृत्तीभरणको प्रत्याभूति गर्न पाउने व्यवस्थालाई नयाँ जनमत संग्रहले अनुमोदन गरेको छ ।

रुसका दुवै सदनले यसअघि नै संविधान संशोधनसम्बन्धी प्रस्तावलाई स्वीकृत गरिसकेका छन् तर राष्ट्रपति पुटिनले संविधान संशोधनलाई जनमत संग्रहमार्फत अनुमोदन गराउन चाहेको बताएका थिए । रुसमा राष्ट्रपति पुटिनका प्रखर आलोचक अलेक्सी नाभाल्नीले जनमत संग्रहको मतपरिणामप्रति आश्वस्त हुन नसकिने बताए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया