Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएसियाली अर्थतन्त्रमा छ दशकयताकै संकुचन

एसियाली अर्थतन्त्रमा छ दशकयताकै संकुचन


मनिला (फिलिपिन्स), भदौ ३१
एसिया–प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर छ दशकयता पहिलोपटक ऋणात्मक हुने एसियाली विकास बैंकले अनुमान प्रक्षेपण गरेको छ। बैंकले एसियाली विकास अपडेट सार्वजनिक गर्दै सदस्य देशको आर्थिक वृद्धिदरको अनुमानित आँकडा प्रस्तुत गरेको हो ।

नयाँ तथ्यांकअनुसार यो वर्ष विकासोन्मुख एसियाली अर्थतन्त्रमा ६ दशकयता संकुचन आउनेछ । यसका बाबजुद अर्को वर्ष भने पुनः अर्थतन्त्रले वृद्धिको लय समात्नेछ । विकासोन्मुख एसियाको यो वर्ष अर्थतन्त्रमा माइनस शून्य दशमलव सात प्रतिशतको संकुचन आउनेछ । यो सन् १९६० यताकै ऋणात्मक आर्थिक वृद्धिदर हो । तर सन् २०२१ मा भने अर्थतन्त्रले लय समात्दा ६.८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ ।

महामारीपछि भी आकारमा नभई एल आकारमा आर्थिक पुनरुत्थान हुने बैंकले अनुमान गरेको छ । यस क्षेत्रका तीन चौथाइ अर्थतन्त्रले यस वर्ष संकुचनको सामना गर्नुपर्ने बैंकले जनाएको छ । यस क्षेत्रको आर्थिक वृद्धिमा विश्व महामारी कोरोनालाई मुख्य कारण मानिएको बैंकले जनाएको छ । यस क्षेत्रका अर्थतन्त्रले आयमा सहयोग गर्न ३६ खर्ब डलर अर्थात् कुल जीडीपीको १५ प्रतिशत नीतिगत सहयोगको घोषणा गरेको पनि जनाइएको छ ।

कोरोनाबाहेक भूराजनीतिक तनाव, चीन र अमेरिकाबीचको व्यापार र प्रविधि तनावलगायतका कारण पनि यस क्षेत्रको अर्थतन्त्रमा नराम्रो असर पर्ने बैंकले औँल्याएको छ । दक्षिण एसियाका ८ मध्ये ५ देशको अर्थतन्त्र संकुचित हुने अनुमानित तथ्यांकअनुसार नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने अनुमान गरिएको छ । यसअघि अप्रिलमा ५.३ र जुनमा २.३ प्रतिशत अनुमान गरिएको थियो ।

बैंकका अनुसार दक्षिण एसियाको आर्थिक वृद्धिदर माइनस ६.८ प्रतिशत रहनेछ । दक्षिण एसियामा माल्दिभ्स (माइनस २०.५ प्रतिशत), भारत (माइनस ९.० प्रतिशत), श्रीलंका (माइनस ५.५ प्रतिशत), अफगानिस्तान (माइनस ५.० प्रतिशत) र पाकिस्तान (माइनस शून्य दशमलव ४ प्रतिशत) ऋणात्मक रहने आँकलन गरिएको छ। तर बंगलादेश (५.२ प्रतिशत), भुटान (२.४ प्रतिशत) र नेपाल (२.३ प्रतिशत) को अर्थतन्त्रले भने धनात्मक आर्थिक वृद्धिदर हासिल गर्नेछन् ।

तर सन् २०२१ मा भने समग्र दक्षिण एसियाले ७.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । यसबाहेक एसियाली अर्थतन्त्रमध्ये मध्यएसियाको माइनस २.१ प्रतिशत, पूर्वी एसियाको १.३ प्रतिशत, दक्षिणपूर्वी एसियाको माइनस ३.८ प्रतिशत, प्रशान्त क्षेत्रको माइनस ६.१ प्रतिशतको आर्थिक वृद्धिदर तथा संकुचन हुने अनुमान गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया