Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वको ठूलो मोटरसाइकल बजारबाट हार्ले डेभिड्सन बाहिरिने

विश्वको ठूलो मोटरसाइकल बजारबाट हार्ले डेभिड्सन बाहिरिने


अमेरिका ।
चर्चित मोटरसाइकल ब्रान्ड हार्ले डेभिड्सनले भारतीय बजार छोड्ने भएको छ । भारत मोटरसाइकलको लागि विश्वकै ठूलो बजार हो । कम्पनीले भारतमा उत्पादन रोकेर बिक्री अपरेसनहरु बन्द गर्न लागेको बीबीसीले जनाएको छ । हार्लेको निर्णय टोयोटाले थप सञ्जाल विस्तार नगर्ने जनाएको केही हप्तामै आएको हो ।

भारतमा उच्च करलाई कारण देखाउँदै टोयोटाले निर्णय गरेको थियो । हार्ले डेभिड्सनको निर्णयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेशी उत्पादन भारत ल्याउने योजनामा धक्का पुगेको छ ।

हार्ले बाहिरिने भएपछि पुनर्संरचना लागत सात करोड ५० लाख डलर र उत्तरी भारतको बावल प्लान्ट तथा अन्य ७० वटा बिक्री कक्षहरु बन्द हुनेछन् । उक्त प्लान्ट सन् २०११ मा खोलिएको थियो । स्थानीय ब्रान्डसँग र जापानको होन्डासँग प्रतिस्पर्धा गर्न हार्लेलाई मुस्किल परेको थियो । भारतमा १ करोड ७० लाख स्कुटर र मोटरसाइकल प्रतिवर्ष बिक्री हुन्छन् ।

सन् २०१७ मा जनरल मोटरले पनि भारतीय बजार छोडेको थियो । त्यस्तै फोर्डले पनि आफ्ना सम्पत्ति सारेर संयुक्त उपक्रममा सवारीसाधन उत्पादन थालेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले चर्को कर असुलेको भन्दै तारन्तार गुनासो गर्दै आएका थिए । उनले हार्ले डेभिड्सनलाई मार परेको खुलेरै बताउँदै आएका थिए ।

भारतले पछि ५० प्रतिशत आयात शुल्क घटाए पनि हार्लेलाई बजारमा प्रतिस्पर्धा गर्न धौधौ परिरहेको थियो ।पछिल्लो समय कोरोना महामारीसँगै हार्ले आफैँ पनि त्रैमासिक घाटा व्यहोर्न बाध्य भएको छ । उसले सयौँ रोजगारी समेत कटौती गरिसकेको छ । हार्ले डेभिड्सन अमेरिकाको आइकोनिक मोटरसाइकल ब्रान्ड हो । सन् १९०३ मा यसको स्थापना भएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया