Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमाल्दिभ्सका पूर्वउपराष्ट्रपति भ्रष्टाचार अभियोगमा दोषी ठहर, २० वर्ष जेल सजाय

माल्दिभ्सका पूर्वउपराष्ट्रपति भ्रष्टाचार अभियोगमा दोषी ठहर, २० वर्ष जेल सजाय


माले ।
माल्दिभ्सका पूर्वउपराष्ट्रपति अहमद अदिबलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको अदालतका अधिकारीहरूले मंगलबार जानकारी गराएका छन् ।

सन् २०१५ मा माल्दिभ्सका शक्तिशाली पूर्व राष्ट्रपतिलाई बम प्रहार गरी हत्या गर्न खोजेको आरोपमा जेल चलान नगर्दासम्म अदिब पूर्व राष्ट्रपति अब्दुल्ला यमिनको घनिष्ठ सहयोगी मानिन्थे । फौजदारी अदालतले सत्तामा रहेका समय राज्यको पर्यटन प्रवर्द्धकहरूबाट घुस स्वीकार गरेको आरोपमा एक लाख २९ हजार अमेरिकी डलर जरिवानासहित जेल सजाय सुनाएको हो । उनीमाथि रिसोर्ट निर्माण तथा विकासका लागि टापु भाडामा दिने र पर्यटन कम्पनीहरूबाट कमिसन (व्यावसायिक रकम) प्राप्त गर्न राज्यलाई दुई करोड ६० लाख डलरको घाटा हुने गरी निर्णय गरेको अभियोग लागेको थियो ।

अदिब उपराष्ट्रपति रहेका समय राष्ट्रपति रहेका यमिनलाई सन् २०१३ देखि २०१८ सम्मको उनको कार्यकालमा कालो धन जम्मा गरेको आरोपमा दोषी ठहर भएपछि गत वर्षको नोभेम्बरदेखि नै पाँच वर्ष जेल सजाय सुनाइएको थियो । यमिन अहिले जेलमा छन् । ‘अदिबले अनुसन्धानमा राज्यलाई सहयोग गर्दै अदालती अनुसन्धानमा सहयोग गरेका थिए । तर अदालती सुनुवाईका क्रममा लेनदेनको आधारमा मुद्दालाई आफ्नो हितमा पार्न खोजेको आरोप अदालतका एक अधिकारीले लगाए । अदिबलाई सुनाइएको २० वर्षको सजाय उहाँले गरेको अपराधको लागि न्यून सजाय भएको ती अधिकारीले बताए ।

अदिबलाई फौजदारी अदालतले निर्दोष ठहर गरेको थियो तर सरकारी अभियोजनकर्ताहरूले उक्त मुद्दामाथि उच्च अदालतमा पुनरावेदन गरेपछि यसमाथि थप अनुसन्धान तथा सुनुवाइ भएको थियो । पूर्वपर्यटनमन्त्री रहेका अदिवलाई यमिनले उपराष्ट्रपति नियुक्त गरेका थिए । तर दुवै जना निर्वाचनपछि सत्ताबाट बाहिरिनु परेको थियो । सन् २०१५को सेप्टेम्बरमा राष्ट्रपतिको डुंगामा भएको विस्फोटपछि यमिनको हत्या गर्ने प्रयास गरेको आरोपमा अदिबलाई १५ वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, सन् २०१८ को पुनः निर्वाचनमा अभियानमा यमिनको पराजयपछि अदिबमाथि लागेको हत्या प्रयासको आरोप हटाइएको थियो ।

गत वर्ष अगस्टमा भ्रष्टाचार आरोप लागेका अदिबले अवैध रूपमा देश छोडी छिमेकी मुलुक भारतमा शरण लिन चाहेका अदिबलाई भारतले शरण नदिने बताएपछि उनीमाथि लागेको आरोपमाथिको सुनुवाइका लागि उनलाई माल्दिभ्सतर्फ नै फर्काइएको थियोे । यमिनले आफ्नो पाँच बर्षे कार्यकालमा सबै राजनीतिक प्रतिद्वन्द्वीहरूलाई कि त जेलमा थुनेर राखेका थिए कि उनीहरू निर्वासन बस्न बाध्य पारिएका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया