Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअर्जेन्टिनाले धनीलाई कर बढाएर कोभिड १९ रोकथाम सामग्रीको खर्चपूर्ति गर्ने

अर्जेन्टिनाले धनीलाई कर बढाएर कोभिड १९ रोकथाम सामग्रीको खर्चपूर्ति गर्ने


ब्युनर्स आयर्स ।
दक्षिण अमेरिकी देश अर्जेन्टिनाले कोरोना महामारीका बेला आवश्यक स्वास्थ्य सामग्री खरिद तथा आपूर्तिको खर्चपूर्ति धनाढ्यमाथि कर बढाएर गर्ने भएको छ । उसले यससम्बन्धी नयाँ कर कानुन ल्याएको हो । महामारीले स्थिति डरलाग्दो हुँदै गर्दा मेडिकल र राहततर्फको खर्च जोगाड गर्न उक्त कानुन पारित गरिएको बीबीसीले जनाएको छ । अर्जेन्टिनी सिनेटर (सांसद)हरुले यस्तो कानुन गत हप्ता पारित गरेका हुन् । यसको पक्षामा ४२ र विपक्षमा २६ मत परेको थियो । कानुन पारित भएसँगै २५ लाख अमेरिकी डलरभन्दा धेरै सम्पत्ति भएका झण्डै १२ हजार धनाढ्यले दोब्बर कर तिर्नुपर्नेछ ।

अर्जेन्टिनामा १५ लाख बढी मानिसमा कोरोना संक्रमण भइसकेको छ भने ४० हजार बढीको संक्रमणबाट मृत्यु भइसकेको छ । गत अक्टोबरमा अर्जेन्टिना महामारीको ठूलो चपेटामा पर्ने पाँचौँ देश बनेको थियो । यो देशको जनसंख्या केवल साढे ४ करोड रहेको छ । महामारी रोक्न लागू गरिएका लकडाउनलगायतले अर्थतन्त्रमा पनि उस्तै नकारात्मक प्रभाव परेको छ । नयाँ कानुनअनुसार कुल करदातामध्ये शून्य दशमलव आठ प्रतिशतलाई असर गर्नेछ । उनीहरुले ३.५ प्रतिशतसम्म र देशबाहिर रहेकाले ५.२५ प्रतिशतसम्म कर तिर्नुपर्नेछ ।

एएफपीका अनुसार उठाइएको रकममध्ये २० प्रतिशत मेडिकल सामग्री आपूर्तिमा र २० प्रतिशत लघु तथा मध्यम व्यवसायमा राहतस्वरुप खर्च हुनेछ । त्यस्तै २० प्रतिशत विद्यार्थीको छात्रवृत्ति, १५ प्रतिशत सामाजिक विकास र बाँकी २५ प्रतिशत प्राकृति ग्यासमा खर्च हुनेछ । अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फर्नान्डेजले सरकारले तीन खर्ब पेसोस (अर्जेन्टिनी मुद्रा) उठाउने अनुमान गरेको बताए । तर विपक्षी समूहले भने यसले विदेशी लगानीकर्तालाई निरुत्साहित गर्ने बताए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया