Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिप अभावले जीएमको सवारीसाधन उत्पादन कटौती विस्तार

चिप अभावले जीएमको सवारीसाधन उत्पादन कटौती विस्तार


अमेरिका ।
जनरल मोटर्स (जीएम)ले सवारीसाधन उत्पादन कटौती थप लम्ब्याएको छ । कम्पनीले सेमिकन्डक्टर चिप अभावका कारण उत्तर अमेरिकामा रहेका तीनसहित अर्को एक कारखानामा उत्पादन कटौती गर्ने बुधबार जनाएको हो । कटौती विस्तारले कम्पनीको गत वर्षको आम्दानीबाट दुई अर्ब डलर गुम्ने गत महिनाको अनुमानमा कुनै परिवर्तन हुनेछैन । कम्पनीका प्रमुख वित्तीय अधिकृत पल ज्याकोब्सनले चिप आपूर्ति छ महिनाभित्र सामान्य दरमा फर्किनुपर्ने बताए । उनले नाफामा अब थप असर नहुनेमा ढुक्क रहेको समेत बताए ।

चिप संकटले कम्पनीलाई पारेको असरबारे जीएमले केही खुलाइसकेको छैन । अहिले उपलब्ध सेमिकन्डक्टर चिपबाट उत्पादन गरेर लोकप्रिय र माग भएका उत्पादन निर्यातलाई जारी राख्ने कम्पनीका प्रवक्ता डेभिड बर्नासले बतााए । यसमा पूर्णाकारका ट्रक र एसयूभीहरु पर्छन् । अहिले विश्वभर नै सवारीसाधन उत्पादकलाई चिप अभावले मार खेप्नुपरेको छ । कोरोना महामारीले दुई महिना कारखाना ठप्पप्रायः भएको थियो ।

कम्पनीले बुधबार दिएको जानकारीअनुसार फेयरफक्स, कान्सास र इन्ग्रेसोल, ओन्टारियोमा मध्य अप्रिलसम्म र मेक्सिकोको सान लुइस पोटोसीमा मार्चको अन्त्यसम्म उत्पादन कटौती गरिनेछ । त्यस्तै ब्राजिलको साओपोलोमा रहेको ग्राभाटाटी प्लान्टमा पनि अप्रिल र मेसम्म उत्पादन कटाौती हुने जनाएको छ । यसअघि कम्पनीले तीन उत्तर अमेरिकी प्लान्टमा मध्य मार्चसम्म उत्पादन कटौती गरेको थियो । अन्य दुई प्लान्टमा भने सीमित मात्रामा उत्पादन गरिने कम्पनीको भनाइ छ । चिप संकटका कारण कम्पनीले विश्वभर एक लाख ९० हजार युनिट सवारीसाधन उत्पादन कटौती गर्नुपर्नेछ ।

फोर्ड मोटर कम्पनीले गत महिना नै चिप अभावले कम्पनीको उत्पादन पहिलो तीन महिनामा २० प्रतिशतले घट्ने र यसले साढे दुई अर्ब डलर नाफा गुम्ने बताएको थियो । उसले यसअघि नै धेरै बिक्री हुने एफ–१५० पिकअप ट्रकको उत्पादन कटौती गरेको थियो । त्यस्तै स्टेलान्टिसले पनि बुधबार चिप संकटले सन् २०२१ को वित्तीय परिणाममा असर गर्ने जनाएको छ । केही सवारीसाधन उत्पादक टोयोटा मोटर कर्प र हुन्डाईले भने धेरै कटौती टार्न सकेका थिए । संकटअघि नै उनीहरुसँग धेरै चिप भएका कारण उनीहरुलाई केही राहत भएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया