Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार१९ खर्ब डलरको राहत योजना अमेरिकाको दुवै संसद्मा पारित

१९ खर्ब डलरको राहत योजना अमेरिकाको दुवै संसद्मा पारित


वासिङटन ।
राष्ट्रपति जो बाइडेनको खर्बौँ डलरको राहत योजना अमेरिकाका दुवै सदनबाट पारित भएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार कोरोनाको चपेटामा परेका अमेरिकीहरुलाई सहयोग गर्ने उद्देश्यले ल्याइएको १९ खर्ब अमेरिकी डलरको उक्त योजना हाउस अफ रिप्रिजेन्टिटिभ र सेनेटमा पारित भएको हो ।

शनिबार पार्टीलाइनमा माथिल्लो सदन सेनेटमा पारित भएको थियो । यद्यपि रिपब्लिकन सांसदहरुले यसको विपक्षमा मतदान गरेका थिए । दुवै सदनमा सत्तासीन डेमोक्रेटिक पार्टीको बहुमत छ । मंगलबार राष्ट्रपति बाइडेनको दल डेमोक्रेटिक पार्टीको बहुमत तल्लो सदनमा योजनाको प्रमाणीकरण हुनेछ । बाइडेनले यसलाई महत्वपूर्ण कदम भनेका छन् ।

अमेरिकामा कोरोनाबाट पाँच लाख २३ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै दुई करोड ९० लाख बढी संक्रमित भएका छन् । कोरोना महामारीयता सरकारले ल्याएको यो तेस्रो राहत प्याकेज हो । यसअनुसार धेरैजसो अमेरिकीले एक हजार चार सय डलर पाउनेछन् । यही महिनाको अन्त्यतिरदेखि पैसा बाँड्न सुरु गरिनेछ । विपक्षी रिपब्लिकन सांसदले भने यसलाई अत्यन्त खर्चालु भनी आलोचना गरेका छन् । डेमोक्रेटिक पार्टीकै केहीले पनि यसको विरोध गरेका छन् । यसअनुसार अमेरिकीहरुले बेरोजगारी भत्ता पाउनेछन् । चार सयदेखि तीन सय डलरसम्म प्रतिहप्ताको दरले भत्ता पाउनसक्नेछन् । यसरी रकम पाउने समय भने सेप्टेम्बर ६ सम्म लम्बिनसक्नेछ ।

प्याकेजमा अमेरिकन रेस्क्यु प्लानका लागि साढे तीन खर्ब डलर विनियोजन गरिएको छ । यो रकम राज्य र स्थानीय सरकारलाई दिइनेछ भने एक खर्ब ३० अर्ब डलर विद्यालयहरुले पाउनेछन् । यसबाहेक ४९ अर्ब डलर कोरोना परीक्षण र अनुसन्धानमा खर्च हुनेछ भने खोप वितरणमा १४ अर्ब डलर खर्च हुने बताइएको छ । ७५ हजार अमेरिकी डलर कमाउने एकल व्यक्ति र एक लाख ५० हजार डलरभन्दा धेरै कमाउने दम्पतीले भने एक हजार चार सय डलर पाउनेछैनन् । योजनाको पक्षमा शनिबार भएको मतदानमा ५० सेनेटरले पक्षमा र विपक्षमा ४९ सेनेटरले मत जाहेर गरेका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया