Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबोइङले फेरि खोल्यो ७३७ म्याक्सको माग, सेयर बढ्यो

बोइङले फेरि खोल्यो ७३७ म्याक्सको माग, सेयर बढ्यो


अमेरिका ।
अमेरिकी विमान निर्माता बोइङले ७३७ म्याक्स जेटको माग शुक्रबारदेखि खुल्ला गरेको छ । योसँगै कम्पनीको सेयर मूल्य पनि छ प्रतिशतभन्दा धेरैले बढेको रोयटर्सले जनाएको छ । सोही मोडलका विमानका कारण दुई वर्षे सुरक्षा संकटमा फसेको कम्पनीले लगानीकर्तालाई पुनः आकर्षित गर्न खोजिरहेको छ । यसैको प्रयासका रुपमा पछिल्लो कदमलाई लिइएको छ । योसँगै क्यानडेली कम्पनी फ्लेयर एयरलाइन्सबाट ७३७–८ मोडलका २४ वटा विमान किन्ने सम्झौता समेत भएको छ ।

पछिल्लो कदमसँगै कम्पनीको सेयर ६.२ प्रतिशतले बढेर प्रतिकित्ता २६७.८६ अमेरिकी डलर पुगेको बताइएको छ । बोइङले अहिले आफ्नो छवि सुधार गर्ने प्रयास गरिरहेको छ । इन्डोनेसिया र इथियोपियामा एकै प्रकृतिका दुर्घटना हुँदा यो मोडलका जहाजहरु विश्वभर ग्राउन्डेड हुनपुगेका थिए । दुई वर्ष लामो समयपछि कम्पनीले समस्या समाधान गरेर भर्खरै उडान सुरु गरेको छ । दुई दुर्घटनामा कुल तीन सय ४६ यात्रुको मृत्यु भएको थियो ।

फ्लेयर एयरलाइन्सले ६० वटा थप यही मोडलका जहाज समेत खरिद गर्न सक्नेछ । यसले क्यानडामा आन्तरिक उडान गरिरहेको छ । त्यस्तै साउथवेस्ट एयरलाइन्सले पनि दर्जन बढी विमान खरिद गर्ने तयारी गरेको छ । दुवै सम्झौताले बोइङको छवि सुधारमा महत्वपूर्ण मद्दत गर्नेछ । गत वर्ष कम्पनी ६० अर्ब डलर ऋणमा गएको थियो भने १२ अर्ब डलरको ऐतिहासिक घाटा व्यहोरेको थियो ।

म्याक्सका कारण समस्यामा परेको कम्पनीलाई कोरोना महामारीले थप जटिल बनाएको थियो । गत डिसेम्बरमा अलास्का एयरलाइन्सले पनि २३ वटा म्याक्स जेट र -यान एयरले ७५ वटा सोही विमानको माग गरेको थियो । यसले युरोपेली विमान निर्माता एयरबससँग प्रतिस्पर्धामा पुनः कम्पनी फकिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया