Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनकै धनी महिला बन्ने प्रतिस्पर्धामा पाँच अर्बपति

चीनकै धनी महिला बन्ने प्रतिस्पर्धामा पाँच अर्बपति


वेइजिङ ।
संसार फेरि कोरोना महामारीको दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा विश्वका धनीहरुको सूचीमा पनि निकै फेरबदल आएको छ । यसको एउटा उदाहरण चीन हो जहाँ अमेरिकामा भन्दा धेरै अर्बपतिहरु रहेका छन् । त्यतिमात्र होइन आफ्नै बलबुतामा अर्बपति भएका महिलाहरुको संख्या पनि चीनमा धेरै छ । हुरुन रिसर्च इन्स्टिच्युटले गरेको एक अध्ययनअनुसार चीनमा ८५ जना महिला अर्बपति रहेका छन् । तीमध्ये आफ्नै हिसाबले अर्बपति बनेका पाँच महिला भने अहिले चीनकै ठूलो धनी महिला बन्ने दौडमा छन् ।

को–को ? ती पाँचमध्ये यांग हुइयान एक हुन् । उनीसँग ३४ अर्ब अमेरिकी डलरबराबर सम्पत्ति छ । उनी चिनियाँ रियलस्टेट कम्पनी कन्ट्री गार्डेनकी उपप्रमुख हुन् । अहिले उनी नै चीनकी सर्वाधिक धनी महिला अर्बपति हुन् । यसअघि पनि उनले यो स्थान लिइसकेकी छिन् । सन्. २००७ मा उनी चीनकै धनी महिला अर्बपति बनेकी थिइन् । कम्पनीको ७० प्रतिशत सेयर उनका बुबाले उनको नाममा गरेपछि उनले यो स्थान लिएकी थिइन् ।

त्यस्तै अर्की महिला हुन् झोंग हुइजुआन । उनी हान्सो फर्मास्युटिकल ग्रुपकी प्रमुख हुन् । ६० वर्षीया झोंगसँग १८ अर्ब डलरबराबर सम्पत्ति रहेको अनुमान गरिन्छ । उनी व्यवसायमा आउनुअघि रसायनशास्त्रकी शिक्षिका थिइन् । ३४ वर्षको उमेरमा उनले १० जना कर्मचारीसहित कम्पनी स्थापना गरेकी थिइन् । कम्पनी विस्तारै हुर्किँदै जाँदा सन् २०१९ मा हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भयो । सूचीकृत हुँदा कम्पनीको मूल्यांकन १० अर्ब अमेरिकी डलर थियो ।

यी दुईबाहेक चिनियाँ धनी महिला बन्ने दौडमा रहेकी छिन् फान होंगवेई । ५४ वर्षीया फान हेंग्ली पेट्रोकेमिकलकी महाप्रबन्धक र प्रमुख हुन् । उनीसँग १५ अर्ब ३० करोड डलरबराबर सम्पत्ति रहेको छ । फान र उनको श्रीमानले असफल भइसकेको टेक्सटाइल कारखानालाई पुनर्जीवन दिएका थिए ।

त्यो कम्पनी उनीहरुले पाँच लाख डलरमा खरिद गरेका थिए । त्यो पनि ऋणमा । पछि यो कम्पनी चीनमा ठूलो फाइबर उत्पादक बन्न सफल भयो । अहिले हेंग्ली पेट्रोकेमिकलका रुपमा यो कम्पनी चिनिन्छ । गत वर्ष चर्चित म्यागजिन फोब्र्सले चीनका उच्च ५० प्रमुख कार्यकारीको सूचमा फानलाई पनि समावेश गरेको थियो ।

यसबाहेक अर्की महिला अर्बपति हुन् वु याजुन । उनी हङकङमा सूचीकृत लंगफर प्रोपर्टिजकी सहसंस्थापक तथा प्रमुख हुन् । ५७ वर्षीया उनीसँग १८ अर्ब २० करोड डलर सम्पत्ति रहेको छ । उनले इन्जिनियरिङमा स्नातक मात्रै गरेकी छिन् । उनले चाइना शिरोङ न्युज एजेन्सीमा पत्रकारिता गर्नुका साथै एक कारखानामा प्राविधिकको काम समेत गरेकी थिइन् ।

त्यस्तै, चीनकै धनी महिला बन्ने दौडमा पाँचौँ स्थानमा छिन् झोउ क्विनफेई । उनी लेन्स टेक्नोलोजीकी प्रमुख हुन् । ५१ वर्षीया उनीसँग १२ अर्ब ५० करोड अमेरिकी डलरबराबर सम्पत्ति रहेको छ । एप्पल, सामसङ र हुवावे जस्ता चर्चित कम्पनीहरु उनका ग्राहक हुन् । झोउले २२ वर्षकै उमेरमा कम्पनी सुरु गरेकी थिइन् । सन् २००१ मा टीसीएल कर्पोरसनसँगको सम्झौतासँगै कम्पनी निकै नाफामा गएको थियो । त्यसयता कम्पनीलाई सफल बनाउन उनले दिलोज्यान दिएकी छिन् । एससीएमपीबाट 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया