Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना खोपले थप्यो नौ अर्बपति

कोरोना खोपले थप्यो नौ अर्बपति


लन्डन ।
कोरोना संक्रमणविरुद्ध विकास गरिएको खोपले संसारमा कम्तीमा नौ जना अर्बपति थपिदिएको छ । खोप विकासकर्ता कम्पनीको सेयर मूल्य आकाशिएसँगै औषधि क्षेत्रले कम्ती नौ जना अर्बपति जन्माएको हो ।

नयाँ अर्बपतिहरुमा मोडर्नाका प्रमुख कार्यकारी स्टेफेन बान्सेल र बायोएनटेकका सीईओ युगर साहिन रहेका छन् । बायोएनटेकले अमेरिकी कम्पनी फाइजरसँग मिलेर खोप उत्पादन गरिरहेको छ । दुवै सीईओसँग अहिले चार अर्ब डलरबराबर सम्पत्ति रहेको पिपल्स भ्याक्सिन अलाएन्सले गरेको विश्लेषणले देखाएको छ । यो अक्सफाम,यूएलएआईडीएस, ग्लोबल जस्टिस नाउ र एम्नेस्टी इन्टरनेशनलसहितको समूह हो ।

सेयर उच्च दरले बढेपछि चीनको क्यानसिनो बायोलजिक्स र मोडर्नामा सुरुवाती लगानी गरेका वरिष्ठ अधिकारीहरु पनि अर्बपति बनेको सीएनएनले जनाएको छ । खोपबाट भएको आम्दानीले नाफा दिएपछि कम्पनीहरुको भविष्यमा समेत राम्रै अवस्था हुने बताइएको छ । चर्चित म्यागजिन फोब्र्सको धनी सूचीबाट तथ्यांक लिएर यस्तो विश्लेषण गरिएको हो ।

मोडर्नाको सेयर मूल्य सन् २०२० फेब्रुअरीयता सात सय प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने बायोएनटेकको सेयर पनि छ सय प्रतिशतले बढेको छ । क्यानसिनो बायोलजिक्सको सेयर चार सय ४० प्रतिशतले सोही अवधिमा बढेको छ । कम्पनीको एक खेप मात्र लगाए पुग्ने कोरोना खोपलाई गत फेब्रुअरीमा चीनमा अनुमति मिलेको थियो ।

यता अधिकारकर्मीहरुले भने महामारीले असमानताा बढाएको बताएका छन् । नयाँ नौ अर्बपतिको एकीकृत कुल सम्पत्ति १९ अर्ब ३० करोड अमेरिकी डलर हाराहारीमा पुगेको छ । यो रकमले न्यून आय भएका देशका ७८ करोड मानिसलाई खोप लगाउन पर्याप्त हुने अधिकारकर्मीको दाबी छ ।

विश्वका नेताहरुले खोपमाथिको बौद्धिक सम्पत्ति अधिकारलाई केही लचिलो बनाउनसक्ने आकलन छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई समर्थन गरिसकेका छन् । यसो गर्दा विश्वमा खोप अभियान सफल हुने विश्वास लिइएको छ । तर यता जर्मनीले भने बौद्धिक सम्पत्ति रक्षा गर्नुपर्ने बताउँदै आएको छ । उसले प्याटेन्ट अधिकार हटाउँदा मात्रै खोप आपूर्ति बढ्ने कुरा नकार्दै आएको छ ।

विश्व स्थास्थ्य संगठनले ८७ प्रतिशत खोप धनी र माथिल्लो मध्यम आय देशमा पुगेको र न्यून आय भएका देशले मात्र शून्य दशमलव दुई प्रतिशत खोप मात्रै पाएको बताएको छ । यता गत शुक्रबार एक वक्तव्यमार्फत अन्तर्राष्ट्रिय मुद्राकोषकी गीता गोपीनाथले विश्वको ६० प्रतिशत जनसंख्यालाई सन् २०२२ को मध्यसम्म खोप लगाउँदा ५० अर्ब अमेरिकी डलर मात्रै खर्च हुने बताएकी छिन् ।

फाइजरका सीईओ अल्बर्ट बोर्लाले कम्पनीले दुई अर्ब मात्रा खोप न्यून र मध्यम आययुक्त देशलाई आगामी १८ महिनाभित्र उपलब्ध गराउने जी२० राष्ट्रको स्वास्थ्य सम्मेलनमा बताएका छन् । यो वर्षको अन्त्यसम्ममा फाइजरले २६ अर्ब डलरको खोप बिक्री हुने बताएको छ । यसमा ३० प्रतिशत हाराहारीमा नाफा हुनेछ । बोर्लाले भने खोपबाट कमाएको नाफाको बचाउ गरे । बायोएनटेकले जर्मन सरकारबाट ३२ करोड ५० लाख युरो खोप विकासका लागि पाएको थियो ।

यो वर्षको पहिलो तीन महिनामा बायोएनटेकले एक अर्ब १० करोड युरो नाफा कमाएको थियो । खासगरी कम्पनीको खोप बिक्रीसँगै बढेको सेयर मूल्यका कारण धेरै नाफा भएको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ४० लाख युरो घाटा भोगेको थियो ।

यता पहिलो तीन महिनामा यो वर्ष मोडर्नाको एक अर्ब ७० करोड डलरको खोप बिक्री भएको थियो । यही अवधि कम्पनीको लागि पहिलो नाफा देख्ने त्रैमासिक थियो । गोल्डम्यान स्याकले सन् २०२१ मा मोडर्नाले १३ अर्ब २० करोड डलरको खोप बिक्री गर्ने आकलन गरेको छ । मोडर्नाले खोप विकासका लागि अमेरिकी सरकारबाट समेत ठूलो धनराशि सहयोग पाएको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया