Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानद्वारा साढे सात अर्ब डलरको खाद्यान्न आयात

पाकिस्तानद्वारा साढे सात अर्ब डलरको खाद्यान्न आयात


इस्लामावाद ।
पाकिस्तानको खाद्यान्न आयात ५३.९८ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको ११ महिनामा वर्षगत तुलनामा पाकिस्तानले सात अर्ब ५५ करोड अमेरिकी डलरको खाद्यान्न आयात गरेको हो । स्वदेशमै चिनी, गहुँ, पाल्म तेललगायत खाद्यान्नको उत्पादन घटेका कारण आयात बढेको बताइएको छ ।

आयात बढेसँगै व्यापारघाटा समेत वृद्धि भएको छ । यसले आगामी केही महिना सरकारको टाउको दुःखाउनेछ । पाकिस्तान ब्युरो अफ स्टाटिस्टिक्स (पीबीएस) ले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्षको कुल आयातमा खाद्यान्नको हिस्सा नै १५.०८ प्रतिशत पुगेको छ । गत वर्ष यस्तो हिस्सा १२ प्रतिशत मात्रै रहेको थियो । यसको अर्थ खाद्य सुरक्षालाई सुनिश्चितता दिन पाकिस्तान आयातमै निर्भर हुनुपरेको छ ।

यता सरकारले आगामी बजेट (२०२१/२०२२) मा ठूला भण्डार स्थापना, खेतीयोग्य जमिन विस्तार र खेर जाने वस्तु अवस्था घटाउने लगायतलाई प्राथमिकता दिने बताएको छ । देशभित्रै चिनी, गहुँ र अन्य अन्न अनाजको उत्पादन बढाउनसके आयात घटाउन सकिने सरकारी आकलन छ । त्यस्टै ४० लाख टन गहुँ आयात गरेर सञ्चिति राखिने पनि तयारी गरेको छ । यो वर्ष पाकिस्तानमा दुई करोड ७२ लाख टन गहुँ उत्पादन हुने सरकारी अनुमान छ ।

धेरै खाद्यान्न आयात हुँदा कुल आयात गत वर्ष नोभेम्बरयता बढेको छ । कुल आयत २२.५ प्रतिशतले बढेर ५० अर्ब तीन करोड अमेरिकी डलर पुगेको छ । यो चालू वर्षको ११ महिनाको तथ्यांक हो । गत वर्ष ४० अर्ब ८४ करोड डलरको आयात भएको थियो । पाल्म तेल आयात समेत ४०.६१ प्रतिशतले बढेर दुई अर्ब ३९ करोड अमेरिकी डलर पुगेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया