Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतले घटायो आयकर दर विदेशी वस्तुमा आयात शुल्कको भारी

भारतले घटायो आयकर दर विदेशी वस्तुमा आयात शुल्कको भारी


नयाँ दिल्ली, माघ २१
भारतले नयाँ बजेटमार्फत करको दर परिवर्तन गरेको छ । शनिबार वित्तमन्त्री निर्मला सीतारमनले सन् २०२०/०२१ को लागि ३०.४२ ट्रिलियन भारु बजेट छुट्याएकी हुन् । सोही बजेटमार्फत आयकर दर कम गरिएको हो । भारतीय मिडियाका अनुसार ५ लाखसम्म आम्दानी गर्ने भारतीयले आयकर तिर्नुपर्नेछैन । त्यस्तै ५ देखि ७.५ लाखसम्म आम्दानी गर्नेले १० प्रतिशत तिरे पुग्नेछ । यसअघि २० प्रतिशत तिर्नुपर्थ्यो । त्यस्तै ७.५ लाखदेखि १० लाखसम्म आम्दानी गर्नेले १५ प्रतिशत तिर्नुपर्नेछ । यसअघि २० प्रतिशत आयकर लाग्थ्यो । १० देखि १२.५ लाखसम्म आम्दानीको हकमा २० प्रतिशत आयकर तिर्नुपर्नेछ । यसअघि ३० प्रतिशत तिर्नुपर्ने व्यवस्था थियो । त्यस्तै १२.५ लाखदेखि १५ लाखसम्म २५ प्रतिशत कर तिरे हुनेछ । यसअघि ३० प्रतिशत कर तिर्नुपर्थ्यो । त्यस्तै १५ लाखभन्दा बढी मासिक कमाइ गर्नेले नयाँ व्यवस्थाअनुसार ३० प्रतिशत आयकर तिर्नुपर्नेछ । यसअघि पनि १५ लाख बढी आम्दानीमा ३० प्रतिशत नै तिर्नुपर्थ्यो ।

नयाँ कर प्रणालीलाई ऐच्छिक बनाइएको टाइम्स अफ इन्डियाले जनाएको छ । करदाताले पुरानै व्यवस्थाअनुसार समेत कर तिर्न पाउनेछन् । पुरानो प्रणालीअनुसार कर तिर्दा छुटको व्यवस्था थियो तर नयाँ प्रणालीमा छुट सुविधा छैन । नयाँ कर प्रणालीले भारतको राजस्व ४० हजार करोडले घट्ने अनुमान गरिएको छ । नयाँ कर प्रणालीअनुसार मासिक १५ लाख बढी आम्दानी गर्नेले ७८ हजार भारु घटेको करबाट जोगाउन सक्ने वित्तमन्त्री निर्मलाको भनाइ छ ।

विदेशी वस्तुको आयात शुल्क पनि बढ्यो :- यसैबीच, भारतले नयाँ बजेटमार्फत विदेशी वस्तुको आयात शुल्क पनि वृद्धि गरेको छ । यसमा विद्युतीय सामग्री, खेलौना, फर्निचरलगायतका वस्तु समावेश छन् । सन् २०२०/०२१ को बजेटमार्फत शुल्क वृद्धिको घोषणा गरिएको हो । स्वदेशी उत्पादनको संवर्द्धन गर्न चालिएको यस कदमले विदेशी कम्पनीलाई भने आर्थिक भार थोपरेको छ । केही कम्पनीहरुले कदमको विरोध गरिसकेको बताइएको छ ।

खासगरी भारतले संरक्षणवादी नियम ल्याएको र विदेशी कम्पनीलाई विभेद गरेको बहुराष्ट्रिय कम्पनीहरुले आरोप लगाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मेक इन इन्डिया’ कार्यक्रममार्फत स्वदेशी उद्योगको संवर्द्धन र प्रवर्द्धन गर्न नयाँ नियम ल्याइएको हो । नयाँ नियमअनुसार भान्सासम्बन्धी सामग्री, पंखा, साना विद्युतीय वस्तुहरुको आयात शुल्क २० प्रतिशत पु-याइएको हो । त्यस्तै, फर्निचर उत्पादनहरु, बत्ती, गलैंचालगायतको शुल्क पनि २० बाट २५ प्रतिशत पु-याइएको छ । स्विडेनको आइकियाले भारतको पछिल्लो नियमको आलोचना गरेको छ । यसले व्यवसायमा असर गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीले भारतमा डेढ अर्ब युरो लगानी गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले भारतमा बिक्री गर्नेमध्ये ७५ प्रतिशत आयात गर्दै आएको छ । त्यस्तै खेलौना आयात शुल्क तेब्बर बढाएर भारतले ६० प्रतिशत पु-याएको छ । यसले लेगो, हास्ब्रो, म्याट्टेलजस्ता कम्पनीलाई मारमा पारेको छ । त्यस्तै भारतले मेडिकल डिभाइसमा समेत ५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । यो कदमको मारमा एबोट कम्पनी पर्ने देखिएको छ । त्यस्तै खुल्ला ओखरमा समेत ३० प्रतिशतबाट एकैपटक १०० प्रतिशत शुल्क वृद्धि गरिएको छ । केही कार र स्मार्टफोनका सामग्रीमा समेत आयात कर बढाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया