Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी सेयरबजार ५० वर्षयताकै खराब अवस्थामा

अमेरिकी सेयरबजार ५० वर्षयताकै खराब अवस्थामा


वासिङटन । अमेरिकी सेयरबजार ५० वर्षयताकै खराब अवस्थामा पुगेको छ । एजेन्सीहरुका अनुसार सन् १९७० यता वर्षको पहिलो छ महिनामा सेयरबजार खराब अवस्थामा पुगेको हो ।

बढ्दो महंगीलाई लिएर चिन्ता बढिरहँदा त्यसले आर्थिक वृद्धिमा पार्ने असरलाई लिएर सेयरबजारमा प्रभाव देखिएको बताइएको छ । पछिल्लो छ महिनामा अमेरिकी सेयरबजार एसएन्डपी ५०० सूचक २०.६ प्रतिशतले गिरावट आएको छ भने अन्य अमेरिकी सूचकहरु पनि धेरै अंकले घटेको छ ।

बेलायत, युरोप र एसियाका सेयरबजार पनि धेरै अंकले घटेका छन् । खासगरी केन्द्रीय बैंकहरुले विश्वमा बढ्दो जीवनयापन लागत, इन्धन र खाद्य क्षेत्रमा बढ्दो मूल्यवृद्धिसँग जुध्न कडाइ गरिरहेका बेला सेयरबजार खराब अवस्थामा पुगेको हो । अमेरिकाका केही अर्थशास्त्रीहरुले यही वर्ष ब्याजदर बढ्दै गर्दा मन्दीतर्फ अर्थतन्त्र जाने बताइरहेका छन् ।

‘यदि अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउँछ भने सेयरबजारले यसको तत्कालै नराम्रो प्रतिक्रिया दिनेछ’, हाङसेङ बैंक चाइनाका प्रमुख अर्थशास्त्री डान वाङले भने । एएमपी क्यापिटलका शेख ओलिभरले पनि केन्द्रीय बैंकहरुले महंगी र युक्रेन युद्धसँग जुध्न कडाइ गर्दा सेयरबजारमा उतारचढाव गहिरिने बताए । युक्रेन युद्धले त अर्थतन्त्रलाई मन्दीमा लैजानसक्ने उनको भनाइ छ ।

अर्को मुख्य अमेरिकी सेयर सूचक डो जोन्स इन्डस्ट्रियल एभरेज पनि यो वर्षको पहिलो छ महिनामा १५ प्रतिशतभन्दा धेरैले घटेको छ । जुन सन् १९६२ यताकै ठूलो गिरावट भएको बताइएको छ । यता प्रविधिकेन्द्रित नास्डाक कम्पोसाइट पनि यो अवधिमा ३० प्रतिशतले घटेको छ । जुन अहिलेसम्मकै ठूलो दरको गिरावट हो ।

त्यसो त अमेरिकाबाहिरका सेयर सूचकहरु पनि यो वर्ष धेरै दरले गिरावट भएको छ । बेलायतको एफटीएसई २५० सो अवधिमा २० प्रतिशतले घट्दा युरोपको स्टोक्स ६०० सूचक १७ प्रतिशत हाराहारीले गिरावट आएको छ । एसिया प्रशान्त बजारको एमएससीआई सूचक पनि १८ प्रतिशतभन्दा धेरैले गिरावट आएको छ ।

यही हप्ताको सुरुतिर विश्वका तीन ठूला केन्द्रीय बैंक यूएस फेडेरल रिजर्भ, युरोपियन सेन्ट्रल बैंक र बैंक अफ इंग्ल्यान्डका प्रमुखहरुले तत्काल मूल्यवृद्धि रोक्न पहल नगरे नियन्त्रणबाहिर जाने अवस्था आउने चेतावनी दिएका थिए । पोर्चुगलमा भएको एक वार्षिक बैठकमा उनीहरुले महामारी र युक्रेन युद्धले महंगी बढेको बताउँदै यसले विश्व आर्थिक वृद्धिमा असर पार्ने बताएका थिए ।

फेड प्रमुख जेरोमी पवेलले जोखिमको अवस्था रहे पनि ठूलो जोखिम भने नआउने बताएका थिए । मूल्यमा स्थिरता कायम गर्न उनको जोड थियो । गत महिनामात्रै फेडले झण्डै ३० वर्षयताकै धेरै दरमा ब्याजदर बढाएको थियो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x