Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररित्तियो श्रीलंकाको इन्धन भण्डारण

रित्तियो श्रीलंकाको इन्धन भण्डारण


कोलम्बो । श्रीलंकामा एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको ऊर्जामन्त्रीले आइतबार बताएका छन् । देशमा आर्थिक संकट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ ।

अधिकांश पेट्रोल पम्पहरू धेरै दिनदेखि इन्धनविहीन रहँदा पेट्रोल र डिजेलको खोजीमा राजधानीका धेरै स्थानमा सर्वसाधारणको लाइन निकै लामो देखिने गरेको छ । मन्त्री विजेसेकेराले मुलुकमा पेट्रोल भण्डार करिब चार हजार टन रहेको र यसले एक दिनको माग पनि धान्न नसक्ने बताएका छन् ।

विजेसेकेराले कोलम्बोमा भने, ‘पेट्रोल तथा डिजेल जुलाई २२ र २३ सम्ममात्र आइपुग्ने अनुमान गरिएको छ । हामीले नियमितबाहेकका अन्य आपूर्तिकर्तासँग सम्पर्क गरेका छौँ तर जुलाई २२ अघि हामी कुनै पनि नयाँ आपूर्तिको लागि आश्वासन पाउनसकेका छैनौँ ।’

गत हप्ता, नगद अभावको कारण श्रीलंकाले पेट्रोल र डिजल बचत गर्न आवश्यक सेवाबाहेक सबै क्षेत्रका लागि ईन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो । सोमबार बैंक तथा कार्यालयहरू पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित दशभरका अधिकांश पेट्रोल पम्पहरू आइतबारदेखि बन्द भएका छन् ।

निराश मानिसहरूले केही गाडीहरूसँग लिफ्ट माग्दै आफ्नो गन्तव्यमा पुग्न खोजेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल बन्ने गरेका छन् । देशको दुई तिहाइभन्दा बढी व्यक्तिलाई यातायात सेवा दिइरहेका निजी स्वामित्वमा रहेको बसले इन्धन अभावका कारण नराम्ररी प्रभावित भएकाले आइतबारदेखि अत्यन्त नै न्यूनरूपमा सेवा सञ्चालन गरेको बताए ।

निजी बस सञ्चालक संगठनका अध्यक्ष गेमुनु विजेराट्नेले भने, ‘हामीले हाम्रा सदस्यहरूको स्वामित्वमा रहेको कुल २० हजार बसमध्ये देशभरि करिब एक हजार बसहरू सञ्चालन गरिरहेका थियौँ । भोलिको अवस्था पक्कै झनै बिग्रनेछ देखिएको छ किनकि हामीसँग डिजेल पाउने कुनै उपाय छैन ।’

तत्काल कुनै समाधान नआउने देखिएकोले सोमबारदेखि सेवा थप खुम्चिँदै जाने उनले बताए । यहाँको लोकप्रिय यातायात मानिने तीन पाङ्ग्रे सवारी साधन पनि सडकमा छ लिटर पेट्रोलको कोटा प्राप्त गर्न दिनभरि लाममा देखिन्थ भने फाट्टफुट्ट सेवामा पनि कुदेको देखिन्थे ।

विदेशी मुद्राको अभावले मुलुकको सबैभन्दा खराब आर्थिक संकट व्यहोरिरहेको यस मुलुकमा अति आवश्यक समग्रीको आयातलाई समेत धान्न नसकेपछि यहाँका दुई करोड २० लाख जनताले दैनिक गम्भीर कठिनाइ भोग्दै आएका छन् । देशले गत वर्षको अन्त्यदेखि रेकर्ड गरिएको उच्च मुद्रास्फीति र लामो विद्युत ब्लाकआउटको पनि सामना गरिरहेको छ ।

सबै गैर–आवाश्यक सरकारी संस्था र विद्यालयहरूलाई जुलाई १० सम्म बन्द गर्न आदेश दिइएको छ । यसले गर्दा आवतजावतमा कमी आएको र उर्जाको माग कम बनेको भए पनि यही माग सम्बोधन गर्न नसक्दा सरकारी अधिकारीहरूले नागरिकसँग क्षमायाचना गर्दै इन्धन जोहोका लागि दौडधुप गरिरहेका स्थानीय सञ्चारमाध्यममा बताउने गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x