Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिका ताइवानलाई १.१ अर्ब अमेरिकी डलरको हतियार बिक्री गर्दै

अमेरिका ताइवानलाई १.१ अर्ब अमेरिकी डलरको हतियार बिक्री गर्दै


वासिङटन । संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरूसहित लगभग १.१ अर्बबराबरको सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेको छ । डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले वाशिङटनले ताइवानलाई सैन्य उपकरण बेच्न स्वीकृति दिएको पुष्टि गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले ताइवानको सुरक्षा क्षमताको आधुनिकीकरण गर्न र अमेरिकी सुरक्षा हित प्रवद्र्धन गर्न ताइवानलाई हारपुन ब्लक मिसाइल र अन्य सैन्य उपकरणको बिक्री स्वीकृत गरेको बताएको छ ।

मन्त्रालयका अनुसार प्रस्तावित हातहतियारले यस क्षेत्रमा आधारभूत सैन्य सन्तुलनलाई परिवर्तन नगर्ने पनि अमेरिकाले दाबी गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणलाई लिएर वाशिङटन र बेइजिङबीच बढ्दो तनावका बीच सैन्य सामग्रीको प्रस्तावित बिक्री सार्वजनिक भएको छ ।

हार्पुनहरू बोइङले तटीय–जल क्षमताका साथ उत्पादन गरेको एन्टी–शिप होमिङ मिसाइलहरू हुन् । यस अघि संयुक्त राज्य अमेरिकामा ताइपेई आर्थिक र सांस्कृतिक प्रतिनिधि कार्यालय (टेक्रो)ले ६० वटा मिसाइल र सम्बन्धित उपकरणहरू किन्न अनुरोध गरेको थियो ।

साइडवाइन्डरहरू हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू हुन् जुन रेथियनले प्रक्षेपणपछि लक्ष्यहरूमा लक गर्न सक्ने क्षमताको साथ विकसित गरेको दाबी गरिएको छ । टेक्रोले १०० वटा मिसाइल र अन्य उपकरण खरिद गर्न अनुरोध गरेको थियो ।

वाशिङटनमा चिनियाँ दूतावासले यस हप्ताको सुरुमा प्रस्तावित हतियार बिक्रीबारे प्रतिक्रिया दिंदै बाइडेन प्रशासनलाई हतियार बिक्री बन्द गर्न आह्वान गरेको थियो । हतियार बिक्रीले ताइवान स्ट्रेटमा तनाव निम्त्याउन सक्ने भन्दै चीनले सो आग्रह गरेको थियो ।

ताइवानी सेनाले बिहीबार एक अज्ञात नागरिक ड्रोनलाई गोली हानेको जनाएको छ । सो ड्रोन चिनियाँ तटबाट शियु टापुको प्रतिबन्धित जलक्षेत्रको आकाशमा प्रवेश गरेको थियो । ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेनाको जिनमेन रक्षा कमाण्डले आइतबार दिउँसो १२ः३० बजेतिर शियु टापुको प्रतिबन्धित पानीको हवाइ क्षेत्रमा एक अज्ञात नागरिक हवाई क्यामेरा प्रवेश गरेको फेला पारेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘रक्षा क्षेत्रको सुरक्षा कायम गर्न रक्षा मन्त्रालयले खोजी, अनुगमन र निगरानीलाई निरन्तरता दिनेछ ।’ यस्तै मंगलबार पनि ताइवानी सेनाले चिनियाँ सैन्य ड्रोनलाई ताइवान नियन्त्रित टापुमा ‘प्रतिबन्धित’ वायुक्षेत्रमा प्रवेश गरेपछि गोली हानेको थियो । अगस्टको मध्यदेखि ताइवानमा जारी राजनीतिक र सुरक्षा तनावका बीच यस वरपर यस्ता थुप्रै ड्रोनहरू उड्ने गरेको पाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया