Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहासंघको ‘स्टार्टअप एण्ड इनोभेसन’ समिति विस्तार

महासंघको ‘स्टार्टअप एण्ड इनोभेसन’ समिति विस्तार


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य रञ्जितराज आचार्यको सभापतित्वमा गठित स्टार्टअप एण्ड इनोभेसन समितिले पूर्णता पाएको छ । यसअनुसार समितिको सहसभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य र सदस्यहरूमा प्रकाश देव पालिखे, निरज खनाल, दिपेन्द्र चौलागाई, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार चयन भएका छन् ।

साथै समितिको आमन्त्रित सदस्यमा तेञ्जिङ्ग सोनर गोम्सर र कविराज जोशी चयन भएका छन् भने समितिको सल्लाहकारमा महासंघका पूर्वकार्यकारिणी समिति सदस्यद्वय ओम राजभण्डारी र सौरभ ज्योति तथा अनिल चित्रकार चयन भएका छन् । महासंघको सचिवालयमा आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा चुनिएका सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गरे ।

कार्यक्रममा अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा साना तथा मझौला उद्यम व्यवसाय नै भएकाले यो क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ र कामका लागि बाहिरिने युवाशक्तिलाई पर्याप्त रोजगारी सृजना गरी मुलुकभित्रै राख्न सकिन्छ भन्नेतर्फ महासंघको विशेष जोड रहेको स्पष्ट पारे ।

युवा जनशक्तिको वाहुल्यता रहेको, जैविक विविधताले भरिपूर्ण र दुई विशाल अर्थतन्त्र भएका छिमेकी देशको बीचमा अवस्थिति नै नेपालको समृद्धिको बलियो आधार भएकाले यहाँको सम्भाव्यताबाट वास्तविक रूपमै फाइदा उठाउनुपर्नेमा उनले जोड दिए । यसका लागि स्टार्टअपमा आफूलाई स्थापित गरेका सफल उद्यमीहरूको सहयोग र सहकार्य महासंघले खोजेको बताए ।

महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले कोभिडका कारण अर्थतन्त्रमा निकै धेरै चुनौतीहरू थपिएकाले मुलुकभित्र रोजगारी सृजना, कामका लागि बाहिरिनुपर्ने बाध्यताको अन्त्य, पढे लेखेको युवावर्गलाई स्वदेशमै आकर्षित गर्नेतर्फ सबैको जोड हुनुपर्ने भन्दै महासंघले आफ्ना सबै समिति फोरमको परिचालनमार्फत मुलुकभित्र उद्योग व्यवसायको विस्तार, रोजगारी सृजनामा कार्य गर्ने बताए ।

साथै समितिका सभापति आचार्यको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले नेपालमा स्टार्टअप सुरु गरेका उद्यमी व्यवसायीहरूका वास्तविक समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव पेश गर्ने, नविन सोचमा आधारित रहेर उद्यम गर्न चाहने ५० वटा स्टार्टअपहरूको व्यावसायिक सफलताका लागि सुरूवाती पुँजी(लगानी) जुटाइदिने तथा सुरूवाती पुँजी स्टार्टअप समितिअन्तर्गत रहेको इन्भेष्टर फोरममार्फत जुटाइने निर्णय गरेको छ ।

यसैगरी कविराज जोशीको संयोजकत्वमा इभेन्ट मेनेजमेन्ट उपसमिति गठन गर्ने, प्रत्येक महिनाको पहिलो शुक्रबार ‘फ्राइडे टक’ आयोजना गर्ने, महासंघको नेटवर्कमार्फत स्टार्टअपका विषयमा देशैभर सचेतनामूलक कार्यक्रम लैजाने निर्णय गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया